scheduleसोमवार आश्विन ६ गते, २०७६

भारतले बनाएको बाँधले नेपाली गाउँ डुबानमा, ‘राष्ट्रवादी’ सरकार मौन


बाँके, ९ असार । नेपाल-भारत सीमा क्षेत्रको दशगजा क्षेत्रमा भारतीय हस्तक्षेपले देशभक्त नेपालीलाई छँदै झस्काउने गर्छ । तर, राष्ट्रवादको नारा दिएर चुनाव जितेको वर्तमान सरकार भने जनताको पीडा र सीमा क्षेत्रमा भारतीय हस्तक्षेपप्रति मौन देखिँदै आएको छ ।

वर्षा सुरु भएसँगै यसवर्ष पनि भारतले दशगजामा एकतर्फी बनाएको सडकजस्तो बाँधका कारण नेपाली भूभाग डुबानमा परेका छन् । पानीको निकासलाई भारतले एकतर्फी बनाएको सडकजस्तो बाँधले रोकेपछि गाउँ डुबानमा पर्ने निश्चितै थियो । शनिबारदेखि परेको पानीका कारण जिल्लाको पूर्वी–दक्षिणी सीमावर्ती गाउँहरू डुबानमा पर्न थालेका छन् ।

समाजवादी पार्टीबाट चुनाव जितेका नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाह दिनभरी डुबानग्रस्त स्थानमा खटिए । उनले भारतले दशगजासँग सटाएर बनाएको सडकजस्तो बाँधका कारण पानीको निकास नहुँदा एक दर्जन गाउँका सय बढी घरहरू डुबानमा परेको जानकारी दिए ।

नरैनापुरको बनियागाउँ, महतनियाँ, मझेरटी, मियाँपूर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहाबपूर्वा, रोशनपूर्वा गाउँहरू डुबानमा परेका उनले जानकारी दिए । शाहका अनुसार यी गाउँका सय बढी घरहरू डुबानमा परेका छन् भने एक दर्जन घर भत्किएको छ ।

वर्षाले पुल, कल्भर्टको दुवैतिर कटान गर्नुका साथै पानी धेरै घरभित्रै पसेको छ । गाउँपालिकाको वडा न– १, कटकुइयास्थित वडा कार्यालयमा पनि पानी पसेको छ।

राष्ट्रवादको नारा लगाउने तर देशको सीमा मिचिँदा र नागरिकमाथि ज्यादती हुँदा समेत मौन रहेको गरेको भन्दै केन्द्र सरकारप्रति स्थानीय रुष्ट देखिन्छन् । भारतले दशगजामा बनाएको सडकजस्तो बाँधले नेपालगन्जको पानीको निकास पनि रोक्ने गर्दछ। पानीको प्राकृतिक बहावलाई रोक्नेगरी बनाइएको बाँधविरुद्ध आवाज उठाउन नसक्नु सरकारको निरिहता रहेको स्थानीय बताउँछन् ।

‘सीमा क्षेत्रमा देशभक्त नागरिकहरु संघर्ष गरिरहेका छन् तर, हामीलाई नै अराष्ट्रवादी देख्ने सरकार यस्ता सवालहरुमा किन मौन रहन्छ ?,’ एक पीडितले गुनासो गरे ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage