scheduleशनिवार भाद्र ७ गते, २०७६

लोकसेवाका परीक्षार्थी अलपत्र, बास खोज्न सिडियो र डिएससी आफैं खटिए

डोटी, ३ साउन । लोक सेवा आयोगले स्थानीय तहका लागि खोलेको विभिन्न पद र तहको परीक्षामा  सहभागी हुन डोटीमा ६ हजारभन्दा बढी परीक्षार्थी पुगेका छन् । तर परीक्षार्थीहरु बस्ने ठाउँ नपाएर अलपत्र परेको अवस्था छ ।

त्यसैले लोकसेवा परीक्षा दिन डोटी पुगेका परीक्षार्थीले बस्ने ठाउँ नपाएको गुनासो गरेपछि डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल तथा प्रहरी प्रवक्ता (डीएसपी) लालबहादुर धामी परीक्षार्थीको बास खोज्न आफैँ खटिएका छन् ।

मुलुकको विभिन्न क्षेत्रबाट लोक सेवाको परीक्षा दिन डोटी पुगेका परीक्षार्थीलाई बस्नका लागि होटलको अभाव भएपछि सिडियो पौडेल बास बस्ने व्यवस्था मिलाउन आफैँ खटिएका हुन् । अलपत्र परेका केही परिक्षार्थीलाई खाली रहेका विभिन्न सरकारी कार्यालय संघ–संस्थाका कार्यालयहरुमा बस्ने व्यवस्था गरिएको  प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन् ।

‘परिक्षार्थीको संङ्ख्या बढी भयो, होटल कमै मात्रामा छन्, उनीहरुको बासका लागि मैले आफैँ गएर यहाँका विभिन्न सरकारी कार्यालय तथा संघ–संस्थाका कार्यालयमा बस्ने व्यवस्था मिलाएको छु, अब सबैले बास पाउनु हुनेछ’, पौडेलले भने ।

प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीसहितको टोलीले जिल्लाको राजपुर, पिपल्ला, एयरपोर्ट र सिलगढीका विभिन्न स्थानहरूमा अनुगमन गर्नुका साथै परीक्षार्थीको बसाइ व्यवस्थापन र सुरक्षा व्यवस्था मिलाउन समन्वय गर्दै आफैँ खटिएका छन् ।

त्यस्तै, परीक्षार्थीको बासको व्यवस्थापनमा दिपायल सिलगढी नगरपालिका, नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना, नेपाल प्रहरी, डोटी उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सलगायत सबैले सहयोग गरिरहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage