scheduleआइतवार भाद्र ८ गते, २०७६

झन्डै चार सय विद्यालयले नयाँ भवन नपाउने

काठमाडौँ, ३१ असार ।  जग्गाको स्वामित्व र क्षेत्रफल अभाव भएका कारण भूकम्प प्रभावित ३१ जिल्लाका झन्डै चार सय विद्यालयले नयाँ भवन नपाउने भएका छन् । भूकम्पका बेला रातो स्टिकर लगाइएका ती विद्यालयले नयाँ भवन नपाउने भएपछि तिनै भवनमा अहिले पठनपाठन भइरहेको छ ।
विद्यालय आफैँले जग्गा व्यवस्थापन गर्न सक्ने अवस्थामा छैनन् । स्थानीय सरकारले उनीहरूलाई मापदण्डअनुरूपका जग्गा उपलब्ध गराइदिएमा आफूहरूले नयाँ भवन निर्माण गरिदिने जानकारी केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का पदाधिकारीले दिनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतको एकाइले नयाँ विद्यालय भवन निर्माण गर्ने गरेको छ ।
यट्खाको कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपीचन्द्र पौडेलले जग्गा थप्न सक्ने अवस्था नरहेको र रातो स्टिकरलाई छोपेर त्यही भवनमा कक्षा सञ्चालन गर्दै आइरहेको जानकारी दिँदै भन्नुभयो, “विद्यालय भवन देखेर कोही भर्ना हुन चाहँदैनन् । बल्लतल्ल केहीलाई खोजी गरी ल्याएका छौँ । पुनः भूकम्प गएर भवन भत्किएमा ठूलो क्षति हुने छ । त्यो अवस्था सिर्जना नहोस् भनेर चिन्ताले निकै सताउँछ । ”
साढे तीन आना जग्गामा पाँच तला विद्यालय भवन रहेको सो स्थानमा हालको मापदण्डअनुरूप नयाँ भवन निर्माण गर्नुपरेमा एउटा कोठाका लागि पनि जग्गा पुग्दैन । यस्तै अवस्था छ बालाजुको बालकल्याण आधारभूत विद्यालयको । सो विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार शर्मा मुडभरीले तीन आना जग्गामा बनेको विद्यालय भवनले रातो स्टिकर पाए पनि नयाँ भवन निर्माण हुन नसक्दा त्यही भवनमा पठनपाठनलाई निरन्तरता दिनुपरेको गुनासो गर्दै भन्नुभयो, “लालपुर्जा पनि छैन, जग्गा पनि पर्याप्त छैन, जोखिममा पढाइरहेका छौँ । ”
काठमाडौँमा २६ वटा विद्यालय, ललितपुरमा २७ वटा विद्यालय र भक्तपुरमा २५ वटा विद्यालयले जग्गा र लालपुर्जा अभावले नयाँ भवन पाउन सक्ने अवस्था छैन । नेपाल अभिभावक महासङ्घका संयोजक सुप्रभात भण्डारीले विद्यार्थीलाई जोखिमयुक्त भवनमा पढाउन पाइँदैन भन्दै रातो स्टिकर पाएका भवनबाट हटाएर अन्यत्र सार्नुपर्ने बताउनुभयो ।  गोरखापत्रमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage