scheduleबुधवार भाद्र ४ गते, २०७६

प्रतिबन्धित नेकपाले सरकारी गाडी गुडाउन प्रतिबन्ध लगाउने


काठमाडौं, १ साउन । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले सरकारी गाडीलाई सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेको छ । बुधबार मध्य पश्चिम कमाण्ड ईन्चार्ज वीरजंगले एक विज्ञप्ति जारी गर्दै राज्यको कदमका विरुद्ध साउन ७ गतेदेखि सेतो नम्बर प्लेटका सम्पूर्ण गाडीहरु सडकमा गुड्न प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।

नेता वीरजंगले प्रतिक्रियावादी सत्ता र जनसत्ता बीचको मोर्चाबन्दी झन् कसिलो बन्दै गइरहेको उल्लेख गरेका छन् । ‘राजनीतिक लडाईंको मोर्चामा हारेको विरोधी सत्ताले हाम्रा नेता कार्यकर्ताहरुलाई गैरन्यायिक गिरफ्तारी, दमन, यातना तथा हत्यासम्मका घटनाहरु घटाएको छ,’ मध्य पश्चिम कमाण्ड इन्चार्ज वीरजंगले विज्ञप्तिमा भनेका छन्, ‘यसरी हत्या आतङ्क, गिरफ्तारी, दमन र बलात्कारसम्मले पनि आन्दोलनलाई ठेगान लगाउन नसकेपछि वार्ताको भ्रमपूर्ण बकवास गोयबल्स शैलीमा फैलाएको छ र थप दमनको तयारी गरिरहेको छ ।’

जनताको गाउँ–गाउँमा सिंहदरवारको नारामा गठित कथित सरकारद्वारा चर्को कर असुल्ने र जनतामाथि नै दमन अभियान संचालन गरेर जनपक्षीय आवाजहरुलाई बन्द गर्ने काम भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘कथित जनप्रतिनिधिहरु नै ठेक्का पट्टामा सामेल हुने, आफ्नै टिप्पर, ट्रक, ट्याक्टर र स्काभेटर प्रयोग गर्दै राज्यको सम्पत्ति दोहन गरिरहेका छन् । साथै कतिपय कथिन जनप्रतिनिधिहरु नै जनहत्यारा अभियानमा सुराकीको भूमिका खेलिरहेको हुनाले हाम्रो पार्टीले आगामी दिनमा ती सबै हर्कतहरु बन्द गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘मुक्तिकामी श्रमजीवी जनताको पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ता हत्या गर्ने, हिरासतमा राखि यातना दिने तथा शान्तिपूर्ण भेला सम्मेलनहरु गर्न नदिने राज्यको कदमका विरुद्ध आगामी २०७६ साउन ७ गतेदेखि सेतो नम्बर प्लेटका सम्पूर्ण गाडीहरु सडकमा गुड्न प्रतिबन्ध गरिएको छ ।’

आफ्नो घोषणा कार्यान्वयन गराउन नेता वीरजंगले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘उक्त निर्णयका विरुद्ध जनविरोधी कार्य गरे र गराएमा जनताले नियन्त्रणमा लिई कारवाही चलाउने कुरा जानकारी गराउँदै पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरु सोही निर्णय अनुसार अगाडी बढ्नसमेत यो वक्तव्य मार्फत् जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage