scheduleसोमवार आश्विन ६ गते, २०७६

अमेरिकी नागरिकमाझ लोकप्रिय बन्दै समाजवादी धार

एजेन्सी, १६ असार । अमेरिकालाई पूँजीवादको मुख्यालय मान्ने गरिन्छ । तर अमेरिकी नागरिकमाझ पूँजीवादप्रतिको आकर्षण घटिरहेको हालै गरिएको एक अध्ययनले देखाउँछ । नयाँ पुस्ता, अल्पसंख्यक र महिलाहरु समाजवादी धारप्रति आकर्षित हुँदै गएको उक्त अध्ययनको निष्कर्ष छ ।

पिउ रिसर्च सेन्टरले अप्रिल १९ देखि मे १३ सम्म ‘समाजवाद र पूँजीवाद’बारे अमेरिकी नागरिकको धारणा बुझ्न एक सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणको प्रतिवेदन मंगलबार सार्वजनिक गरिएको छ । प्रतिवेदन अनुसार अमेरिकी नागरिकमा समाजवादप्रतिको आकर्षण विगतको भन्दा बढी रहेको देखिन्छ ।

विशेषगरी युवाहरुमाझ समाजवादी धारणा लोकप्रिय बन्दै गएको अध्ययनको निचोड छ । सर्वेक्षणमा सहभागी युवाहरुमध्ये ५० प्रतिशतले समाजवादप्रति सकारात्मक धारणा राखेका थिए । र पूँजीवादी धारणामा विश्वास गर्ने युवाको संख्या समेत समान वा ५० प्रतिशत नै थियो ।

तर पूँजीवादलाई ठीक मान्ने वयस्क/प्रौढको संख्या भने युवाको तुलनामा बढी नै देखिन्छ। सर्वेक्षणअनुसार ६५ प्रतिशत प्रौढले समाजवादभन्दा पूँजीवाद नै ठीक भएको ठान्छन् । यता समाजवादलाई ठीक मान्ने पुरानो पुस्ताको संख्या ४२ प्रतिशत मात्रै छ । यसले पुरानो पुस्तामाझ पूँजीवाद निकै लोकप्रिय भएको देखाउँछ ।

सर्वेक्षणमा सहभागी  डेमोक्र्याट पार्टीका समर्थकमध्ये ६५ प्रतिशतले समाजवाद सही र ५५ प्रतिशतले पूँजीवाद सही भनेका थिए । तर रिपब्लिकन पार्टीका समर्थकमाझ पूँजीवाद नै लोकप्रिय भएको देखिन्छ । सर्वेक्षणमा सहभागी रिपब्लिकन पार्टीका समर्थकमध्ये ७८ प्रतिशतले पूँजीवादप्रति सकारात्मक धारणा राखेका थिए । जबकि,  समाजवादप्रति नकरात्मक धारणा राख्नेको संख्या ८४ प्रतिशत थियो ।

समाजवाद र पूँजीवादलाई हेर्ने दृष्टिकोण लैङ्गिक हिसाबले समेत फरक रहेको अध्ययनको निचोड छ । सर्वेक्षणमा सहभागी महिलामध्ये ४६ प्रतिशत महिलाले समाजवादप्रति सकारात्मक धारणा राखेका थिए जबकि समाजवादप्रति सकारात्मक धारणा राख्ने पुरुषको संख्या ३८ प्रतिशत थियो ।

त्यस्तै पूँजीवादप्रति सकारात्मक धारणा राख्ने पुरुषको संख्या महिलाको भन्दा  बढी देखिन्छ । सर्वेक्षणमा सहभागी महिलामध्ये ५६ प्रतिशतले पूँजीवाद ठीक भएको बताएका थिए । तर पूँजीवादलाई ठीक मान्ने पुरुषको संख्या ७४ प्रतिशत थियो ।

सामुदायिक र जातीय हिसाबले हेर्ने हो भने बहुसंख्यक समुदायमाझ पूँजीवाद नै लोकप्रिय र अल्पसंख्यक समुदायमाझ समाजवाद लोकप्रिय भन्दै गएको देखिन्छ ।

सर्वेक्षणमा सहभागी अफ्रिकी मूलका अमेरिकीमध्ये ६५ प्रतिशतले र ल्याटिन अमेरिकी मूलका अमेरिकीमध्ये ५२ प्रतिशतले समाजवादप्रति सकारात्मक धारणा राखेका थिए । जबकि, सर्वेक्षणमा सहभागी गोरा समुदायका सहभागीमध्ये ३५ प्रतिशतले मात्रै समाजवाद ठीक रहेको बताएका थिए ।

यसरी हेर्दा, अमेरिकी समाज वैचारिक रुपमा ध्रुवीकृत हुँदैछ भन्ने प्रस्ट हुन्छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage