scheduleशनिवार आश्विन ४ गते, २०७६

अधिकांश स्थानीय तहले गर्न सकेनन् परिषद्

सप्तरी, ११ असार । सप्तरी जिल्लामा आवश्यक तयारी नगरेका कारण राजविराज नगरपालिकालगायत अधिकांश स्थानीय तहको परिषद् हुन सकेको छैन् । स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले आन्तरिक तयारी गर्न नसक्दा परिषद् हुननसकेको हो ।

परिषद् सञ्चालन गर्ने विषयमा धेरैले सुरसार नै गरेका छैनन् भने केहीले छलफल चलाए पनि नीति तथा कार्यक्रम र बजेट बाँडफाँडका विषयमा जनप्रतिनिधिबीच विवाद देखिएको छ ।

सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका गरी १८ स्थानीय तह छन् । खड्ग नगरपालिकाले सोमबार परिषद् सम्पन्न गरेको छ भने सुरुङ्गा नगरपालिकाको मङ्गलबार परिषद् सम्पन्न भएको छ ।

डाकनेश्वरी नगरपालिका तथा अग्निसाइर कृष्णसवरण र रुपनी गाउँपालिकामा परिषद् शुरु भएको सम्बन्धित नगरप्रमुखले जानकारी दिए ।

परिषद् शुरु भएको रुपनी गाउँपालिकाको वडा नं ३, ४ र ५ का वडाध्यक्ष र सदस्यले परिषद् बहिष्कार गरेको वडा नं ४ का वडाध्यक्ष छेदी इशरले बताए ।

परिषद् अगाडि हुनुपर्ने विभिन्न समितिको बैठक नबसी आवश्यक विधि र प्रक्रिया पूरा नगरी हतारमा परिषद् गरिएकाले बहिष्कार गरिएको वडाध्यक्ष इशरले बताए ।

अन्य स्थानीय तहमा परिषद् हुननसकेको जिल्ला समन्वय समिति सप्तरीले जनाएको छ । परिषद् ढिला हुँदा चालू आर्थिक वर्षको विकास निर्माणका योजना प्रभावित हुने जिल्ला समन्वय समिति सप्तरीका निमित्त जिल्ला समन्वय अधिकारी नवराज खडकाले बताए।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार परिषद् नभए केन्द्रबाट आउने अनुदानको रकम कटौती हुनसक्ने उहाँको भनाइ छ । ऐनमा आर्थिक वर्षको असार १० गते स्थानीय तहको परिषद् सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

कञ्चनरुप नगरपालिकामा मङ्गलबार नीति तथा कार्यक्रम पारित भएको जानकारी दिनुहुँदै नगरप्रमुख वसन्त मिश्रले परिषद् भने आगामी असार १८ गते गर्ने योजना रहेको बताए ।

आवश्यक तयारी पूरा नभएकाले परिषद् गर्न नसकिएको उनको भनाइ छ । सबै जनप्रतिनिधि र कर्मचारीहरु असारे विकासमा लागेका कारण परिषद्को तयारी गर्न नभ्याउँदा राजविराज नगरपालिकाले पनि परिषद् गर्न सकेको छैन ।

असारमा सक्नुपर्ने कतिपय कामको व्यस्तताका कारण परिषद्को तयारी गर्न नपाएको राजविराज नगरपालिकाका प्रमुख शम्भुकुमार यादवले बताउनुभयो । उहाँले असार मसान्तभित्र परिषद् गर्ने गरी तयारी भइरहेको जनाए ।

कर्मचारी नबसेका कारण सप्तकोशी नगरपालिकाले परिषद् गर्न सकेन । तीन दिनको बिदा लिए पनि सात दिनपछि सोमबार मात्र प्रमुख प्रशासकीय अधिकृत बासुदेव रेग्मी आउनुभएकाले परिषद्को तयारी गर्न नसकिएको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम शर्माले बताए ।

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले समयमा परिषद् गर्नुपर्ने महत्व नबुझेकाले असार १० गतेभित्र परिषद् गर्न बेवास्ता गरेको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षका प्रत्यासी जयप्रकाश ठाकुरले बताए । परिषद् गर्न नसकेका स्थानीय तहले असार मसान्तभित्र परिषद् गर्ने गरी आन्तरिक गृहकार्य गरिरहेको जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage