scheduleमगलवार आश्विन २८ गते, २०७६

बाँच्नै गाह्रो भो, भन्नोस् अब कुन पार्टी रोजौँ ?

बिनाराम खड्का

पार्टी र सांगठनिक आवद्धता छैन त यो देशमा केही छैन । राजनीतिमा नजोडिएको प्राणी मान्छे नै होइन । राजनीतिक संगठन विनाको मान्छे यो देशमा मतिहीन, गतिहीन, लफङ्गो, पङ्गु, दिशाहीन र निरुद्देश्य । विश्वास र अविश्वासको शुरुवात आफ्नो पार्टीको कि कुन पार्टीको भन्ने जिज्ञासाबाट शुरु हुन्छ ।

आफ्नो पार्टीको भएमा सबै कुरा सहजै सहज । आफ्नो पार्टीको नभएमा हरेक कुरा असहज र अप्ठ्यारो । तपाईं कहाँ हुनुहुन्छ ? त्यहाँ जति राम्रो काम गर्नोस् तर तपाईंको पार्टी मिलेन, तपाई रद्दीको टोकरीमा फाल्टु र लिलामी । तपाई जति नराम्रो गर्नोस् या केही गर्दै नगर्नोस्, तपाईंको पार्टी मिल्यो भने तपाईं त त्यहाँको हिरो र नायक । हाइहाइ र स्याबासी । अनि परेन फसाद ! के गर्ने के नगर्ने ! पार्टी मिलेन त केही मिलेन । पार्टी मिल्यो त सब मिल्यो ।

त्यसैले मैले लामो चिन्तन, मन्थन र मानसिकरुपमा तीव्र उतारचढाव पछि सुझवुझकासाथ पुन: राजनीतिमै आवद्ध हुने निर्णयमा पुगेको छु ! कुनै एउटा दलको शरणमा, कुनै एउटा दलको घेरामा, कुनै एउटा दलको घरगोठमा, कुनै एउटा दलको बलेँसीमा, कुनै एउटा दलको छहारीमा, कुनै एउटा दलको संक्षणमा, कुनै एउटा दलको सम्पर्कमा, कुनै एउटा दलको आवरणमा, कुनै एउटा दलको बचाउमा, कुनै एउटा दलको पक्षमा, कुनै एउटा दलको समर्थनमा, कुनै एउटा दलको वकालतमा, कुनै एउटा दलको विकास र उन्नतिमा ! किनकी यहाँ दल बिना त बाँच्नै गाह्रो भो ! दलविनाका मान्छेका त कोही पनि समर्थक बाँकी रहेनन् । अन्तिममा जीवन लिलाको समापनमा मलामी नपाइएलान जस्तो भो । सबैको हुन खोजियो । साझा हुने प्रयत्न गरियो । कसैको भइएन । सबैको हुन खोज्दा झन् सबैबाट दुत्कारियो ।


बाटोमा भेट हुँदा सबैले मन्टो बटार्न थाले । सुने पनि नसुनेझैँ गर्न थाले । देखे पनि नदेखेझैँ गर्न थाले । ‘ऊ आयो स्वतन्त्र’ भन्दै गिज्याउन थाले । एक कानले सुनेर अर्को कानले उडाउन थाले ।
‘खुब्बै स्वतन्त्र विचार र अलग पहिचान भन्थिस् खाइस अहिले एकलकाँटे एक्ले बाँदर’ भन्न थाले । चौतर्फी श्राप र दुत्कारले अकालमै परलोक भइन्छ कि जस्तो शंका भो ।

पार्टीको पद विना फेरिएको श्वासमा पनि अविश्वास मडारिन थाल्यो । पार्टीको सदस्यता बेगर चालिएका कदम गहिरो भड्खालोमा भासिन थाले । हिँड्दाहिँड्दै चौबाटोको चौघेरोमा परिवन्दमा परिन्छ कि जस्तो संशय भो । कस्तो कस्तो असहज भो । कस्तो कस्तो अप्ठ्यारो भो ।
सँधै दायाँ हातले गमागम खाना खाने मान्छे देब्रे हातले खाना खाँदा भएको जस्तो अप्ठ्यारो भो । सँधै दुईटा खुट्टाले फटाफट हिड्ने मान्छे राजनीति विना त एउटै खुट्टाले लख्च्याक्क लख्च्याक्क खोच्याएजस्तो भो । न टेक्ने सहारा लठ्ठी । न अडिने बैशाखी । न आपत विपतमा कोही समाउने । न उक्लिंदा कोही हात दिने नै । सबै धकेल्ने मात्रै । सबै उछिट्याउने मात्रै । सबै हुत्याउने मात्रै । किनकी म कोही दलको रहेन । किनकी म कोही पार्टीको छैन । खाल्डामा परे भनेँ तान्ने कोही नई । कतै भुमरीमा परेँ भने उतार्ने कोही नई ।

संगठन विना एक्लै बोलिएको कुराको कुनै अर्थ रहेन नेपालमा । शिक्षक, कर्मचारी, पेशाकर्मीले राजनीति गर्नु हुँदैन, पार्टीमा लाग्नु हुँदैन भन्ने जनमत पनि ओझेलमा । प्रधान्यायधीश, न्यायधीश, मुख्य सचिव, सचिव, राजदुत, प्रहरी प्रमुख, संवैधानिक अङ्गका प्रमुख, पदाधिकारी, व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर राजनीति नै राजनीति ।

बिनाराम खड्का
तल वडा सचिवदेखि, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा, फाँट प्रमुखहरुमा पनि राजनीतिक विश्वास पात्रहरुकै बाहुल्यता । संघ, प्रदेश र स्थानीय तहतिर हुने सरुवा, बढुवा, जिम्मेवारी प्रदान लगायतमा राजनीति नै राजनीति ।

पेशागत संघ संगठनको नाममा आफ्नो संगठनमा आवद्धहरुको संरक्षण, बचाउ, सुविधा र सहुलित । आफ्नो संगठन इतर र स्वतन्त्रहरुलाई तोरी पेलान । घट्ट पिसान । सिलौटोमा चटनी र मिक्चरमा मसला पिसान झैँ घुमाउने, रिङ्गाउने, मिल्काउने, सुइक्याउने, गलहत्तयाउने ।

अख्तियार, छानविन समिति, न्यायिक समिति, सम्पत्ति सुद्धिकरण, सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान, गुप्तचर विभाग सबका सबतिर राजनीति । दलीय कार्यकर्ता भए हजारौँ खत पनि माफी, मुल्तवी र मिनाहा । दलइतर हुने वित्तिकै हाच्छ्युँ गरेको अभियोगमा समेत हत्कडी, जेलनेल, कष्टडी र चरम यातना ।

अनि आफु निकट मिडियाबाट दुष्प्रचार, सत्तोसराप, आरोपित र अपराधी करार । तिल पहाड पहाड तिल ।

ठूलठूला पेशागत संघ संगठनका पदाधिकारहरु आफ्नो सेवा, समुहमा सानै पद भए पनि आफु संलग्न संगठनको ठूलो पदको नाममा छाती फुल्याएर हालीमुहाली । हामीलाई कसले के गर्छ भन्दै दादागिरी । हामी त संगठनका पालिका, जिल्ला, प्रदेश, संघीय समितिका चल्तापुर्जा इन्चार्ज । हाम्रो त अन्तराष्ट्रिय संयन्त्र र च्यानल । हामी त दलका मान्छे । कसले हल्लाउने हामीलाई भन्ने भाव ।

संगठनको सदस्य, पदाधिकारी नभएकाहरु लुरुलुरु आफ्नै सानोतिनो जिम्माको काम खुरुखुरु । तर मुल्याङ्कन उनै पदाधिकारीहरुको । काम ठग्ने उनै । कामचोर उनै । गल्ती गर्ने उनै । छलकपट गर्ने उनै । नियम तोड्नै उनै । उनैलाई पुरस्कार । उनैलाई सम्मान । उनैलाई आसनग्रहण । उनैलाई स्वदेशमा वृत्तिविकास र बढुवा । उनैलाई विदेश भ्रमण र अनेक सहुलियत । हाइ हुइ गरेको छ । संगठनको नाम वेचेको छ । फाइफुइ चलाएको छ । यता हामी स्वतन्त्र भनाउँदा भुसुनाहरुलाई न कसैले पत्याउँछ । न कसैले निम्त्याउँछ । न कसैले उचालेको छ । न कसैले प्रोत्साहित गरेको छ ।

दल र संगठन नभएकै नाममा निरन्तर पछारिएको छ । निरन्तर अविश्वासको अगुल्टो कोचरिएको छ । निरन्तर पंगु बनाइएको छ । ‘तँ भैरेको के काम । तँ जस्ता पिउंसे मनुवा त कति हो कति । खुट्टा भए जुत्ताको के चिन्ता । काम गरे गर नगरे नगर । बस्ने भए बस । नबस्ने भए हिँड् । तँ मेरो अनुकूल काम गरुन्जेलसम्म ठीक । मेरो प्रतिकुल काम गर्न थालेदेखि तेरो जागिरीमाथि मात्र होइन जिन्दगीमाथि नै मृत्युको तरवार । बुझिस नाथे !’

राजनीतिक नपुगेको ठाउँ कहाँ छ ? जहाँ पुग्दैन रवि त्यहाँ पुग्दछ कविको उक्ति उल्टिसक्यो । जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ राजनीनि । जहाँ पुग्दैन बल त्यहाँ पुग्दछ दल । अभावमा, गरिबीमा, संकटमा, धनमा, मनमा, परिवारमा, चिया पसलमा, ब्यापारमा, व्यवसायमा, ठेक्का पट्टामा, उपभोक्ता समितिमा, निर्माण समितिमा, विद्यालयमा, शिक्षकमा, विद्यार्थीमा, अस्पतालमा, मन्दिरमा, जातमा, भातमा, भाषामा, धर्ममा, संस्कारमा, बोलिमा, गोलिमा, गाँसमा, बासमा, सहवासमा, उठिवासमा, आसमा, त्रासमा, लासमा, शासमा, जोगीमा, भोगीमा, पुजारीमा, मन्दिरमा, गुठीमा, विहारमा, गुम्बामा, चैत्यमा, मस्जिदमा, बाढीमा, पहिरोमा, बाँधमा, पुलमा, नहरमा, खेतमा, आलीमा, डालीमा, गालीमा, पानीमा, घाममा, उजेँलीमा, अँध्यारीमा, जुनेली रातमा, झिसमिसेमा, मध्यरातमा, मध्य दिउँसोमा, सुगन्धमा, दुर्गन्धमा, बिहानदेखि बेलुकीसम्म, रातीदेखि बिहानसम्म, निन्द्रामा, तन्द्रामा, काममा, छलछाममा, गर्भावस्थादेखि मृत्युपर्यन्त राजनीति ।
माया प्रिति, झैझगडा, वादविवाद, संघर्ष, एकता, मिलेमतो, काटमार, जाँडपानी जहाँ हेरौँ जता हेरौँ । जताकतै राजनीति । भुमन्डल, अन्तरिक्ष, ब्रम्हाण्ड सर्वत्र राजनीति ।

भकारोमा, कुखुरामा, बीउबिजन र मलमा, आँप, कागती र सुन्तलाका बेर्नामा, अस्पतालको टिकट काट्ने लाइनमा, बसमा अगाडिको सिटमा टिकट मिलाउन, बिरामी हुँदा एम्बुलेन्स प्रयोगमा, अस्पतालमा विज्ञ डाक्टरसँग चेक जाँच गराउन, पैसा तिरेर प्लेन चढ्न टिकट पाउन, खानेपानीको धारा पाउन, टेलिफोनको लाइन विस्तारमा, बिजुलीको पोल गाड्दा, लाइन तान्ने तारमा, होटलको नास्तामा, एककप चियामा, एक बोतल वियरमा, एक प्लेट मासुमा, पसलमा सामान किन्दा, जन्मँदा, विवाहमा, मलामीमा, दुःखमा, सुखमा, बधाईमा, श्रदाञ्जलीमा, शुभकामनामा, जितमा, हारमा, गोलमा, भद्रगोलमा, जेलमा, नेलमा, झेलमा, रुखमा, जरामा, हांगामा, पातमा, माटोमा, ढुङ्गामा, पानीमा, आगोमा, हँथौडामा, घनमा, हँसियामा, गिलासमा, बोतलमा, आँखामा, सूर्यमा, गाईमा, हलोमा, जाडोमा, चिसोमा, तातोमा, गीतमा, संगितमा, साहित्यमा, वाङ्गमयमा, फेसबुक र ट्वीटरमा राजनीति ।

खरानीमा, दिसा पिसाबमा, पसिनामा, रगतमा, नातागोतामा, इष्ट मित्रमा, बाटो घाटो, कुलो, कुलेसो, पानी, घट्ट, ढिकी, जाँतो, खोल्सा खोल्सी, बनपाखा, खोलानाला, जल, जंगल, हत्या, बलत्कार हरेक कुरामा राजनीति ।

जेल हाल्न राजनीति, जेलबाट छुटाउन राजनीति । अपहरणमा राजनीति । अपहरणमुक्तमा राजनीति । बन्दुक पड्काउन, द्वन्द चर्काउन, वार्तामा, सम्झौतामा, सम्झौता उल्लंघनमा, विश्वासमा, धोकामा, आडम्बरमा, षडयन्त्रमा, चाप्लुसीमा, पैसामा, पदमा, प्रतिष्ठामा, शक्तिमा, उत्थानमा, पतनमा राजनीति । विकास र विनासमा राजनीति । समाजका प्रत्येक कणमा राजनीति, जीवनका प्रत्येक पलमा राजनीति, शरीरका प्रत्येक कोषमा राजनीति, मन, मुटु, मष्तिष्क र रक्तसञ्चारमा राजनीति ।
अनि कसरी हुन सक्छु राजनीतिबाट मुक्त ? अनि म कसरी हुन सक्छु अलग्गै स्वतन्त्र !?

म पनि अरु जस्तै मानव । अरुजस्तै प्राणी । चलायमान सजीव । बिहान खाए साँझ खाली । साँझ खाए बिहान रित्तो हुने एकथान पेट । राम्रो मात्रै देख्न चाहने । अगाडीको सबै देख्ने पछाडि फिट्टु नदेख्ने दुईथान आँखा । आँसु, पीडा, भावुकता, दुःखी, खुसी र तरङ्गित हुने मन । आत्मा । भोक । भकारी । तिर्खा । तृष्णा । गला । गाला । टाउको । मष्तिष्क । फनफनी घुम्ने खुट्टा । जतातिर पनि फर्किने जिउ । हात । हत्केला । औँला । जिब्रो । नङ् । दाँत । गिँजा । रौँ । अरुको जस्तै सबै थोक । प्रधानमन्त्री, मन्त्री, नेता, सभासद्, ठूलठुलाहरुमा भएका सबै चिज यथावत् । तिनको भन्दा कुनै कुराको कमी छैन । माइक पाए म पनि घन्टौं भाषण ठोक्न सक्छु । कलम कापी पाए जति पनि सिद्धान्त छाँट्न सक्छु । के कमी छ म मा ति नेताभन्दा ? अगाडी बढ्ने रहर । प्रगति गर्ने धोको । पाए भने म पनि प्रधाननमन्त्री मात्र होइन राष्ट्रपति नै हुनसक्छु ।

अध्यक्ष, इन्चार्ज, सह इन्चार्ज, सचिव, विभागीय प्रमुख अनेकथरी हुनसक्छु । म किन पछि ? उनी किन अघि ? राजनीतिक दलको पुच्छर समात्ने वित्तिकै ति किन सुझवुझ भएका जिम्मेवार नागरिक ? राजनीतिको फेर छोड्ने वित्तिकै म किन लफङ्गो अनागरिक !?

अरुजस्तै आफ्नो पार्टी ठूलो र सत्तामा पुगेको हेर्न रहर । के गरु म ? कुन दलमा जाउँ ? जुन जुन दल मरिच झैँ सुक्दै जान्छन् तिनलाई परित्याग गर्दै जाउँ कि ! जताजता सुक्छ उतातिर छोडुँ कि ! जतातिर फुक्छ उतैतिर बुकुर्सी मार्दै कुदुँ कि !

छेपाराले रङ् फेरेझैँ कुन दलको पछि लागेर छाती फर्काएर हिडुँ ! गन्याउला झैँ पुच्छर टाउको नछुट्टिने गरी हिडुँ कि ! कुन दलको डटडटडट कमिटिको पावरफुल पदाधिकारी भन्दै शिर ठड्याएर हिँडु ! चुनाव सम्पन्न हुने वित्तिकै अरुलेझैँ साना पराजित दल छोडेर निर्वाचित ठुला दल बदलेर गालाभरी अविर र गलाभरी माला पहिरिउँ कि !

जता गयो उतै मानव लस्कर, जता बस्यो उतै प्रमुख अतिथि, हरेक पल फेर्ने श्वासमा राजनीति, सेकेन्ड सेकेन्डमा धड्किने मुटुको कम्पनमा राजनीति, आकाशमा, पातालमा, जमिनमा, पानीमा, आगोमा जहाजहाँ पुग्यो त्यहीँ राजनीति ! अध्यक्षको हातबाट रातो टिका निधारमा टलक्क टल्काएर दल प्रवेश !

हिजोसम्म सत्तोसराप गरेको, विपक्षी ठानेको दलकै दैलोमा पुगेर हिजोको परम सत्रु दलकै खाँटी कार्यकर्ता ! गर्ल्याम्मै अंगालो कसाकस !
द्वन्दवादको आफु अनुकूल ब्याख्या ! स्वादे जिव्रो अल्छे तिघ्रो ! अरुले प्रवेश र छोड्दा अवसरवादी धोकेवाजले सुशोभित ! आफुले त्यही गर्दा चाहिँ परिवर्तनशील वस्तुस्थिति ! परिवर्तित घटनाक्रमलाई आत्मसात गरेको रे !

एकातिर झिनामसिना, सानातिना, भुसतिघ्रे त्यान्द्रा, हराइरहेका, विलाइरहेका, भौँतारिरहेका, उछिट्टिएका, फुटेका टुटेका, फुट्न थालेका, चर्किएका, मक्किएका, जर्जर खन्डहर, अस्थिपन्जर, प्राणपखेरु उड्न थालेका, क्याप क्याप गर्नै, खुट्टा तन्काएर अन्तिम श्वास फेर्ने तरखरका, टुसाइरहेका बीउ, हुर्किरहेका बिरुवाजस्ता पार्टी ! जता समाउँ उतै बिझ्ने काँडैकाँडा ! जता गयो उतै आलोचना ! जतागयो उतै तिरष्कार ! जता गयो उतै निरीह एक्लै !

अर्कातिर लटरम्म फलेका फलधारी पार्टी ! फलैफलले लचक्क लच्किएका हराभरा हाँगा ! जता गयो उतै अविरयात्रा ! जतागयो उतै मालैमाला ! पदैपदको खानी ! जतागयो उतै खचाखच भिडभाड ! अब भन्नोस कुन पार्टी रोजौँ ?

जता काफल पाक्यो उतै चरि नाँच्यो ! जता खिर पाक्यो उतै जिब्रो फट्कार्यो ! जता केरा पाक्छन् उतै लामो हात तनक्क ! दुईदिने जिन्दगीमा सबै कुरा थाँती राखेर निरन्तर पार्टी परित्याग र निरन्तर पार्टी प्रवेश ! अहिले चलेको फष्टाउँदो व्यवसाय ! निरन्तर उक्लिरहेको नाफामुलक सट्टावजार ! ठेक्कापट्टा, नोकरी, उद्योग, व्यापार, व्यवसाय, वैदेशिक रोजगार भन्दा उत्तम पेसा ! कहिल्यै घाटा नहुने ! कहिल्यै उँधो नलाग्ने ! निरन्तर उकालो ! निरन्तर उन्नयन !
भन्नोस् अब कुन पार्टी रोजौँ ? स्वतन्त्र नागरिक यो देशमा बाँच्नै मुश्किल ! जताकतै राजनीति नै राजनीति म कता जाउँ !? एउटा पार्टी रोज्ने पर्ने भो कुन पार्टी रोजौँ !?

[२०७६।४।९ मुसिकोट ४ सोलाबाङ्ग, रुकुम]

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage