scheduleमगलवार आश्विन २८ गते, २०७६

बाबुरामको बसका यात्री

मान्छेका कथा
  • सुधीर नेपाली

पछिल्लो समयमा देवेन्द्र पराजुली र कल्पना धमलालगायतका सहयोगीहरुले डा. बाबुराम भट्टराईलाई छाड्नुभयो । त्यसभन्दा अघि करिष्मा मानन्धरले छाड्नुभएको थियो, डा. बाबुरामलाई । बाबुरामले करिष्मालाई कति महत्व दिनुभएको थियो भन्ने त गत निर्वाचनमा नयाँ शक्तिको तर्फबाट समावेशी उमेदवारको सूचीमा करिश्मालाई एकनम्बरमा राखेको भनी डा.भट्टराईका सहयोगी विश्वदीप पाण्डेले फेसबुक स्ट्याटसमा लेखेबाटै प्रस्ट हुन्छ ।

देवेन्द्र, कल्पना र करिष्मा कसैले पनि बाबुरामलाई छाड्दा उहाँलाई गाली गर्नुभएको छैन । उहाँहरुले आफ्ना अभिव्यक्तिमा डा. भट्टराईलाई सम्मानै गर्नुभएको छ । बढीमा डा. भट्टराईसित उहाँहरुले गुनासो गर्नुभएको छ । आफूले त्यतिधेरै आशा गरेका व्यक्तिसित गुनासो गर्नुलाई अन्यथा भन्न नमिल्ला ।

तर, डा. भट्टराईले देवेन्द्र, कल्पना र करिष्मा लगायतका आफ्ना पूर्वसहकर्मीलाई आफ्ना अभिव्यक्तिमा अपमान गर्नुभएको छ । करिष्मा दिज्यूले एउटा भिडिओअन्तर्वार्तामा गुनासोमात्रै के के गर्नुभएको थियो उहाँविरुद्ध आफ्ना सहयोगीमार्फत् सानोतिनो भण्डाफोर नै गर्न लगाउनुभयो डा. सापले । भर्खर एसईई पास गरेर खुसीयाली मनाइरहेकी पूर्वसहकर्मी करिष्मालाई बधाई दिने सभ्यता पनि प्रदर्शन गर्नुभएन उहाँले ।

देवेन्द्र र कल्पनाले त विगतमा युद्धकालीन माओवादी भित्र डा. बाबुराम भट्टराईप्रति सहानुभूति राखेकै कारण सुराकीको आरोपमा चरम मानसिक र शारीरिक यातना भोग्नुपरेको थियो । पार्टीभित्र डा. बाबुराम भट्टराईलाई पनि कारबाही भएको थियो, तर उहाँलाई कसैले शारीरिक यातना दिएको थिएन ।

आफूलाई छोड्नेलाई डा. भट्टराई थाकेका, गलेका मान्छे भन्ने गर्नुहुन्छ । उहाँ आफ्नो पार्टी मान्छेले एकपछि अर्को गरी छाड्दै गएको परिघटना बुझ्न ‘बसका यात्री’ एनालोजी वा उपमाको प्रयोग गर्नुहुन्छ । उहाँको भनाई के छ भने गन्तव्यमा नपुगिन्जेल मानिसहरु उक्लने र झर्ने क्रम चलिरहन्छ, सार्वजनिक बसमा ।

डा. बाबुरामद्वारा उपयोग गरिएको ‘बसका यात्री’ प्रयोग किन गलत छ भने बसका यात्रीले एकअर्कालाई चिनेका हुन्छन् भन्ने हुँदैन । अर्को मानिससित बोलचालै नभए पनि, चिनजानै नभए पनि बसको सहयात्री हुन सकिन्छ । तर, एउटा समितिमा सँगै काम गर्नेहरुले एकअर्कालाई चिनेका हुन्छन् । एउटा संगठनमा एउटै तहमा काम गर्नेबीचमा सम्बन्धहरु हुन्छन् । हाम्रा संगठन, परिवार वा समाज मान्छेहरुबीचका मानवीय सम्बन्धले बनेका हुन्छन् ।

सायद देवेन्द्र, कल्पना र करिश्माले बाबुरामले हामीसित सम्मानपूर्ण र मानवोचित सम्बन्ध राखून् भन्ने चाहनुहुन्थ्यो । सायद उहाँहरुले बाबुरामसितको आफ्नो सम्बन्ध बसका अन्जान यात्रीबीचको सम्बन्ध जस्तो होइन, त्योभन्दा गहिरो हो भनेर पो बुझ्नुभएको थियो कि?

डा. भट्टराईले आफ्नो पार्टी छाडेपछि महिला नेत्री मनु हुमागाईंलाई त तस्विरै राखेर फेसबुकका भित्तामा अपमान गर्नुभएको छ ।

उहाँहरुलाई भाग खानको लागि सत्ताधारी दलमा प्रवेश गरेको आशयको आरोप लगाउनु भएको छ ।

तर डा. भट्टराईले अब एउटा कुरा नबुझी नहुने भएको छ । नेपालमा गणतन्त्र स्थापनाको लागि नेपाली जनताका छोराछोरीको ठूलो बलिदान, त्याग र तपस्या भएको छ । त्यो बलिदानीबाट डा. बाबुराम भट्टराई र पुष्पकमल दाहालमात्रै प्रधानमन्त्री बन्नु भएको छ । आफूलाई प्रधानमन्त्री बनाएकोमा सहिद, घाइते र आज सडकछाप भएका आफ्ना सहयात्रीलाई उहाँहरुले पर्याप्त कृतज्ञता व्यक्त गर्नुभएको छैन ।

किनभने प्रचण्ड र डा. भट्टराईबीच अझै पनि गणतन्त्र ल्याउने तँ कि म भनेजस्तो प्रकारको झगडा छ । तर सत्य कुरा के हो भने गणतन्त्र ल्याउन यहाँ धेरै रगत र आँसु बगेको छ । प्रचण्ड र भट्टराईले बगाएको त पसिना मात्रै हो । रगत र आँसुसित पसिनाको कहिल्यै तुलना हुनसक्दैन । तर, परिवर्तनबाट प्राप्त फाइदा विगतमा सबभन्दा बढी प्रचण्ड र उहाँको परिवार र त्यसपछि डा. भट्टराईले नै आफ्नो झोलीमा हाल्नुभएको छ ।

देवेन्द्र, कल्पना, मनु र करिष्माको एउटा सानोतिनो भूमिका निर्वाह गरेर सम्मानसाथ जीवन धान्ने धोको होला । तर, उहाँहरुले कहिल्यै प्रधानमन्त्री पद मैले पनि पाउनुपर्छ भन्नुभएको छैन । त्यसकारण, उहाँहरुलाई ‘जता काफल पाक्यो, उतै चरी नाँच्यो’ भनेर अपमान गर्न मिल्दैन ।

डा. भट्टराईसित मेरो मनमा पनि ठूलो आशा थियो । उहाँ धेरै ठूलो विद्वान हुनुहुन्छ भन्ने हामीलाई लाग्थ्यो । डा. भट्टराई माओवादी आन्दोलनमा नलागेको भए हामीजस्ता धेरै मान्छे त्यो आन्दोलनमा सहभागी हुने थिएनौं ।

तर, डा. भट्टराईको बौद्धिक गाग्रोको आधा भाग रित्तै रहेछ । उहाँबाट आउने छुद्र वाक्य र शब्दहरु गाग्रोको त्यही रित्तो भाग बजेर आएको हुनुपर्छ ।
त्यो आधा रित्तो भनेको के भने सायद न्यायको बारेमा डा. भट्टराईको अध्ययन निकै फितलो छ । अनि भावनाविना न्यायको कल्पना पनि गर्न सकिन्न भन्ने उहाँलाई बोध भएको छैन ।

जनयुद्धमा माओवादीतर्फ नै १२ हजारभन्दा बढी सहिद भए । तर, आज उहाँ आफ्ना ती सहिदहरुको सम्झनामा वर्षमा एकदिन सहिद दिवस मनाउनुहुन्न । गाउँ गाउँमा उहाँको पार्टीका कमिटीहरु सहिदका आफन्तको सम्मानमा कुनै कार्यक्रम गर्दैनन् । जनयुद्ध पदावली प्रयोग गर्नुहुन्छ तर आफैंले सुरु गरेको जनयुद्ध दिवस मनाउनुहुन्न ।

पूर्व एमालेले झापा आन्दोलन गल्ती थियो भने पनि झापा आन्दोलनका सहिदको सम्मान गर्न कहिल्यै छोडेको छैन । यदि डा. भट्टराईलाई जनयुद्ध एउटा भड्कावको उपज हो भन्ने लागेकै हो भने पनि पवित्र उद्देश्यले परिवर्तनका लागि बलिदान गर्नेहरुको सम्मान गर्न केहीले छेक्दैन भन्ने त केपी ओलीले प्रधानमन्त्री भएपछि झापा आन्दोलनका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेबाट पनि प्रस्ट हुन्छ । डा. भट्टराईले पनि केपी ओलीको बाटो अनुसरण गर्न सक्नुहुन्छ ।

जनयुद्ध सही थियो पनि भनिरहने तर आफ्ना पूर्व सहकर्मीलाई अलपत्र पारेर आफ्नो बाटो तताउने डा. भट्टराईको हिजोको कदम गलत थियो भन्ने अब प्रमाणित भइसकेको छ ।

ढिलै भए पनि डा. भट्टराईले समाज र राजनीतिमा मान्छेहरुबीचको सम्बन्धबारे अलिकति पुनःविचार गरिदिए उहाँको पनि कल्याण होला । जति उहाँसित बचेखुचेका साथीहरु हुनुहुन्छ, उहाँहरुको पनि कल्याण होला भनेर यो सानो टिप्पणी मान्छेका कथाहरु स्तम्भमा गरेको छु ।

कसैले तपाईंकोसम्म यो टिप्पणी पुर्‍याइदियो भने छद्म नामधारी भनेर मलाई गाली नदिनुहोला ।

क्रमशः

मान्छेका कथाहरुको हत्याको विरोधमा

छोरीको कुकुर पाल्ने रहर र हजुरबाको सपनाको घर

को असल ? को खराब ? खुट्याउन निकै गाह्रो छ, छोरी !

(सुधीर नेपाली लेखकको वास्तविक नाम होइन तर, उनले लेखेको कथा उनको जिन्दगीको वास्तविक कथा हो । ‘मान्छेहरुको कथा‘ साझापोस्टमा हरेक सोमबार प्रकाशित हुनेछ)

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage