scheduleशनिवार आश्विन ४ गते, २०७६

काठमाडौं, ललितपुर र पोखरामा १३ औं सागअन्तर्गतका खेल हुने

काठमाडौं, १३ साउन । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा समावेश खेलहरु काठमाडौं, ललितपुर र पोखरामा सञ्चालन हुने बताएको छ ।

तेह्रौं साग आगामी मंसिर १५ देखि २५ गतेसम्म नेपालमा आयोजना हुन गइरहेको छ । उक्त प्रतियोगितमा समावेश २७ खेलहरु काठमाडौं, ललितपुर र पोखरामा सञ्चालन गरिने भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत साग प्राविधिक समितिले खेल स्थलको टुङ्गो लगाएको हो ।

राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल, समावेश खेल संघका पदाधिकारी र राखेपको प्राविधिक टोलीको निरीक्षणपछि काठमाडौं, ललितपुर र पोखरामा विभिन्न खेलहरु आयोजना गरिने तय भएको हो ।

काठमाडौंस्थित दशरथ रंगशालामा पुरुष फुटबल र एथलेटिक्सका खेलहरु सञ्चालन हुनेछन् भने त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बास्केटबल र व्याटमिन्टनका खेल हुनेछन् । त्यस्तै लैनचौरमा रहेको टेबुलटेनिस हलमा टेबुलटेनिस, मुलपानी र कीर्तिपुर मैदानमा क्रिकेट, काठमाडौंको भृकुटी मण्डपमा खोखो र कबड्डी खेल खेलाउने राखेपको तयारी छ ।

राखेपले फेन्सिङ खेलको स्थल निर्धारण हुन हुन बाँकी रहेको बताएको छ । कतिपय खेललाई नेपाल पुलिसको निर्माणाधिन कभर्डहल, आर्मीको कभर्डहल, भृकुटी मण्डप र त्रिपुरेश्वरको कभर्डहलमा खेलाउनल सकिने समेत राखेपको भनाइ छ ।

ललितपुरको सातदोबाटोको नवनिर्मित भवनमा कराते र बक्सिङ, तेक्वान्दो एमेडेमी भवनमा तेक्वान्दो र कुस्तीका खेल सञ्चालन हुनेछ । सातदोबाटोमै सुटिङ, पौडी, स्क्वास, टेनिस खेल सञ्चालन हुनेछ । उसु लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ ।

पर्यटकीय नगरी पोखरामा ७ वटा खेल खेलाइने भएको छ । पोखरा रंगशलामा महिला फुटबल हुनेछ भने सोही रंगशालाको कभर्डहलमा आर्चरी, भलिबल र ह्यान्डबल हुनेछ । त्यस्तै पोखराको सभागृहमा भारोत्तोलन, फेवाताल किनारमा ट्रायथलन र प्याराग्लाईडिङका खेल  सञ्चालन हुनेछन् ।

हाल ३ वटै शहरका खेल स्थलमा निर्माण, मर्मत र रंग रोगनका काम तीव्रगतिमा भइरहेको छ ।

 

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage