scheduleबुधवार श्रावण ८ गते, २०७६

दौरा-सुरुवालबारे यसो भन्छन् पूर्व सभामुख नेम्वाङ

काठमाडौं, २६ असार । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले राजा महेन्द्रले भन्दा पहिला आफ्ना पितापुर्खाले दौरा–सुरुवाल लगाएको दाबी गरेका छन्। आज भक्तपुरमा एक समारोहमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

संसद्मा सधैँ दौरा–सुरुवालमै जाने नेम्वाङले भने, ‘संसद्मा म दौरासुरुवाल लगाउँछु । कहिलेकाहीँ नलगाई पुगेँछु भने पनि भित्र छिर्दिनँ।’

आफू संविधानसभाको अध्यक्ष छँदा एकजना नेताले दौरा–सुरुवाललाई महेन्द्रपथको संज्ञा दिएको प्रसंग सुनाए । ‘एक जना साथीले मेरो दौरा–सुरुवाललाई औँल्याएर  प्रश्न गर्नुभो– यो त महेन्द्रपथ भनेर आलोचना गर्नुभो’, उनले भने।

नेम्वाङले भने, ‘राजा महेन्द्रले दौरासुरुवाल कोट टोपीकुन मितिदेखि लाउन थााल्नुभो, मलाई थाहा छैन । तर, एउटा कुरा चाहिँ मलाई ग्यारेन्टी थाहा  छ । मेरा बाउबाजेले राजा महेन्द्रले भन्दा अगाडि दौरा सुरुवाल कोट लगाएका हुन्।’

उनले स्मरण गरे, ‘मेरा बाउबाजेले खादीको दौरा–सुरुवाल मेरा फुपूहरूले ल्याइदिन्थे । पितापुर्खा पटुका कस्थे, म चाहिँ पटुका लाउँदिनँ । त्यो पटुकामा खुकुरी भिर्थे, सिरुपाते खुकुरी भन्थे । कोट मेरोजस्तो चिटिक्क होइन, इस्टकोट लाउँथे । टोपी मेरोजस्तो होइन, यस्तै कालो–कालो तर ग्याँच्च परेको हुन्थ्यो । तर दौरा सुरुवाल लाउँथे । राजा महेन्द्रले भन्दा अगाडि लागाउन सुरु गरेका थिए।’

नेपालको इतिहासमै सबैभन्दा लामो समय सभामुख भएका नेम्वाङले संसद्बारे भने, ‘संसद् एकदम औपचारिक हुन्छ । पोशाक पनि औपचारिक लगाइन्छ।’

पहिलो संविधानसभा कालको अर्को घटना पनि सुनाए, ‘एक जना साथी संसद्मा जिन्सको पाइन्ट र टी–शर्ट लगाएर आएछन् । कपडाको जुत्ता । यस्तो (पालीवाला) टोपी टोपी पनि यस्तो घुमाएर चुच्चो चाहिँ पछाडिपट्टि फर्काएर । मैले प्रमुख सचेतकलाई लगाएर सोधेँ, के हो संसद्मा आएको कि कहाँ आएको?’

नेम्वाङले संसद् औपचारिक थलो भएको बताए । उनले भने, ‘कडा बोल्न मुख छाड्नुपर्दैन । विनम्र हुनुपर्छ, सभामुखको अनुमति लिएर बोल्नुपर्छ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob