scheduleशनिवार भाद्र ७ गते, २०७६

रातारात लखपति बन्ने लोभले प्रहरी खोरमा पुर्‍यायो

काठमाडौं, ७ साउन । झापामा व्यापारीलाई झुक्याएर फिरौती माग्ने ४ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय विर्तामोडको टोलीले बिर्तामोड–४ मा व्यवसाय गर्दै आएका एक व्यापारीलाई ‘हनिट्रयाप’मा पार्दै ४० लाख रकम फिरौती माग्ने १ महिलासहित चारजनालाई पक्राउ गरेको हो  ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–४ का २९ वर्षीय मेराज, बिर्तामोड चारपाने बस्ने २० वर्षीया रितु फियाक लिम्बु, भारत पश्चिम बंगाल दार्जिलिङ खोरिबारीका सुजन शंकर र बिर्तामोड–४ का प्रकाश दास छन् । झापाका एक व्यापारीलाई रितु फियाकमार्फत फसाएर ४० लाख फिरौती मागेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

यसरी फसाएका थिए व्यापारीलाई

प्रहरीका अनुसार यही असार २८ गतेदेखि रितुले आफ्नो फेसबुकमा ‘जया खान’ नामको फेक आईडी बनाएर एक व्यवसायीलाई इमो र मोबाइलमा फोन गर्न थालिन् । केही दिन कुराकानी गरेपछि ती व्यापारी रितु उर्फ जियासँग नजिक हुँदै गए ।

जियाले साउन १ गते ती व्यापारीलाई बिर्तामोड–४ स्थित कुमारी बैंक छेउमा भेट्न बोलाइन् । व्यापारी रितुलाई भेट्न आए । सोही बेला जियाले आफ्नो साथीको कोठामा जान भनेपछि व्यापारी र जिया कुमारी बैंकको छेउ नजिकै रहेको गल्लीभित्रको एक घरको माथिल्लो कोठामा गए ।

उक्त घरमा दुबैजना पुग्दा  रातको १० बजेको थियो ।

तर जिया र व्यापारी कोठामा प्रवेश गरेको केही समयपछि ३ जना युवाहरु कोठाभित्र पसे । हतियारसहित कोठामा प्रवेश गरेका उनीहरुले व्यापारीलाई कुटपिट गरे अनि शरीरमा लगाएका सबै कपडा खोलेर उनलाई नग्न बनाए । त्यसपछि उनीहरुले नग्न व्यापारीको भिडियो खिच्न सुरु गरे ।

भिडियो खिचि सकेपछि उनीहरुले साउन ५ गतेसम्म ४० लाख रकम नदिए उक्त भिडियो सामाजिक सञ्जालमा हाल्ने धम्की दिए । र कोठाबाट ४ जना निस्किए ।

ती व्यापारीलाई उनीहरुले दैनिक फोन गर्दै रकम माग्न थाले । व्यापारीले सुरुमा उक्त घटनाबारे कसैलाई पनि भनेनन् । तर अति भएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडको शरणमा पुगे ।

व्यापारीले दिएको सूचनाका आधारमा प्रहरी सक्रिय भयो र ४ जनालाई नै गर्‍यो ।

प्रहरीका अनुसार घटनामा प्रयोग भएकी रितु फियाक लिम्बुका अनुसार प्रतिवादी सन्जु क्षेत्री भन्ने सुजन शंकरले ती व्यापारीको मोबाइल नम्बर दिई कुरा गर्न लगाएका थिए । उक्त नम्बरमा रितुले जिया खान भन्दै ३–४ दिन भिडियो कल गरेपछि व्यापारी सजिलै फसे । भिडियो कलमा हेरेपछि दुबै जनाबीच हुने कुरा भयो ।

सुजनको निर्देशनमा नै कुमारी बैंक नजिकैको एक घरको कोठामा ती व्यापारीलाई लगिएको थियो । सुजनले नै कोठाको चाबी जियालाई दिएका थिए ।

प्रहरी अनुसन्धानबाट उक्त घरको चौथो तलामा रहेको कोठा प्रतिवादी मध्येका प्रकाश दासले ५ महिनादेखि भाडामा लिएको खुलेको छ ।

प्रतिवादी मध्येका सुजन शंकरले मुखमा मास्क लगाएर हातमा छुरी समेत लिई उक्त कोठामा आई पीडितलाई छुरी देखाई गाली गलौज तथा कुटपिट गरेको प्रहरीमा बयान दिएका छन् । ती व्यापारीसँग सुरुमा ५० लाख मागेको र बार्गेनिङ हुँदै जाँदा ४० लाख साउन ५ गतेभित्र दिने सहमति भएपछि उनलाई छोडिएको थियो ।

चारै जनाविरुद्ध शरीर बन्धक बनाई आपराधिक आर्थिक लाभ उद्योग गरेको तथा लागू औषधसम्बन्धी मुद्दा झापा जिल्ला अदालतमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

त्यस्तै सञ्जु क्षेत्री भन्ने सुजन शंकर २०७४ सालमा दुई जना महिलालाई जवरजस्ती यौन धन्दा (वेश्यावृत्ति) मा लगाएकोले मानव बेचबिखन तथा ओसारपसार मुद्दामा झापा जिल्ला अदालतबाट १० वर्ष कैद सजाय तोकिएकोमा हालसम्म फरार रहेका अभियुक्त समेत रहेको खुलेको छ ।

उनीहरुको साथबाट बा १५ च ७३३९ नम्वरको कार, स्कुफ लेखिएको १०० मिलिको शिलप्याक बोतल तीन थान, प्रोप्रानोल लेखिएको १ पत्तामा १५ चक्की, निट्रोसन १० लेखिएको १ पत्तामा ४ चक्की खाली भई ६ चक्की रहेको र कालो प्लास्टिककको पेस्तोल जस्तो देखिने वस्तु बरामद भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage