scheduleशुक्रवार श्रावण ३ गते, २०७६

असहाय र सहाराविहीन जेष्ठ नागरिकका लागि सुविधासम्पन्न भवन बन्दै

काठमाडौं, ८ असार ।  असहाय एवं संरक्षकविहीन ज्येष्ठ नागरिकका लागि सहरा दिन भक्तपुरमा ईश्वरीय आदर्श निकेतनको भवन बन्ने भएको छ ।

भक्तपुर नगरपालिका ४ राममन्दिरमा तीन करोड ६५ लाख रुपैयाँ लागतमा साढे तीन तले निकेतनको भवन हाल निर्माण भइरहेको छ ।निःसहाय तथा स्वसेवा सदनले निर्माण अघि बढाएको उक्त भवनको लागि विभिन्न दाताले सहयोग प्रदान गरिरहेका छन् । उक्त भवनको लागि संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय वासुदेव प्रजापतिले दस आना जग्गा दान गरेका थिए।

जग्गा प्राप्त भएलगत्तै भवन निर्माण अघि बढाइएको संस्थाका अध्यक्ष तुलसीभक्त कोजूले जानकारी दिए । उनले भवन निर्माणको लागि थप दस लाख रुपैयाँ कोषमा जम्मा भइसकेको समेत जानकारी दिए ।

अध्यक्ष कोजूका अनुसार सुरुमा २५ जना असहाय एवं सहाराविहीन ज्येष्ठ नागरिकलाई निकेतनमा आवाससहित आश्रय दिइनेछ । ‘असहाय ज्येष्ठ नागरिकलाई निकेतनमै निःशुल्क खाने, लाउने र बस्ने व्यवस्था हुनेछ’, भवन निर्माण समितिका सहसंयोजक कृष्णहरि कर्माचार्य भन्छन्, ‘हप्तामा एकपटक उनीहरुको स्वास्थ्य परीक्षण गर्नेछौं । २४ सैं घन्टा नर्सिङ सेवा दिने लक्ष्य राखेका छौं ।’

उनले ज्येष्ठ नागरिकको लागि होमियोप्याथिक स्वास्थ्य उपचार सेवासँगै राजयोग शिविरसमेत व्यवस्था गरिने जानकारी दिए । सहसंयोजक कर्माचार्यले घरपरिवार भइकन पनि ज्येष्ठ नागरिकहरु असहायसरह हुन थालेकाले निकेतन सञ्चालन गर्ने सोच आएको सुनाए ।

 

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob