scheduleमगलवार भाद्र ३१ गते, २०७६

बाढीपहिरो अपडेट : हालसम्म १३ जनाको मृत्यु, ९ जना बेपत्ता, दर्जनौं घाइते

काठमाडौं, २७ असार । बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढी-पहिरोमा परी हालसम्म देशभर १३ जनाको ज्यान गएको छ।

मुलुकभरका विभिन्न ठाउँमा गरी बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार बाढी-पहिरोमा परी ९ जना बेपत्ता भएका छन् । त्यस्तै दर्जनौं घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंमा ३, काभ्रे र भोजपुरमा २/२, ललितपुर, पर्सा, रामेछाप,महोत्तरी, सिन्धुली र धादिङमा १/१ जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कागेश्वरी मनोहरा वडा नम्बर ६ स्थित वर्षाका कारण भत्किएको पर्खाल टहरोमाथि आउँदा ३० वर्षीया नीतु यादव, ३५ वर्षीया शर्मिला यादव र उनका छोरा १० वर्षीय कुन्दन यादव ‍ज्यान गएको छ।

मृतक ३ जना बारा जिल्लाका हुन्।

त्यस्तै बनेपा नगरपालिका–३ को एउटा घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ५० वर्षीया गोमा दंगाल र उनकी ७ वर्षीया छोरी सोहनी दंगाल रहेका छन् ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका–७ बासिखोराकामा पहिरोमा पुरिएर ६६ वर्षीय जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय जनक विकको मृत्यु भएको छ।

राईको घरमा बसिरहेको बेला र विकको शौचालय बसेको बेला पहिरोमा पुरिएर ज्यान गएको हो ।

पहिरोमा परेर ललितपुरको बागमती नगरपालिका-३ मा ११ वर्षीय सरोज तामाङको मृत्यु भएको छ । त्यस्तै रामेछाप नगरपालिका–५ करमटारमा गोठ भत्किँदा ७२ वर्षीया पदमकुमारी सुनुवार मृत्यु भएको छ।

महोत्तरी बलवा नगरपालिका–२ बदियाका ७० वर्षीय बृद्धको बाढीले बगाएर मृत्यु भएको छ। घाँस काट्न गएका हमिद मियालाई खोला तर्ने क्रममा बाढीले बगाएको थियो।

पर्सामा खोलाले बगाएर पर्सागढी नगरपालिका -१ का १० वर्षीय बालक निखिल पटेलको मृत्यु भएको छ।

साथै सिन्धुलीको फिक्कल गाउँपालिका-१ भुल्केमा पहिरोले गोठ बगाउँदा ३५ वर्षीया हरिमाया सुनुवारले ज्यान गुमाएकी छ्न् ।

यता धादिङमा पहिरोले घर लडाउँदा एक बालिकाको मृत्यु भएको छ। गजुरी गाउँपालिका-४ की ८ वर्षीया अस्मिता तामाङको मृत्यु भएको हो।

बाढी र पहिरोमा परेर हालसम्म ९ जना बेपत्ता भएका छन् । खोटाङमा तीन जना तथा काठमाडौं, पाँचथर, मोरङ, झापा,सुनसरी, महोत्तरीमा १/१ जना बेपत्ता भएका छन्।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage