scheduleबुधवार श्रावण ८ गते, २०७६

पोखरा आउने पर्यटकको संख्या कति ? यस्तो छ तथ्याङ्क

पोखरा, २६ असार । पर्यटकीय राजधानीको रुपमा परिचित गण्डकी प्रदेशको राजधानी पोखरामा ११ महिनामा २ लाख ८८ हजार विदेशी पर्यटक आएका छन्। गण्डकी प्रदेश सरकारले प्रदेशमा आउने पर्यटकको तथ्याङ्क संकलन गरेको हो।

पोखरा र गण्डकी प्रदेशमा अहिलेसम्म वर्षेनी कति पर्यटक आउँछन भन्ने एकीन तथ्याङ्क नभए पछि गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले साउन १ गते देखि स्थलमार्गमा प्रहरीको सहयोगमा र हवाई मार्गबाट आउने पर्यटकको तथ्याङ्क पोखरा विमानस्थलबाट लिएको हो।

गत साउनदेखि जेठ महिनासम्मको तथ्याङ्क अनुसार हवाई मार्ग र स्थल मार्ग हुँदै आउने भारतीय पर्यटकको संख्या १ लाख १६ हजार ६९६ रहेको छ। चीनसहित एसिया, युरोप, र अमेरिकाका पर्यटकको संख्या १ लाख ७१ हजार ७४९ रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत गोविन्द पौडेलले जानकारी दिए।

स्थलमार्गबाट आउने पर्यटकको तथ्याङ्क तनहुँको आँपु खैरेनीस्थित पृथ्वी राजमार्गको आपु खैरानी प्रहरी चेक पोस्ट र स्याङजाको गल्याङस्थित सिद्धार्थ राजमार्गको गल्याङ प्रहरी चेक पोस्टमा रहेका प्रहरीको सहयोगमा गत साउन १ गतेदेखि संकलन गरिएको हो।

गण्डकी प्रदेशको नवलपुरमा आउने पर्यटकको तथ्याङ्क भने यस तथ्याङ्कमा समेटिएको छैन। नवलपुरतर्फ आउने पर्यटकको तथ्याङ्क पनि छिट्टै नै संकलन हुने गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वतावरण मन्त्रालयका सचिव विष्णुप्रसाद भण्डारीले बताए।

हवाई मार्गबाट पोखरा आउने पर्यटको तथ्याङ्क भने पोखरा विमानस्थलले प्रदेश सरकारलाई उपलब्ध गराउँदै आएको छ। हेलिकप्टरबाट आउने पर्यटकको पनि रेकर्ड राखिने उनले सुनाए। यसअघि पोखरा आउने पर्यटकको रेकर्ड हवाई मार्गबाट आउने पोखरा विमानस्थलले र पदयात्रामा जाने पर्यटकको तथ्याङ्क अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले राख्ने बाहेक अन्य तथ्याङ्क थिएन।

तथ्याङ्क अनुसार पोखरामा सबैभन्दा धेरै कात्तिक महिनामा ३८ हजार ५०० पर्यटक आएका छन्। त्यसपछि मंसिर महिनामा ३७ हजार पर्यटक आएको तथ्याङ्क छ। सबैभन्दा कम साउन महिनामा २० हजार ८१२ पर्यटक आएको प्रदेश सरकारको तथ्याङ्क रहेको छ। साउन महिनामा पनि सबैभन्दा धेरै भारतीय पर्यटक आएको तथ्याङ्क छ। यसैगरी भदौ महिनामा २१ हजार ७१७ पर्यटक आएका छन्। यी दुबै महिना पर्यटक आगमनकालागि अफ-सिजन मानिन्छन्।

पर्यटकीय सिजन सुरु हुने असोज महिनामा पर्यटकको आमगन २५ हजार ९७३ रहेको छ। असोज महिनामा १२ हजार ५६३ जना पर्यटक भारतीय आएको तथ्याङ्क छ। बाँकी अन्य देशमा पर्यटक हुन्।

प्रदेश सरकारले आन्तरिक पर्यटकको भने तथ्याङ्क राखेको छैन। तथ्याङ संकलनलाई विस्तारै प्रभावकारी बनाउन एप सिस्टममा जाने प्रदेश सरकारले बताएको छ।

मुख्य आकर्षण अन्नपूर्ण संरक्षण क्षेत्र

गण्डकी प्रदेशमा पर्यटक आउने मुख्य आकर्षण अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा हो। पछिल्लो समयमा यहाँको पदयात्रा मार्गमा सडक विस्तार हुँदा पर्यटकको बसाई घटेको छ।

प्रदेशमा सबैभन्दा धेरै पर्यटक पदयात्राकालागि आउन गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजा (एक्याप) को तथ्याङ्कबाट देखिएको छ। एक्यापको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ मा अहिलेसम्मकै सबैभन्दा धेरै १ लाख ७२ हजार ८६१ पर्यटकले एक्याप क्षेत्रको पदयत्रा गरेका छन्। यो संख्या आर्थिक वर्ष २०७३/०७४ को भन्दा १९ प्रतिशत बढी हो।

अघिल्लो आर्थिक वर्षमा १ लाख ४४ हजार १९८ जना पर्यटकले एक्याप क्षेत्रमा पदयत्रा गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका  सूचना अधिकृत ऋषि बरालले बताए। २०७४/०७५ मा १ सय ६० देशका पर्यटकले एक्याप क्षेत्रका पदयत्रा गरेको पनि उनले जानकारी दिए।

भूकम्प अघि पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्दा अफसिजन मानिएका असार, साउन महिनामा पनि पोखरामा पर्यटकको आगमन बढेको थियो। चिनियाँ पर्यटक पनि पदयात्रामा जान थालेका थिए।

भूकम्पपछि तातोपानी नाका बन्द भएपछि खस्किएको चिनियाँ पर्यटकको आगमन अहिलेसम्म पनि सुध्रन नसकेको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष गोपी भट्टराई बताए। गण्डकी प्रदेश सरकारले सन् २०२२ मा २० लाख पर्यटक भित्रयाउने लक्ष्य लिएको छ।

गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले संकलन गरेको तथ्याङ्क अनुसार प्रदेश सरकारको लक्ष्य पुरा गर्न ठूलै कसरत गर्नु पर्ने देखिन्छ।

(स्रोत : अन्नपूर्णपोष्ट डटकम)

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob