scheduleआइतवार भाद्र ८ गते, २०७६

ओबामालाई अपमान गर्न इरान सम्झौताबाट ट्रम्प पछि हटे : बेलायती कुटनीतिज्ञ

एजेन्सी, २९ असार । पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामालाई अपमान गर्न अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग गरिएको परमाणु सम्झौता भङ्ग गरेको १ जना बेलायती कूटनीतिज्ञले बताएका छन्।

अमेरिकाका लागि ब्रिटेनका राजदूत सर किम डारकले ट्रम्पको उक्त कदमलाई ‘कूटनीतिक बर्बरता’ का रूपमा व्याख्या गरेको द मेल पत्रिकाले उल्लेख गरको छ ।

बाराक ओबामाले गरेको सम्झौता भएकाले ‘व्यक्तिगत कारणहरू’ ले गर्दा इरान सम्झौताबाट पछि हट्न चाहेको पूर्व बेलायती विदेशमन्त्री बोरिस जोनसनलाई डारकले बताएका थिए।

‘परिणामले ह्वाइट हाउसमा रहेको दोधार देखाउँछ।…यथार्थमा उक्त प्रशासन कूटनीतिक बर्बरता गर्न उद्यत छ। विचार र व्यक्तित्वका कारण त्यो ओबामाको सम्झौता भएकाले पनि हो’, डारकलाई उदृत गर्दै लेखिएको छ ।

तत्कालीन ब्रिटिश विदेशमन्त्री बोरिस जन्सनले सन् २०१८ मा अमेरिकालाई परमाणु सम्झौतामा अडिग रहिरहन आग्रह गरेपछि डारकले त्यस्तो टिप्पणी लेखेर पठाएको समाचारमा उल्लेख गरिएको छ ।

राष्ट्रपति ट्रम्पसँग विवाद उत्पन्न भएपछि डारकले केही दिनअघि राजीनामा दिएका छन् ।

सुरक्षानिकायले चुहिएका कूटनीतिक विवरणहरू नछाप्न सञ्चारमाध्यमलाई सजग गराएपछि यो विवरण सार्वजनिक भएको हो।

स्कटल्यान्ड यार्डले पत्रकारहरूलाई सचेत गराउँदै पूर्वराजदूतका कुराकानीबारे थप विवरण सार्वजनिक गर्नेले गोप्यतासम्बन्धी कानुन मिचेको ठहरिन सक्ने चेतावनी दिएको थियो ।

ट्रम्पको प्रशासनलाई डारकले ‘अक्षम, असुरक्षित र अयोग्य’ भनेका इमेलहरू एक साताअघि सार्वजनिक भएका थिए।

डारकले ह्वाइट हाउस ट्रम्पको नेतृत्वमा ‘बेकामे’ र ‘विभाजित’ भएको बताएका छन्।

गोप्य इमेल सार्वजनिक भएपछि ट्रम्पले आक्रामक प्रतिक्रिया जनाउँदै राजदूतसँग आफूहरूले व्यवहार नगर्ने बताएका थिए।

उनले “आफूहरू ती मान्छेको ठूलो प्रशंसक नभएको र उनले यूकेको पनि राम्ररी सेवा नगरेको” भनी टिप्पणी गरेका थिए।

ट्रम्प प्रशासन अक्षम र अप्ठ्यारो भएको भन्दै डारकले लेखेको इमेल सार्वजनिक भएपछि ट्रम्पले ब्रिटेनका राजदूतलाई एकदमै मूर्ख व्यक्तिको सङ्ज्ञा दिएका थिए।

ब्रिटिश सरकारले भने आफ्ना राजदूतका टिप्पणी सहितका कैयौँ सन्देश चुहिएको विषयमा औपचारिक छानबिन गर्ने घोषणा गरेको छ।

तर आफूले सबैखाले अडकालबाजी रोक्न चाहेको बताउँदै इमेल सार्वजनिक भएपछि राजदूतको रूपमा काम गर्न “असम्भव” भएको उल्लेख गर्दै डारकले पदबाट राजीनामा दिएका थिए।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage