scheduleबिहिवार श्रावण २ गते, २०७६

राप्रपाको अपहरणमा बिपीको विचार !

समाचार टिप्पणी/काठमाडौं, ९ असार आइतबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको बिस्तारित बैठकले पृथ्वीनारायण शाह, राजा महेन्द्र र बिपी कोइरालालाई आदर्श मान्ने निर्णय गरेको छ ।

पार्टीको आइतबार सम्पन्न विस्तारित बैठकले पृथ्वीनारायण शाहको दिव्योपदेश, महेन्द्रको राष्ट्रवाद र बिपीको मेलमिलाप नीतिलाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टीलाई कांग्रेस र कम्युनिस्टको विकल्पका रूपमा बलियो राष्ट्रवादी शक्ति बनाउने संकल्प पनि गरेको उक्त पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । बैठकले समान विचार भएकाहरूसँग एकता गर्ने निर्णय पनि गरेको छ ।

‘पोलिटिकल स्पेश’को खोजी
राजनीति गर्न स्वभाविकरुपमा राजनीतिक ‘स्पेश’ चाहिन्छ ? कस्तो राजनीति ? कसको लागि राजनीति ? निश्चय पनि, राप्रपाको राजनीति सम्वर्द्धनवादी राजनीति हो ।

राजनीतिक विश्लेषक डम्बर खतिवडाको शब्दमा घोषित रुपमा आफूलाई समाजवादी नभन्ने दुईवटा मात्र दल देखिन्छन् नेपालमा– राप्रपा र साझा विवेकशील पार्टी । उनी भन्छन्, ‘राप्रपाले सम्वर्द्धनवादलाई आफ्नो राजनीतिक दर्शन बनाएको छ । साझाले परोपकारी लोकतन्त्रमा आधारित पुँजीवादलाई ।’

खतिवडाको विचारमा सम्बर्द्धनवादको सारतत्व ‘समाजको परम्परागत मौलिक चरित्रको रक्षा र रुढीवादी नैतिक मूल्यको संरक्षण’ हो । उनी भन्छन्, ‘मूलतः यो थोमस हब्सको चिन्तनमा आधारित राजनीतिक दर्शन हो । बेलायतको टोरी यो विचारधाराको दृष्टिकोणबाट ऐतिहासिक दल हो । अमेरिकाका रिपब्लिकनहरु राजतन्त्र त मान्दैनन् अरु विषयमा कन्जरर्भेटिभ नै हुन्छन् । सम्बर्द्धनवाद कुनै क्रान्तिकारी विचारधारा हैन । क्रान्तिबाट डराएका कुलिनहरुको आत्मरक्षाको कवच हो । नेपालमा राप्रपा विशेषतः कमल थापा समूहले यो विचारधाराको प्रतिनिधित्व गर्दछ ।’

राजतन्त्र र धर्मको मात्रै एजेण्डाले राजनीतिमा टिक्न मुस्किल भएपछि राप्रपाले पृथ्वीनारायण शाह र महेन्द्र शाहसँगै घिसारेर ल्याएको छ बिपी कोइरालालाई पनि ।

के हो बिपीको मेलमिलाप ?
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं जननायक विश्वेश्वरप्रसाद (बीपी) कोइराला आठ वर्षको भारत प्रवासबाट राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए । राजा महेन्द्रले २०१७ सालमा प्रधानमन्त्री कोइरालासहित काँग्रेसका नेताहरूलाई पक्राउ र जेल चलान गर्दै एकदलीय पञ्चायती व्यवस्था सूत्रपात गरेका थिए । आठ वर्षको जेलजीवनपछि बीपीसहितका नेताहरू २०२५ सालमा भारत प्रवासमा गए ।

प्रवासमा आठ वर्ष बिताएपछि राजनीतिक सङ्कटबाट नेपाललाई जोगाउने उद्देश्यले बीपीसहितका नेताहरू राष्ट्रिय मेलमिलाप र एकताको नारा लिएर २०३३ पुस १६ गते नेपाल फर्किए । राष्ट्रिय एकताको नारा लिएर स्वदेश फर्केका नेतालाई राजा महेन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा ल्याई बन्दी बनाए ।

राष्ट्रिय मेलमिलापको नीति लिएर स्वर्देश फर्केको दिन १६ गतेलाई त्यसै बेलादेखि मेलमिलाप दिवसका रूपमा मनाउने चलन काँग्रेसले चलाएको हो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको शब्दमा ‘लोकतन्त्रको लडाइँलाई जारी राख्दै पुरानो विरोधलाई थाती राखेर राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर नयाँ ढङ्गले जाऔँ भन्ने आह्वान हो– राष्ट्रिय मेलमिलाप ।’

लोकतान्त्रिक आन्दोलन बढाउँदै जाँदा नेपाली राष्ट्रियतामाथि खतराको अनुभव गरेर बिपी त्यतिबेला आफ्नो जीवन जोखिममा राखेर स्वदेश फर्किएका थिए । उनको त्यो कदमले तत्कालका लागि पञ्चायतविरुद्धको आन्दोलन भने कमजोर बनायो । राष्ट्रियताको पक्ष प्रमुख र लोकतन्त्रको पक्ष ओझेलमा पर्‍यो ।

‘बफ मिट’को ठाउँमा ‘बफ मम’ !

राष्ट्रिय मेलमिलाप नीतिको सार हो- राजासँग विद्रोह होइन, मेलमिलाप गर्नुपर्छ भन्ने नीति । यतिबेला कमल थापाले यो नारा र बिपीको छविलाई रणनीतिकरुपमा उपयोग गर्न खोजिरहेको छ । यो राप्रपाको साँघुरिँदै गएको ‘पोलिटिकल स्पेश’ फराकिलो बनाउने प्रयास पनि हो । राजासहितको प्रजातन्त्रको ‘बफ मिट’ मान्ने हो भने बिपीको मेलमिलापलाई राप्रपाले ‘बफ मम’ बनाएर बेच्न खोजिरहेको छ । स्मरणीय छ, ‘बफ मिट’ नखाने धेरैले ‘बफ मम’ भने खान्छन् ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापाले भने, ‘बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई पार्टीको वैचारिक मार्गदर्शक सिद्धान्तको रूपमा लिने निर्णय गरेका छौं, राष्ट्रियता र प्रजातन्त्र तथा राजा र जनताबीचको एकता हो, यसबाट स्वतन्त्र सार्वभौम अस्तित्व जोगिनुका साथै प्रजातन्त्र बलियो हुन्छ भन्ने बीपीको मान्यता थियो । बीपीको विचारलाई कांग्रेसले परित्याग गरेको छ, उपेक्षा गरेको छ, वैचारिक मार्गदर्शक सिद्धान्तको रूपमा लिएका छौं ।’

कांग्रेसको उपेक्षामा बिपीको विचार !
राप्रपा अध्यक्ष कमल थापाले आरोप लगाएजस्तै नेपाली कांग्रेसले बिपीको विचारलाई बेवास्ता गर्दै आएको छ । बिपीको तस्बिर र लोकप्रियतालाई बेच्ने तर उनको विचारको चुरो कुरो नपकड्ने कांग्रेसको समस्याले ऊ ओरालो यात्रमा छ । त्यसो त, मार्क्स र मदन भण्डारीको फोटो बेचेर उनीहरुको विचार नपछ्याउने नेकपामा पनि समस्या छ । यसरी हेर्दा यो आम समस्या हो ।

खासगरी २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली काँग्रेसले खुलम्खुलारुपमा उदारवादको पक्षपोषण गर्दै आएको छ । पार्टीको नीतिभन्दा डा. रामशरण महत र महेश आचार्यहरुको नीति शक्तिशाली बन्दै जाँदा बिपी पोस्टरमा मात्रै सीमित बनाइए । बिपीको समाजवादका विरुद्ध खुलम्खुला चुनौती दिँदै निजीकरणको लिगलिगे दौडमा काँग्रेस दौडियो ।

बिपीले विदेशी शक्तिभन्दा राजा नै ठिक भन्ने जुन मर्मसहित राष्ट्रिय मेलमिलापको नीति लिएका थिए, अहिले त न काँग्रेस, न कम्युनिष्ट- शक्तिको कुर्सीमा पुग्न विदेशी शक्ति केन्द्रसँग त्वम् शरणम् गर्न लालायित देखिन्छन् । एकप्रकारले भन्दा नेता बन्ने प्रतिष्पर्धा भनेको विदेशी शक्ति केन्द्रको बफादार बनेर विश्वास जित्ने प्रतिष्पर्धामा रुपान्तरण भइरहेको भन्न सकिन्छ ।

सत्ताका लागि हद दर्जाको सम्झौता गर्ने र तदनुरुप सैद्धान्तिकीकरण गर्ने राप्रपा पनि फरक ड्याङको ‘मुला’ भने होइन । यद्यपि, गणतन्त्रको स्थापनापछि पनि जनताको तहसम्म महसुस गर्न सक्ने गरी काम गर्न नसकेका राजनीतिक दलहरुप्रति वाक्कदिक्क र निराश भएका जनमानसलाई आफूतिर केन्द्रित गर्न राप्रपाले नयाँ जुक्ति निकालेको अनुमान गर्न गाह्रो छैन । तर, पृथ्वीनारायण, महेन्द्र र बिपीको तस्बिर बेच्न राप्रपालाई पनि सजिलो छैन । किनभने उनीहरु पनि ती तस्बिरहरु बेच्न पनि लायक बाँकी रहेका छैनन् ।

हरेक समाजमा सबै प्रकारका मत भएका मानिसहरु रहन्छन् । अर्को भाषामा भन्दा समाज विभिन्न स्वार्थ समूहका मानिसहरुको बासस्थान हो । यसर्थ, स्वभाविकरुपमा समाजमा सम्वर्द्धनवादी सोच भएका मानिसहरु पनि हुन्छन् । बिपीको फोटो अपहरण गरेरभन्दा सम्वर्द्धनवादी धाराका नागरिकको विश्वास जित्न र संगठित गर्न ध्यान दिने कार्यलाई प्राथमिकतामा राख्दा नै राप्रपालाई भलो होला ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob