scheduleसोमवार कार्तिक ४ गते, २०७६
Global IME Bank

भारी वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित

काठमाडौँ, २७ असार ।  असार महिना सकिनैलाग्दा सुदूरपश्चिम क्षेत्रमा भएको भारी वर्षाका कारण यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै गएको पहिरोले दार्चुला र बाजुरामा बढी जोखिम देखिएको छ ।
कैलालीमा पर्ने सबैभन्दा ठूलो कर्णाली नदीमा पानीको सतह बढे पनि चिन्ता लिनुपर्ने अवस्था नरहेको जनाइएको छ । कर्णालीमा बिहीबार बिहान पानीको सतह ६.६३ मिटर पुगेको छ ।
कर्णाली नदीमा ११ मिटरभन्दा माथि पानीको सतह पुगेमा तल्लो तटीय क्षेत्रका लागि खतरा मानिन्छ । यसैगरी, साना नदीहरूमा पनि पानीको सतह बढेको छ । बाजुरा जिल्लाको सबैभन्दा ठूलो नदीका रूपमा चिनिँदै आएकोे बूढीगङ्गा नदी पहिरोका कारण थुनिने सम्भावना छ ।
बडिमालिका, बूढीगङ्गा र त्रिवेणी नगरपालिकाको बीच भएर बग्ने द्वारीस्थित बूढीगङ्गा नदीमा त्रिवेणी नगरपालिकाको–९ पैमाको उत्तरपट्टिबाट पहिरोले ठूला ढुङ्गा र रुख ल्याएर नदीमा थुप्रिएको छ । यसबाट नदी थुनिने सम्भावना छ । नदी थुनिएमा आसपासका त्रिवेणी नगरपालिकाको–९ पैमा र बूढीगङ्गा नगरपालिकाको अम्कोट र बल्देमा रहेका बस्ती पहिरोको उच्च जोखिममा पर्ने त्रिवेणी नगरपालिकाका मेयर रामसिंह रावलले बताउनुभयो ।
नदी थुनिन सक्ने सम्भावनाबारे गृह मन्त्रालयलाई समेत जानकारी गराइसकिएको बाजुराका प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
नदी थुनिने सम्भावनासँगै खेतीयोग्य जमिन, झोलुङ्गे पुल र साँफे–मार्तडी सडकखण्ड उच्च जोखिममा परेका छन् । नदी थुनिने खतरासँगै छिमेकी जिल्ला अछामको बुढाबगर र साँफेबगरमा पनि उच्च सतर्कता अपनाइएको छ । विगतमा बूढीगङ्गा नदी विभिन्न स्थानमा थुनिँदा, सेराफाँटा, मौरेफाँट र अछामको आरदवाल, बूढाबगरको खेतीयोग्य फाँटहरू बगर बनिसकेका छन् ।
बाजुराका ९५ बस्ती उच्च जोखिममा
बाजुराका नौ स्थानीय तहका ९५ बस्ती उच्च जोखिममा छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले गत फागुनमै विपद् जोखिममा रहेका बस्तीको सूची सार्वजनिक गरिसकेको छ । तीमध्ये सबैभन्दा बढी त्रिवेणी र बडिमालिका नगरपालिका उच्च जोखिममा छन् ।
समितिले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लामा जोखिममा रहेका बस्तीको पहिचान गरी सो बस्तीलाई स्थानान्तरण गर्नुपर्ने निर्णय गरेको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी चेतराज बरालको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको थियो ।
त्यस्तै त्रिवेणीपछि बडिमालिका नगरपालिकामा १५ बस्ती उच्च जोखिममा रहेका छन् । समितिले उच्च जोखिममा रहेका ९५ मध्ये तत्काल स्थानान्तरणका लागि बडिमालिका नगरपालिका वडा नं. १ को सल्लेना, २ को मैमातोला विष्टवाडा, बथानलेख–७ को जिल्ली, ३ को उखाडीलगायतका बस्ती सिफारिस गरेको छ । गोरखापत्रमा खबर छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage