scheduleआइतवार श्रावण ५ गते, २०७६

विकास प्रगतिको समीक्षा

काठमाडौँ, २७ असार ।  आर्थिक वर्ष २०७५/७६ सकिनै लाग्दा सरकारले चालू आर्थिक वर्षको विकास प्रगतिबारे समीक्षा आरम्भ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रालयहरूको प्रगति विवरण लिन थाल्नुभएको छ । यो क्रम शुक्रबार पनि चल्ने छ ।  बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, सञ्चार तथा सूचना प्रविधिलगायतका मन्त्रालयको प्रगति विवरण प्रधानमन्त्रीसमक्ष पेस गरियो । सम्बन्धित मन्त्रालयका सचिवहरूले चालू आर्थिक वर्षको प्रगति विवरण प्रस्तुत गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका जनसम्पर्क सल्लाहकार अच्युत मैनालीले जानकारी दिनुभयो ।
विद्युत् उत्पादन बढ्यो
चालू आवमा विद्युत् जडित क्षमता १९५ मेगावाट थप भई एक हजार ३२५ मेगावाट पुगेको छ । त्यस्तै प्रसारण लाइन निर्माण (६६ केभी र सोभन्दा बढी क्षमताका चालू आवमा ७५७ स.कि.मि. निर्माण भई हालसम्म चार हजार १९५ सर्किट किलोमिटर पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तर्फबाट जानकारी दिइयो ।
पूर्वाधार विस्तार
सडक स्तरोन्नतिअन्तर्गत कालोपत्रे स्तरको सडक ९१५ किलोमिटर विस्तार भएको छ । त्यसैगरी ग्रावेलस्तरको सडक एक हजार ५० किमि, माटे सडक ३१५ किमि, पुल निर्माण २४३ वटा, डीपीआर निर्माण (रेलमार्गतर्फ) ४२१ किमिको निर्माण भएको जनाइएको छ ।
त्यस्तै जयनगर–जनकपुर–कुर्था (३५ किमि) रेल लाइन तथा रेल्वे स्टेसन तयार भई आगामी असोजसम्ममा सञ्चालन हुने अवस्था रहेको उल्लेख छ । कुर्था–बिजलपुरा खण्डको १७ किमिसहित ५२ किमि खण्डमा आगामी फागुनसम्ममा रेल सञ्चालन हुने जानकारी दिइयो ।
सहरी विकास कार्यक्रमअन्तर्गत तराई–मधेसका २० वटा जिल्ला सदरमुकामका नगरपालिकाहरूमा सहरी पूर्वाधार विकासअन्तर्गत कुल २३०.२५ किलोमिटर सहरी सडक, ३३३.३६ किलोमिटर सतही ड्रेन, ढल १३.५७ किमि र इनरुवा, सिद्धार्थनगर र धनगढी बसपार्क निर्माण सम्पन्न भएको बताइएको छ । बन्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माणको कार्य सुरु भएको पनि प्रगति विवरणमा उल्लेख छ । यसै वर्ष १७७ वटा स्वास्थ्य भवन निर्माण पनि सम्पन्न भएको जनाइएको छ ।
खानेपानीमा पहुँच वृद्धि
मन्त्रालय मातहतका विभिन्न निकायबाट २४२ वटा भूकम्प प्रभावित आयोजनाहरू, २५० ग्रामीण खानेपानी आयोजना र ३४ वटा वर्षातको पानी सङ्कलनमा आधारित आयोजनाहरू गरी समग्रमा ५२६ वटा खानेपानी आयोजनाहरू सम्पन्न भई दुई लाख ८० हजार ८३९ जनसङ्ख्या आधारभूत स्तरको खानेपानी सेवाबाट लाभान्वित भएको प्रगति विवरणमा समावेश छ ।
मन्त्रालय मातहतका विभिन्न निकायबाट १८ वटा ठूला खानेपानी आयोजना सम्पन्न भई दुई लाख २३ हजार ९९१ जनसङ्ख्या उच्च र मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको उल्लेख छ । गोरखापत्रमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob