scheduleआइतवार भाद्र १ गते, २०७६

अस्पतालको फोहोरबाट खाना पकाउने ग्यास

काठमाडौँ, ५ साउन । भएभरका फोहोर एउटै डस्टबिनमा फाल्ने संस्कारले फोहोर व्यवस्थापनमा चुनौती हुने गरेको छ । फोहोरको समस्या कहिल्यै समाधान नहुने मुख्य कारण पनि त्यही हो भन्छन्– फोहोर व्यवस्थापनमा काम गरिरहेका विज्ञहरू । फोहोरलाई स्रोतमै छुट्याउँदा जोखिमयुक्त फोहोरसमेत आम्दानीको दरिलो माध्यम बन्ने अनुपम उदाहरण बनेको छ शिक्षण अस्पताल ।

अस्पतालबाट निस्कने जोखिमयुक्त फोहोरलाई पनि प्रभावकारी ढङ्गमा व्यवस्थापन गरी विगत दुई वर्षदेखि अस्पतालले प्रतिमहिना ४० देखि ४५ हजार रुपियाँसम्म आम्दानी गरिरहेको छ । दुईवटा चुलो निरन्तर बल्ने बायोग्याससमेत उत्पादन गर्दै आएको छ । नेपाल हेल्थ केयरको प्राविधिक सहयोगमा अस्पतालको १९ वार्डमा मात्र सञ्चालित फोहोर व्यवस्थापनको सफल नतिजाको प्रतिफल हो त्यो ।

अस्पतालको मिर्गौला उपचार गरिने नेफ्रो (मोडेल वार्ड)को काउन्टर अगाडि लहरै कालो, रातो, नीलो, हरियो र गाढा नीलो रङको डस्टबिन लहरै राखिएका छन् । ती डस्टबिनमा नेपाली र अङ्गे्रजी भाषामा खाना, फलफूल, प्लास्टिक, कागज र पानीका बोतल छुट्ट्याएर राख्ने भनेर लेखेरै राखिएका छन् । त्यसको सीधामाथि भित्तामा हरेक डस्टबिनमाथि पढ्न, लेख्न नसक्नेका लागि चित्रसहित स्टिकर टाँसिएका छन् ।

त्यसैगरी रातो सानो डस्टबिनमा टिस्युपेपर मात्र । यी सबै डस्टबिन त्यहाँ उपचारका लागि भर्ना भएका बिरामी र तिनका कुरुवाले प्रयोग गर्छन् । विशेषगरी रातो डस्टबिनमा चाहिँ सङ्क्रमण फैलाउन सक्ने सम्भावना भएको जोखिमयुक्त फोहोर मात्र राख्नुपर्ने व्यवस्था छ । वार्डको भित्र पनि त्यसैगरी डस्टबिन लहरै राखिएका छन् ।

सो वार्डका इन्चार्ज निरी जिरेल भन्नुहुन्छ, “सुरुमा वार्डको काउन्टर अगाडि नै फोहोरका डस्टबिन राख्ने भन्ने कुराले आफूलाई गन्हाएर बसिनसक्नु हुन्छ कि भन्ने चिन्ता लागेको थियो । ” फोहोर व्यवस्थापनको तालिमपछि काम थाल्दा त ज्यादै सजिलो र वार्ड नै चिटिक्क परेको अनुभवले फोहोर व्यवस्थापनको यो विधि ज्यादै प्रभावकारी भएको भनाइ जिरेलको छ । कुल ३४ बेडको त्यस वार्डबाट फोहोर व्यवस्थापन थालेर १९ वार्डसम्म पुगेको छ । गोरखापत्र दैनिकमा शिवा तामाङले खबर लेखेकी छिन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage