scheduleमगलवार आश्विन २८ गते, २०७६

प्रचण्ड र विप्लवसित भेटका ती दुई क्षण

मान्छेका कथा
  • सुधीर नेपाली

समय आजभन्दा सत्र वर्षपहिले हुनुपर्छ । ठाउँ रोल्पा वा रुकुमको कुनै गाउँ । भर्खरका युवायुवतीहरु चौरमा लाइनमा उभिएका थिए । सायद उनीहरुलाई परेड खेलाइँदै थियो । ती युवायुवतीको अगाडि चौरमा एउटा मञ्च खडा गरिएको थियो । रातो रङका कपडाले बेरिएको बाँसले बनेको मञ्च ।

निलो सर्टमा रातो टाइजस्तो कुनै कपडाको टालो घाँटीमा बाँधेको एउटा जुँघे मान्छे त्यो मञ्चमा आयो र उसले भाषण गर्न सुरु गर्‍यो । बोल्दाबोल्दै त्यो मान्छे मञ्चबाट तल झर्‍यो । अनि हात मच्चाइमच्चाई जोसिलो र उरन्ठेउलो पाराले आफ्ना कुरा राखिरह्यो ।

छेउमा उभिएको कसैले मेरा कानमा आएर भन्यो, ‘उहाँ हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी)का श्रद्धेय अध्यक्ष हुनुहुन्छ ।’ तर, त्यो मान्छे मलाई मन परेन । त्यो मान्छे मलाई उरन्ठेउलो लाग्यो । अझ त्यो भन्दा बढी मैले त्यो मान्छेको अनुहारमा इमान्दारी कम र चतुर्‍याइँ बढी देखेँ ।

समय एक महिना पहिले हुनुपर्छ । स्थान रोल्पा वा रुकुम कुनै एक जिल्लाको लेक हुनुपर्छ । त्यो भोजपुर वा कालिकोटको लेक पनि हुनसक्छ । घण्टौं लामो उकालो चढेपछि, अनि थुप्रै बन्दूकधारीको चेकजाँज पार गरेपछि, चारजना जनसेनाले पहरा दिएको एउटा गेट खोलेर डाँडाको टाकुरमा रहेको समथर हरियो चौरमा पुगेँ । त्यो चौर पार गरेपछि हरियो टिसर्ट लगाएर केही साथीसित छलफलमा जुटिरहेका एकजना व्यक्ति भेट भए । उनले दह्रोसित हात मिलाए । उनको मुहारमा गम्भीरताको भाव थियो । अनि उनले सुरुमै भने, ‘तपाईंले धेरै पहिले लेख्नुभएको एउटा लेख मलाई अझै पनि याद छ ।’

व्यक्ति हाल प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ थिए ।

खासमा यी दुईटै घटना यथार्थ होइनन् । मैले १७ वर्षको अन्तरालमा देखेका यी दुइटा सपना हुन् । मलाई मेरो अवचेतन दिमागले देखाएका भिडिओचित्र हुन् भनौं, राति सुतिरहेको बेला ।

प्रचण्डलाई सपनामा देखेको बेला म उनको निकै प्रतिबद्ध कार्यकर्ता थिएँ । त्यो सपनाले मलाई निकै लामो समय गिजोलेको थियो । आफ्नो श्रद्धेय अध्यक्षबारे यस्तो सपना मैले कसरी देख्न पुगेँ? कतै म भित्र अवसरवाद र संशोधनवाद हुर्कँदै गरेकोले मैले त्यस्ता महान क्रान्तिकारीलाई त्यो रुपमा देखेको त होइन? यस्तो वाहियात सपना देख्ने म कहिल्यै क्रान्तिकारी नहुने त होइन? म पनि ट्राटस्की, बाकुनीन वा लिन प्याओजस्तै गद्दार बन्ने त होइन? मलाई भित्रभित्रै अपराधबोध भयो, त्यस्तो सपना देखेकोमा । मलाई डर पनि लाग्यो आफ्नो क्रान्तिकारी भविष्यको बारेमा ।

आज विप्लवलाई सपनामा देखेको समयमा म कुनै राजनीतिक दलमा आबद्ध छैन । मेरो चेतन मनले भन्छ, विप्लवको एकीकृत क्रान्ति, माओवादी क्रान्तिजस्तै अर्को एउटा ‘फ्यान्ट्यासी’ हो । यद्यपि विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाले विगतमा प्रचण्डको नेतृत्वको नेकपा(माओवादी)ले जस्तो व्यक्तिहत्याको घोषित नीति लिएको छैन । तर, विप्लव जुन बाटोतर्फ सोझिएका छन्, त्यसले प्रतिरोध र बदलाका नाममा विगतको इतिहास नदोहर्‍याउला भन्न सकिन्न ।

अनि विद्यावारिधिको सोधको क्रममा मैले पढिरहेका सोधहरुको निष्कर्षले भन्छ- प्रजातन्त्रको स्थापना भैसकेको मुलुकमा राजनीतिक हिंसाको औचित्य कहिल्यै प्रमाणित हुनसक्दैन । जसरी प्रचण्ड र बाबुरामले विगतमा लिएको व्यक्तिहत्याको नीतिको औचित्य उनीहरुले अहिलेसम्म प्रमाणित गर्न सकेका छैनन् ।

तर, मेरो अवचेतन मनभित्र विप्लवप्रति एउटा सम्मानको भाव रहेछ । मैले सपनामा देखेको विप्लवको अनुहारमा त्यसरी नै १७ वर्ष पहिले सपनामा देखेको प्रचण्डको अनुहारमा जस्तो छट्टुपन देखिनँ । त्यसको ठीक विपरित, गम्भीरता देखेँ । मैले सपनामा देखेको विप्लवमा, धेरै पहिले सपनामा देखेको प्रचण्डमा जस्तो टाई मोह देखिन । विप्लवलाई मैले हरियो गञ्जी र जाँघेको पैरनमा देखेँ ।

सपना सही हो कि विपना? चेतन मन सही हो कि अवचेतन? यी दुई सपनाले मेरो सपना र विपनासम्बन्धी, चेतन मन र अवचेतन मनबारेको विश्वासलाई हल्लाइदिएका छन् ।

हाम्रो विगतको विपना नै आज सपना जस्तो भएको छ । कुनै एउटा दुःस्वप्न जस्तो । ती दिनहरु अझै पनि मीठा लाग्छन् । फौजी पोशाकमा बन्दूक बोकेर देश र जनताको लागि लडेका ती दिन । तर, हामी देश र जनताका लागि नै लडेका थियौं कि हामीलाई देश र जनताका लागि लडेकोजस्तो गहिरो विश्वास मात्रै परेको थियो । अथवा हाम्रो कलिलो मस्तिस्कमा कृत्रिम रुपमा तयार गरिएका काल्पनिक सत्य र तिनका वरिपरि निर्माण भएका कथा र पाठहरुले हामीलाई एउटा ‘फन्ट्यासी’को लागि लड्न र मर्न तयार बनाएका थिए?

यी प्रश्नको जवाफ खोज्न आज म सात समूद्रपारि आइपुगेको छु ।

हामी अमृत कलेज पढ्दै थियौँ । हाम्रो दुनियाँमा सबै ठीकठाकै थियो । बाआमाले खर्च पठाउनुभएकै थियो । तर, हामीले किन सर्टिफिकेट जलायौं? अनि किन एउटा यस्तो यात्रामा निस्कियौं, जहाँ हाम्रो पूरा जीत भएको भए सायद हामी अलिकति आलोचनात्मक चेत भएकाहरु आफ्नाहरुकै हातमा मारिन सक्थ्यौं । हाम्रो आधा जीत भयो त्यसैले कम्तीमा हामी आलोचकहरु आधा जीउन सफल भएका छौं । उनीहरुले हामीलाई देशमा बस्न नसक्ने बनाएका छन् तर उनीहरुले स्टालिनले आफ्ना विरोधीलाई सिद्धयाएजस्तो हामीलाई गोली ठोक्न पाएका छैनन् ।

हाम्रो यो आधा जीतले कम्तीमा मजस्ता आलोचकलाई अर्धजीवितै भए पनि जीवन दिएकोमा म दङ्ग छु । यो नाफाको जीन्दगी वरिपरि मान्छेका कथा लेख्ने अवसर पाएकोमा धन्य छु ।

क्रमशः

मान्छेका कथाहरुको हत्याको विरोधमा

छोरीको कुकुर पाल्ने रहर र हजुरबाको सपनाको घर

को असल ? को खराब ? खुट्याउन निकै गाह्रो छ, छोरी !

बाबुरामको बसका यात्री

(सुधीर नेपाली लेखकको वास्तविक नाम होइन तर, उनले लेखेको कथा उनको जिन्दगीको वास्तविक कथा हो । ‘मान्छेहरुको कथा‘ साझापोस्टमा हरेक सोमबार प्रकाशित हुनेछ)

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage