सडक विभागको उदासिनता र ठेकेदारको लापरबाहीले ९ वर्षमा पनि पूरा हुन सकेन पुल
काठमाडौं, १७ साउन । सरकारी उदासिनता र ठेकेदारको लापरबाहीका कारण त्रियुगा नदीको पक्की पुल ९ वर्ष बितिसक्दा समेत सम्पन्न हुन सकेको छैन ।
निर्माण कार्य सुरु गरेको लामो समय भइसक्दा समेत पुल सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती खेपिरहेका छन् । समयमा पुल निर्माण नहुँदा मानिसहरु डुंगा चढेर जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।
त्रियुगा नदीको पुल बनाउने कार्य आर्थिक वर्ष २०६७/०६८ मा सुरु गरिएको थियो । त्रियुगा पुल निर्माणका लागि ९ करोड ९५ लाख रुपैयाँको ठेक्का सम्झौता भएको थियो ।आर्थिक वर्ष २०७०/०७१ मा उक्त पुलको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
तर निर्माण कार्य थालनी भएको ९ वर्ष बितिसक्दा समेत पुल सम्पन्न भएको छैन । सरकारको उदासीनता र ठेकेदारको चरम लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको सर्वसाधारणको गुनासो छ । निर्माण कम्पनीले विभिन्न बहानामा लापरबाही गर्दा सडक विभागले कुनै कदम नचालेको स्थानीयको गुनासो छ ।
पुरानो डिजाइन परिवर्तन गरेर नयाँ डिजाइनअनुसार काम गर्नुपरेको, तीनओटा पिल्लर निर्माणस्थलमा रुखका ठूटा भेटिएको र सरकारले समयमै पर्याप्त रकम नपठाएकाले निर्माणमा ढिलाइ भएको निर्माण कम्पनी महालक्ष्मी र लोकप्रिय जेभीको दाबी छ ।
निर्माण रेखदेखको जिम्मा पाएको गाईघाट–दिक्तेल सडक आयोजनाले ८० प्रतिशत काम पूरा भएको मूल्यांकन गरेको छ । पुलका १३ ओटा पिल्लरमध्ये १० ओटाको ढलान भएको छ । पुल निर्माणमा हालसम्म ७ करोड ९४ लाख खर्च भइसकेको छ ।