scheduleबिहिवार आश्विन २ गते, २०७६

निरन्तर वर्षा र ठेकेदारको लापरवाहीले बस्ती डुबानमा

फाइल फोटो

नेपालगन्ज, २५ असार ।  तीन दिनदेखी परिरहेको वर्षाका कारण बाँकेका विभिन्न ठाउँ डुबानमा परेका छन् ।

ढल तथा नालाको निकास थुनिँदा जिल्लाका विभिन्न ठाउँ जलमग्न भएका हुन् । नेपालगन्जको धम्बोझी, घरबारीटोल, बेलासपुर, न्युरोड लगायतका ठाउँहरु जलमग्न भएका छन् ।

नेपालगञ्जमा आज पनि बिहानैदेखि पानी परिरहेको छ । नेपालगन्ज उपमहानगरपालिका १० स्थित जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती पनि डुबानमा परेको छ । केहि घरमा भित्रै पानी पसेको छ । न्युरोड हुँदै बागेश्वरी मन्दिर भएर बग्ने र सदरलाइन हुँदै भेरी प्राविधिक शिक्षालय भएर बग्ने मुख्य ढलको निकास थुनिँदा बस्ती डुबानमा परेको हो ।

उक्त ढल उपमहानगरपालिकाले एकीकृत शहरी विकास आयोजनामार्फत् एसियाली विकास बैंकको ऋणरअनुदान सहयोगमा दुई वर्षअघि निर्माण गरेको थियो । ठेकेदारले अधुरो छाडेको उक्त नालामा झारपात उम्रिएर निकास थुनीएपछि पानी बग्न नपाएर बस्ती डुबान गरेको स्थानीय शंकर ठकुरीले बताए ।

नालाको निकास थुनिँदा सडकमा पनि पानी जमेको छ । उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशमशेर राणाले वर्षा लगत्तै नालामा पानी एकैचोटी बग्न नसक्दा जलाम्य भएको र केही समयमै पानी सुक्ने बताए ।

वि.स २०६३ सालयता देखिएको डुबान समस्या समाधान गर्ने भन्दै एसियाली विकास बैंकको ऋण-अनुदान सहयोगमा सुरुमा एकीकृत शहरी विकास आयोजना सञ्चालन भएपनि आयोजना सम्पन्न नभएका कारण डुबानको समस्या झेल्नुपरेको भन्दै स्थानीय आक्रोशित छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ एडिबीको लगानीमा निर्मित ढल तथा नाला प्रभावकारी नहुँदाको परिणाम नेपालगन्जले डुबान समस्या खेप्नु परिरहेको बताए ।

जिल्लाका नरैनापुर, डुडुवा, राप्तीसोनारी गाँउपालिकाका बस्ती पनि डुवानमा परेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage