scheduleबुधवार श्रावण ८ गते, २०७६

चार नाबालक सन्तानसहित ३५ वर्षीया आमा सप्तकोशीमा हामफालिन्


राजविराज, २१ असार । आफ्ना चार अबोध सन्तानसहित एक ३५ वर्षीया आमा सप्तकोशीमा हाम फालेकी छिन् । सिरहाको गोलबजार नगरपालिका ८ की ३५ वर्षीया आमा रोशना खातुन र उनका पाँच वर्षीय छोरा तहसिललाई प्रहरी र स्थानीयबासीले बेहोस अवस्थामा उद्धार गरेपनि बाँकी तीन सन्तान भने फेला परेका छैनन् ।

खातुन आफ्ना चार सन्तानसहित सप्तकोशी नदीको दक्षिण भागमा हामफालेकी हुन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीको दक्षिणतर्फ ती महिलाले चार सन्तानसहित हामफालेको स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

स्थानीयको खबरपछि घटनास्थल पुगेको प्रहरीले खोजी कार्य सुरु गरेको थियो । राति १० बजेतिर घटनास्थलभन्दा ५ सय मिटर तल खातुनका पाँच वर्षीय छोरालाई बेहोस् अवस्थामा उद्धार गरिएको हो ।

प्रहरीले रातभर खोजी कार्य जारी राखे पनि आमालाई भने शनिबार बिहान ६ बजे मात्र स्थानीयले फेला पारेका थिए । उनलाई घटनास्थलबाट तीन किलोमिटर तल फेला पारेका हुन् ।

बेहोस् अवस्थामा रहेका आमा-छोराको भारदहस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता भइरहेका दुई र तीन वर्षाीय छोरा र ६ वर्षीया छोरी भने फेला पार्न सकिएको छैन ।

अविरल वर्षाका कारण सप्तकोशीको बहाव उच्च रहेकोले बेपत्ता बालबालिकालाई बगाएर लगेको हुनसक्ने अनुमान प्रहरीको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी महेन्द्र मिश्रका अनुसार खोजीका लागि ठूलो संख्यामा सुरक्षाकर्मी र गोताखोरको टोली परिचालन गरिएको छ ।

प्रहरीले खातुनको घाँटीमा बोकेको पर्सबाट गोलबजारबाट कोशी ब्यारेजसम्मको बसको टिकट तथा एक थान मोबाइल फेला पारेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob