scheduleशनिवार भाद्र ७ गते, २०७६

बोलीमा लगाम लगाउने कि गृहमन्त्री ज्यु !

गृहमन्त्री ज्यु,
जनता र देशको सुरक्षा सम्हाल्ने गृहमन्त्री हुनुको नाताले पक्कै पनि शान्ति सुरक्षामा कडा कदम चाल्न न मैले न कुनै जनताले रोक्न सक्छ तपाईलाई न रोक्न नै हुन्छ ।

तपाईंको बाटो यही थियो जुन पार गरेर आउनुभएको थियो । त्यही राजनैतिक युद्ध र बाटोले तपाईलाई चिठ्ठा पारेर ६ बर्षे राजकाज सुम्पियो । तर, त्यही युद्धले अपाङ्ग भएर जीवन बाँचिरहेका उहीँ माइला दाईलाई हत्कडी लगाउनुभयो र हिरासतमा राख्नुभएको छ । मलाई थाहा छ, तपाईं युद्धबाट सत्तामा हुनुहुन्छ । उहाँहरु युद्धबाट फेरि हिंसाको बाटोमा हुनुहुन्छ ।


तपाईं गृहमन्त्री भएर सत्ताको स्वाद हरेक दिन जिब्रो फेरेझैं नयाँ स्वादमा हसुर्न पाउने तर, उहीँ तपाईको अनुयायी र बलियो खम्बाले आज औंला मात्रै गुमाएर हैन, त्यही औंलाविहिन नाडी साङ्लोमा बाँधिन बाध्य भएको छ ।

म मान्दछु, युद्ध अबको यात्रा होइन । सशस्त्र आन्दोलन आजको आवश्यकता होइन । फेरि पनि कयौं आमाहरुको कोख रित्तो हुने खेल खेल्नु कसैको चाहना छैन । कयौंको सिउँदो पुछिने सौदाबाजी अबको रहर होइन ।

कयौं बुबाहरुको बुढेसकालको साहारा टुटाउने कल्पना समेत गर्न सकिँदैन । फेरि कयौं चेलीहरु बलात्कार हुन लालायित छैनन् । बिहान पढ्न हिँडेको छोरो बेलुका घर नफर्कुन्जेल बाटो हेर्दै पिरोलिनु पर्ने कुनै आमाबाबुको चाहना हुँदैन ।

स्कुल पढाउन हिडेको शिक्षक सुराकी गरेको आरोपमा न त रुखमा बाँधिन चाहन्छ न त आतंककारीको नाममा कन्चटलाई गोलीले वारपार गरेको सहन सक्ने क्षमता छ ।

नेतृत्वको असमक्षता, अकर्मण्यता, देशमा व्याप्त भस्ट्राचार र विभेदकारी कानुनी राज्यले पक्कै पनि जनताको आक्रोश घटेको छैन । निराशा घटेको छैन ।
कानुनी राज्यमा सबै नागरिक बराबर, न्यायको हकदार र मौलिक हकको परिकल्पना गरिएको हुन्छ । राज्य त्यसप्रति कटिबद्ध हुनैपर्छ तर, पद र पावरवालाले चिनेको, किनेको र पैसा छरेको आधारमा गरिने न्यायले कतिलाई न्याय दिन सक्यो ? कति समानता दिन सक्यो ? कति जनताले सरकार जनताप्रति उत्तरदायी भएको आभास पाए ? जनता किन फेरि अर्को विद्रोह गर्ने हिम्मत जुटाईरहेका छन ?

हो, आजको माग युद्ध होइन । हातेमालो हो । सहकार्य हो । सशस्त्र द्वन्द्व स्थायी समाधान होइन । यसले कुनै समस्याको किटान त गर्दैन तर जबजब निराशा बढ्दै जान्छ तबतब मानिस त्यो निराशालाई चिर्न र पराजित गर्न उद्दत रहन्छ । चाहे त्यसको लागि जुनसुकै मूल्य चुकाउन किन नपरोस् । चाहे मृत्यु वा जेल जीवन भोग्न किन नपरोस् ।

आफ्नो नेतृत्व र सरकारप्रति जनताको आक्रोश र विद्रोहले कहिलेकाही इरादा सहि हुँदाहुँदै पनि त गलत हर्कत गर्दै हिंड्न सक्छ । तसर्थ, सहि उठान र रुझानका बाबजुद पनि गलत किय्राकलाप गर्दै हिडेको आफ्ना सन्तानलाई अभिभावकरुपि सरकारले छाती चौंडा बनाएर राजनीतिको मुलधारमा ल्याउन सके मात्रै म शासक हुँ भनेर गर्व गर्न सक्छौं ।

माननीय ज्यु, तपाईंका शुरुवाती दिनहरुमा सबैभन्दा बढी थपडी बजाउनेमा म पनि उभिएको थिए । कामचोर ठेकेदारमाथिको आक्रमणदेखि सुनकाण्ड हुँदै यातायातको सिन्डिकेटसम्म आईपुग्दा तपाईको गुनगानमा थुप्रै पटक बोलेको छु । थुप्रै पटक लेखेको छु ।

देशमा एउटा मात्रै प्रशासक असल हुने हो भने पनि उसले आफ्नो क्षेत्रमा धेरै काम गर्न सक्छ भन्ने उदाहरण कुलमान घिसिङ नै काफी छन । यसरी नै तपाईंको इमान्दारीता, क्षमता र निडरताले पक्कै पनि शान्ति सुरक्षा, जनताको दैनिकी र प्रशासनिक क्षेत्रमा ठूलो उथलपुथल हुनेछ भन्ने आशा गरेको थिए । तर, क्रमशः उकालो लागेका तपाईका पाईलाहरु ओरालो मात्रै लागेन, उल्टो दिशामा हिंडिरहेको देख्दा उदेक लागेको मात्रै होइन शासकप्रति घृणा जागेको छ ।

खासगरी विप्लव समूहप्रतिको कटाक्ष, गैरजिम्मेवार अभिव्यक्ति र निर्मला पन्तमाथिको आपत्तिपूर्ण भनाईले कुन नेपालीको रगत तातेर आउँदैन होला र !
माननीय ज्यु, निर्मला हत्याकाण्ड भविष्यमा पनि हुनेछन् भनेर बोलिरहँदा कुन नैतिकताले म गृहमन्त्री हुँ भनेर पदमा बसिरहन दिएको छ ? के निर्मलालाई राजनैनिक दाउपेचमा नै आफ्नो विजय र पराजय ठानेर अझै भविस्यमा पनि हुनेछ भन्दा लाजले शिर झुकेन ?

हिजो वर्गीय युद्ध लडेको हुङ्कार गर्ने तपाईंले आज कति चाडै बिर्सनु भयो कि म त्यही गरिब, शोषितपीडित जनताको लागि बन्दुक उठाएको थिएँ भनेर ?? के यस्ता क्रुर पासविक काण्डहरु भईरहून् भन्ने तपाईंको अपेक्षा हो ?

होइन, यदि तपाईले समाजको तथ्य बोलेको हुँ भन्ने लाग्छ भने प्रण गर्नुहोस्, समाजका हिजोका यस्ता जघन्य अपराध र अपराधीहरुलाई कानुनी कठघरामा उभ्याउछु भनेर । अलिकति जिब्रोमा लगाम लगाउनुहोस् !

दृढ संकल्प गर्नुहोस्, भविष्यमा यस्ता घटनाहरुमा कहिँकतै कमजोरी हुने छैन भनेर ।

एकनारायण पौडेल
भरतपुर महानगरपालिका-१३, चितवन, हालः साउदी अरब

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage