scheduleशुक्रवार भाद्र ६ गते, २०७६

पर्यटकको गुनासोपछि सुरु भएको चीनको ‘शौचालय क्रान्ति’

एजेन्सी, ७ असार । चीन सरकारले ६ वर्षअघि प्रदुषणविरुद्ध वृहत् अभियान सुरु गरेको थियो । यस अभियानअन्तर्गत हालसम्म शहर तथा तटीय क्षेत्रको वायुको गुणस्तर सुधार कार्यलाई केन्द्रमा राखेको छ ।

सरसफाइ अभियानमा ग्रामीण क्षेत्रको वातावरण र प्रदुषणलाघ त्यति ध्यान दिएको थिएन । तर फोहोरमैला, रासायनिक मल, विषादी र गुणस्तरहीन उद्योगका कारण ग्रामीण क्षेत्रको ठूलो भूंभाग प्रदुषित हुन थालेपछि सरकारको  ध्यान त्यतातिर समेत तानिएको छ ।

गत वर्ष चीनको कृषि मन्त्रालयले ग्रामीण क्षेत्रमा भइरहेको प्रदुषण रोक्ने योजना अघि सारेको थियो । उक्त योजना अनुसार ग्रामीण क्षेत्रमा सरसफाइसम्बन्धी जनचेतना फैलाउने र ग्रामीण पूर्वाधारमा सुधार ल्याउने कार्यक्रम समावेश गरिएको छ । ग्रामीण क्षेत्रमा सफा शौचालय निर्माण, फोहोर तथा ढल व्यवस्थापनलाई योजनाको केन्द्रमा राखिएको छ ।

त्यस्तै चिनियाँ राष्ट्रपति सि जिङपिङले सन् २०१५ मा सार्वजनिक शौचालयलाई गुणस्तरीय बनाउने घोषणा गरेका थिए । चीन घुम्न आउने विदेशी पर्यटकले शौचालय गुणस्तरहीन भएको गुनासो गरेपछि सिले यस्तो घोषणा गरेका थिए ।

राष्ट्रपतिको घोषणा लगत्तै ‘शौचालय क्रान्ति’ नामक अभियान सुरु गरिएको थियो । यो अभियानले कृषिको आधुनिकीकरण, स्तरीय ग्रामीण पूर्वाधार तथा सार्वजनिक सरसफाइलाई केन्द्रमा राखेको छ ।

सन् २०१५ देखि २०१७ सम्मको अवधिमा सरकारले ६८ हजार सार्वजनिक शौचालय निर्माण गरेको थियो भने थप ६४ हजार शौचालय निर्माण गर्ने योजना अघि सारिएको थियो । सन् २०१७ मा नै ‘शौचालय क्रान्ति’ अभियानलाई देशभर विस्तार गर्ने निर्णय भएको थियो ।

तर ग्रामीण क्षेत्रमा पूर्णरुपमा सरसफाइ कायम गर्नका लागि खरबौं डलर चाहिने देखिन्छ ।

चिनियाँ सरकारका अनुसार ग्रामीण क्षेत्रको सरसफाइमा सुधार गर्न र गाउँको प्रदुषित वातावरणलाई सफा गर्नका ३ ट्रिलियन युआन वा ४४० बिलियन अमेरिकि डलर चाहिने पिपुल्स डेलीले जनाएको छ ।

 

 

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage