scheduleबिहिवार मंसिर ५ गते, २०७६

छोरीको कुकुर पाल्ने रहर र हजुरबाको सपनाको घर

मान्छेका कथा
  • सुधीर नेपाली

मेरो छोरीको एउटा सानो रहर छ । त्यो हो– एउटा सानो कालो कुकुर पाल्ने । यस्तो सानो कुकुर जुन काखमा बोक्न सकियोस् ।
मेरी छोरी एक्ली सन्तान हुन् । उनलाई एउटा यस्तो साथी चाहिएको छ, जो बोलाउँदा पुछार हल्लाउँदै काखमा आओस् । जसलाई दूधभात खुवाउन पाइयोस् । जसलाई नुहाइदिन पाइयोस् । जसको हेरचाह गर्न मिलोस् । ममीले आफ्नो हेरचाह गरेजस्तै अरु कसैको हेरचाह गर्न मन छ सायद उनलाई ।

तर, अहिलेसम्म उनको त्यो रहर पुरा हुन सकेको छैन । कारण, हामी भाडामा बस्छौं, त्यही पनि माथिल्लो तलामा। बीचको तलामा घरभेटी अंकलआंटी बस्नुहुन्छ । कुकुर पाल्न अप्ठ्यारो छ हामी बसेको घरमा ।

म छोरीभन्दा दुई वर्ष जेठो हुँदो हुँ त्यतिबेला । भर्खर एघार वर्ष टेकेको । घरमा हजुरबाले एउटा सानो कालो कुकुरको छाउरो ल्याउनुभएको थियो, गुरुङ गाउँबाट । भोटे कुकुरको छाउरो भन्थे मान्छेहरु । हरेक दिन त्यो भोटेकुकुरको छाउरोलाई म दूध भात खुवाउँथे । हजुरआमाले लोभ गर्नुभो भने आफ्नो भाग काटेर खुवाउँथे । त्यसलाई ठूलो बनाउने र बडेमाको भोटेकुकर सँगै मिलेर मकैबारीमा आउने बाँदर धपाउने रहर थियो मेरो । त्यसैले विदाको दिन त्यो भोटे कुकुरको छाउरो लिएर म बाँदर धपाउन नजिकैको पाखामा जान्थेँ, जसले गर्दा मेरो कालेले सानैबाट बाँदर खेद्ने तालिम पाओस् ।

केही महिनापछि म पाँच कक्षा पास भएँ । ६ कक्षा पढ्न दुई घण्टा पर आफन्तकोमा बस्नुपर्ने भो । मेरो गाउँमा प्राथमिक विद्यालयमात्रै थियो । गाउँबाट एक घण्टा उकालो चढेपछि एउटा हाइस्कूल आउँथ्यो । तर, राम्रा विद्यार्थी त्यहाँ पढ्दैनन् भन्ने मेरो हजुरबाको धारणा थियो । त्यसैले उहाँले मलाई दुई घण्टा परको गाउँमा आफ्नी बहिनीको घर पुर्‍याउनुभयो । र, म एउटा नामी सरकारी स्कुलमा भर्ना भएँ ।

हजुरबा भर्ना गरेर फर्किनु भो तर मैले फुपुदिदीको घर फर्कने बाटो बिर्सिएँ । मेरो गाउँ त एउटा सानो खोचमा थियो । तर, मेरो नयाँ स्कुल भएको गाउँ एउटा फराकिलो फाँटमा । पानी परेको थियो । जताततै रातोमाटो । स्कुल पुग्नुअघि बजार भएर हिँड्नुपर्थ्यो । त्यहाँ एकजना रम्घाली साउको निकै ठूलो पसल थियो ।

फराकिलो फाँटमा पूर्वपश्चिम उत्तरदक्षिण कता हो पत्ता लगाउन गाह्रो भयो । फूपुदिदीको घरअघिल्तिरकी एकजना दिदी भेट भइन् । उनले ठेगानमा पुर्‍याइदिएपछि उनलाई धन्यवाद दिदी भनेँ ।

रहर त मलाई सिद्धार्थवनस्थली, गण्डकी बोर्डिङ वा बुढानीलकण्ठ पढ्ने थियो । तर, मेरो बुबाले मलाई त्यहाँको प्रवेशपरीक्षामा लग्न समेत कुनै चासो देखाउनुभएन ।

खुसीको कुरा भनौं अहिले मेरी छोरी सिद्धार्थ वनस्थली पढ्छिन् । बाल्यकालदेखिको एउटा सपना पुरा भएजस्तो लाग्छ आज मलाई । एकजना निकै असल मान्छेको सहयोगले मेरी छोरी त्यहाँ पढिरहेकी छिन् । यसबारे म कुनै दिन लेखुँला ।

हजुरबा हप्तैपिच्छे मलाई भेट्न आउनुहुन्थ्यो । हाम्रो घरबाट स्कुल भएको गाउँमा आउने बाटो खोलाको किनारै किनार थियो । कतिपय ठाउँमा पहराबाट खनिएको थियो गोरेटो । त्यो पहराको बाटोमा चिप्लेर बुढो हजुरबालाई केही हुने हो कि भनेर मेरो केटाकेटी मन पिरोलिरहन्थ्यो ।

हजुरबा आएर हेडसरलाई भेट्नुहुन्थ्यो । मलाई कापी कलम किन्ने र दिउँसो खाजा खाने खर्च दिएर जानुहुन्थ्यो । कक्षा ६ बाट नौसम्म म बोर्डफस्ट भएँ । हरेक वार्षिकोत्सवमा उहाँ उपस्थित हुनुहुन्थ्यो । मैले पुरस्कार लिएको हेरेर मख्ख पर्नुहुन्थ्यो । हजुरबा मख्ख परेको देखेर मेरो मन फुरुङ्ग हुन्थ्यो । म नौ कक्षाको जाँच दिँदै गर्दा हजुरबा बित्नु भो । त्यसपछि घरमा भएको महुरीले घार छोडेर गए । दश कक्षामा म प्रथम मात्रै भएँ । स्कुलभरीकै बोर्डफस्ट भइनँ । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएँ ।

मलाई हजुरबाले ल्याइदिनुभएको त्यो कालो कुकुरको अझै सम्झना छ । म पाँच कक्षा पास भएकोले कुकुर ल्याएको दुई महिनापछि घर छोड्नुपर्ने भो । शुक्रबार घर फर्कन्थे । शनिबार दिनभरि त्यो कुकुरको छाउरो लिएर घुम्थें । हर्लक्क बढिसकेको थियो काले । तर, शिकार गर्नसक्ने भइसकेको थिएन ।

एकदिन शुक्रबार घर फर्कंदै गर्दा आमासित बाटोमै भेटभो । आमाको अनुहार निनाउरो देखेँ । घरमा पुग्दा काले थिएन । अघिल्लो हप्ता, सायद मेरो जन्मबार हुनुपर्छ, बाघले घिच्याएछ मेरो कालेलाई ।

खबर सुनेपछि मेरा आँखाबाट बर्बरी आँशु झरे । मन थामिएन । हजुरबाले अर्को छाउरो खोजेर ल्याइदिन्छु भन्नुभएको थियो तर घरमा नबस्ने भएकोले मैले खासै चासो दिइनँ ।

त्योबेलादेखि छाडेको घरमा त्यसपछि म कहिल्यै दुई महिनाभन्दा बढी लगातार बसिनँ ।

हजुरबाले बनाएको घर बाले बेच्नुभो कतार जान्छु, पैसा चाहियो भनेर । बा प्राविको शिक्षक हुनुहुन्थ्यो । अहिले हेडसर हुनुहुन्छ त्यही प्राविमा । तर, त्यतिबेला किन कतार जान मन लाग्यो उहाँलाई थाहा भएन । उहाँकै चिनजानको साथी दलालले पैसा खाइदियो ।

आफूले धेरै दुःखले बनाएको घर बेच्नुपर्दा हजुरबालाई ठूलो चोट पर्‍यो । त्यसले गर्दा पनि उहाँ चाँडै थला पर्नुभो सायद । मुटुको रोग लागेको रहेछ हजुरबालाई । गण्डकी अस्पतालका डाक्टरले ब्याङ्लोर लगे निको हुन्छ भनेका थिए । तर, त्यसका लागि खेत बेच्नुपर्दथ्यो । हजुरबाले मान्नुभएनछ । उहाँले भन्नु भो रे– मेरा तामाका मुना जस्ता नाति नातिनालाई कंगाल पारेर केही वर्षका लागि मेरो आयु थप्दिनँ । गण्डकी अस्पतालका डाक्टरले हजुरबालाई घर फर्काइदिए ।

एकदिन दिउँसो बा स्कुलमा र आमा मकै गोड्न खेतमा गएको बेला हजुरबा बित्नुभएछ । म दुईघण्टा पर स्कुलमा पढ्दै थिएँ । नौ कक्षाको जाँच चलिरहेको थियो सायद । भोलिपल्ट थाहा भयो हजुरबा बितेको ।

मलाई हप्तैपिच्छे स्कुलमा भेट्न आउने मेरो हजुरबाको म मलामी जान पाइनँ ।

हजुरबा बेलाबेलमा सपनामा मलाई भेट्न आउनुहुन्छ । भारतको एउटा विश्वविद्यालयबाट स्नातकोत्तरमा उत्कृष्ट भएर ‘गोल्डमेडल’ले विभुषित भएको रात हजुरबा सपनामा आउनुभो । म त पाँच कक्षामा पढ्दाको बच्चा जस्तै रहेछु । सेतो दौरासुरुवालमा सजिएको, पूरै कपाल फुलेको मेरो हजुरबाले अविर घसेर मलाई काँधमा बोक्नु भो ।

नातिलाई डाक्टर बनाउने हजुरबाको ठूलो धोको थियो । त्यो कहिल्यै पूरा भएन । हजुरबा बितेको एकवर्षपछि देशमा बन्दूक पड्कन थाले । मान्छेहरुले आफ्ना बाबुआमाको काजक्रिया गर्न छाडे । आँधीहुरी आयो । त्यही आँधीहुरीले नातिलाई डाक्टर बनाउने हजुरबाको सपनाको घर पनि उडाइदियो । मेरा हजुरबाको सपनाको त्यही भग्नावशेषमा आज केही मान्छेहरुका आलिशान दरबार खडा भएका छन् । र, ती दरबारको बार्दलीमा बसेर तिनै मान्छे मलाई पाउमा दाम चढाउन उर्दी गरिरहेका छन् ।

हरेक पटक छोरीले कुकुर पाल्ने भन्दै पिरोल्दा मलाई सानोमा कालो कुकुरको छाउरो ल्याइदिने हजुरबाको सम्झना आउँछ । अनि सम्झना आउँछ, त्यो आँधीहुरीले उडाएको त्यो निस्वार्थ बूढो मान्छेको सपनाको । त्योभन्दा अघि सम्झना आउँछ, हजुरबाको खाटै मुन्तिरबाट बाघले घिच्याएको त्यो कालेको, जो कहिल्यै बाँदर खेद्न सक्ने बढेमाको भोटे कुकुर हुन पाएन ।

क्रमशः

मान्छेका कथाहरुको हत्याको विरोधमा

(सुधीर नेपाली लेखकको वास्तविक नाम होइन तर, उनले लेखेको कथा उनको जिन्दगीको वास्तविक कथा हो । ‘मान्छेहरुको कथासाझापोस्टमा हरेक सोमबार प्रकाशित हुनेछ)

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage