scheduleबुधवार श्रावण ८ गते, २०७६

को असल ? को खराब ? खुट्याउन निकै गाह्रो छ, छोरी !

सुधीर नेपाली

ममी र बाबाले गरेको भिडियो च्याट छोरी नजिकै बसेर खुब चासो लिएर सुन्छिन् । कहिलेकहीँ हामीले कोही मान्छेको बारेमा कुरा गर्‍यौं भने उनलाई सबभन्दा चासोको विषय हुन्छ– त्यो मान्छे खराब मान्छे हो कि असल मान्छे हो ।

ममी र बाबाले गरेका कतिपय कुरा पूरै बुझ्न सक्दिनन् सायद छोरीले । त्यसैले उनी बीच-बीचमा सोध्छिन्– फलानो मान्छे असल मान्छे हो बाबा ? फलानो मान्छे खराब मान्छे हो ममी ?

देशका सबभन्दा शक्तिशाली कतिपय मान्छेहरुलाई उनले व्यक्तिगतरुपमै भेटेकी छिन् । चिनेकी छिन् । उनीहरुको बारेमा भने उनी केही सोध्दिनन् । उनीहरुबारे बाबाममीको धारणा के छ भन्ने थाहा भैसकेको पनि हुनसक्छ छोरीलाई ।

जब हरेकपटक छोरीले कोही मान्छे असल हो कि खराब हो भनेर सोध्छिन्, तब महाभारतका कथाहरु मेरो मनमस्तिष्कमा घुम्न थाल्छन् ।

महाभारतका कथाहरुसित मेरो सबभन्दा राम्रो परिचय गुरुचरन दासको ‘डिफिकल्टी अफ विइङ गुड’ अर्थात् ‘असल हुन अप्ठ्यारो’ शीर्षकको पुस्तकमार्फत् भएको थियो ।

गुरुचरन दासद्वारा लिखित उक्त पुस्तक महाभारतका विभिन्न पात्रहरुका द्विविधाका बारेमा केन्द्रित छ । त्यहाँ उनीहरुको मनोदशाको बारेमा चर्चा छ ।

पुस्तकको केन्द्रीय सन्देश के छ भने– असल र खराब मान्छको बीचमा निकै पातलो सीमारेखा छ । कर्महरु असल र खराब हुन सक्लान् । तर, मान्छेका बारे एकीन भएर असल र खराब भन्न नसकिएला ।

हाम्रो समाजको बुझाइमा पनि परिवर्तन हुँदै आएको छ आजकल, असल र खराबबारे । जस्तो कि, हामी सानो हुँदा बन्ने चलचित्रहरु र आजकल बन्ने चलचित्रहरुमा निकै फरक छन् । नेपाली चलचित्रहरुको हकमा पनि । हामी सानो हुँदा बन्ने चलचित्रहरुमा नायक हुन्थ्यो । खलनायक हुन्थ्यो । नायकले कुट्दा हामी ताली बजाउँथ्यौं । खलनायकले नायकलाई कुट्दा नमिठो मान्थ्यौं ।

हामी सानो हुँदाको देशको राजनीतिलाई हामी तिनै चलचित्रका कथा हुन् जसरी बुझ्ने कोशिश गर्थ्यौं ।

तर, आजकल नेपालमै पनि भिन्न प्रकारका चलचित्र बनेका छन् । कतिपय चलचित्रमा को नायक र को खलनायक छुट्याउन निकै गाह्रो हुन्छ ।
पक्कै पनि राजनीतिसम्बन्धी नयाँ पुस्ताको बुझाइलाई यी नयाँप्रकारका चलचित्र र साहित्यहरुले असर गर्लान् र उनीहरुको राजनीतिसम्बन्धी बुझाइ बढी साङ्गोपाङ्गोपूर्ण होला भन्ने मलाई आशा छ ।

यसको मतलब राजनीतिमा हिटलर, स्टालिन र चाउचेस्कुहरु जन्मिँदैनन् भन्ने होइन ।

नेपालकै हकमा भन्नुपर्दा हिटलर र स्टालिनको बारेमा त म एकिन छैन । तर, चाउचेस्कु भने नेपालमा जीवितै छन् । चाउचेस्कु रुमानियाका कम्युनिस्ट राष्ट्रपति थिए । उनी यति परिवारवादी थिए कि विदेशभ्रमण जाँदा राजकाजको जिम्मा श्रीमतीलाई सुम्पेर जान्थे । कम्युनिस्ट पार्टीको नाममा चाउचेस्कु खानदानको रजगज थियो रुमानियामा । रुमानियामा लोकतान्त्रिक क्रान्तिपछिको सरकारले उनीसहित उनको परिवारका सदस्यलाई एउटै साङ्लोमा बाँधेर गोलीले उडाएको थियो । अझ रमाइलो त के भने मर्ने बेलामा चाउचेस्कुले सर्वहारा अन्तर्राष्ट्रवादको गीत गाएको थियो ।

नेपाली जनताले पूर्वराजा ज्ञानेन्द्रको परिवारसित पनि प्रतिशोध साँधेनन् । नेपाली चाउचेस्कु र तिनको परिवारमाथि नेपाली जनताले रुमानियाका चाउचेस्कुमाथिजस्तो हिंसा पक्कै गर्दैनन् । किनकि हामी ऋषिमुनिहरुका सन्तान हौं । तर, नेपाली चाउचेस्कुहरुको रजगज पनि धेरै दिन पक्कै टिक्नेछैन ।

हिटलर, स्टालिन र चाउचेस्कु खराब मान्छे हुन् भन्नेमा मेरी छोरीलाई पनि कुनै भ्रम छैन । तर, अरु मान्छेहरुको बारेमा भने उनलाई एकीन छैनन् ।
सायद मान्छेहरुको बारेमा को असल र को खराब हो भन्नेबारे एकिन हुन नसक्नु मेरी छोरीको पुस्ताको परिपक्वताको परिचायक हुने छ । यसले उनलाई कसैको बहकाउमा आउनबाट जोगाउने छ । देश हिंसाको अर्को चक्रमा फस्नबाट जोगिने छ ।

हाम्रो पुस्ताका लागि संसार कालो र सेतो मात्रै थियो, हामी युवा हुँदा । अझ भनौं कालो र सेतो बाहेक मान्छेका अरु रंग छैनन् भन्ने पढाइएको थियो हामीलाई । चलचित्रमा । साहित्यमा । पत्रिकाका विचार पानामा । कवितामा । र, सबभन्दा बढी नेताका भाषण र प्रशिक्षणमा ।

तर, त्यो गलत रहेछ । मान्छेका धेरै रङ्ग हुनेरहेछन् । मलाई गुरुचरन दासको ‘डिफिकल्टी अफ बिइङ गुड’ पढेपछि त्यो थाहा लाग्यो । अन्विका गिरीको ‘मान्छेका रङ’ उपन्यास पढेपछि मेरो बुझाइमा त्यो अझ प्रस्ट भयो । यसबारे सबभन्दा छर्लङ्ग त– हिजो आफैंले महानायक ठानेकाहरुको चाउचेस्कुमा महापतन यिनै दुई आँखाले देखेपछि भयो ।

क्रमशः

मान्छेका कथाहरुको हत्याको विरोधमा

छोरीको कुकुर पाल्ने रहर र हजुरबाको सपनाको घर

(सुधीर नेपाली लेखकको वास्तविक नाम होइन तर, उनले लेखेको कथा उनको जिन्दगीको वास्तविक कथा हो । ‘मान्छेहरुको कथा‘ साझापोस्टमा हरेक सोमबार प्रकाशित हुनेछ)

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob