scheduleबुधवार श्रावण १ गते, २०७६

खडेरीको मारमा पूर्वका किसान, अझै रोपाइ सुरु हुन सकेन

काठमाडौं, २१ असार । असार १५ कटिसक्दा समेत पर्याप्त वर्षा नहुँदा पूर्वी पहाडी जिल्लाका किसान चिन्तित बनेका छन् ।

खडेरीले रोपाई गर्न नपाएका किसान बारीमा लगाएको मकै र तरकारी समेत सुकेपछि थप चिन्तित बनेका हुन् । विगतका वर्षहरुमा यतिबेला पर्मेली गीत गाएर रोपाई गर्ने ओखलढुंगा रुम्जाटारका किसान यसवर्ष मध्य असारसम्म पनि खडेरी परेपछि असरल्ल परेका छन् ।

सिँचाई सुविधा नभएका वस्तीका किसानले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । वर्षा नभएपनि खेत सबै बाँझै रहेको गुनासो स्थानीय किसानले गरेका छन् । यदि समयमा नै पानी परेको भए पूर्वी पहाडका जिल्लाहरुमा यतिबेला रोपाइँको काम अन्तिम चरणमा पुगिसक्थ्यो ।

तर यसवर्ष सुरु नै भएको छैन । असारका दिनमा हिउँद बिर्साउने गरी लागेको चर्को घामले बालीनाली नै सुक्न थालेको छ ।

विशेषगरी रामेछाप, उदयपुर, खोटाङ, भोजपुर, धनकुटा सहितका पूर्विपहाडी जिल्लाका किसान खडेरीको मारमा छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका किसानलाई समयमा वर्षा नहुँदा खेत बाँझै हुने चिन्ता छ । हिमाली जिल्ला सोलुखुम्बुमा पनि खडेरीको असर परेको छ ।

प्रदेश नम्बर १ का १४ जिल्लामा ३ लाख ४० हजार ८ सय २९ हेक्टर जमिनमा धान खेती हुन्छ । तर, अहिलेसम्म ६२ हजार ६ सय ५५ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपिएको छ । औसतमा अहिले सम्म जम्मा १८ प्रतिशत मात्र रोपाई सकिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob