scheduleशनिवार माघ ११ गते, २०७६

‘परिवारलाई अपहरण गर्छु’ भन्दै ठूलो रकम माग्ने गिरी पक्राउ

काठमाडौं, १९ साउन । प्रहरीले व्यवसायीलाई अपहरणको धम्की दिँदै रकम माग गर्ने एक युवक पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुरका ३० वर्षीय उदय गिरीलाई शुक्रबार पक्राउ गरेको हो । प्रहरीले व्यवसायीको उजुरीका आधारमा गिरीलाई पक्राउ गरेको हो । उजुरी परेपछि शुक्रबार ललितपुरबाट उनलाई पक्राउ गरिएको थियो ।

गिरीले अपहरणको धम्की दिँदै व्यवसायीहरुसँग ठूलो धनराशी माग गर्ने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका–२४ धापाखेलका गिरीले नेपाली तथा भारतीय नम्बरको सिमकार्ड प्रयोग गर्दै व्यवसायी र व्यापारीलाई धम्क्याउँदै आएका थिए । उनले फोनमार्फत् तीनजना घरजग्गा व्यवसायीसँग ७५ लाख रकम माग गरेको उजुरी परेपछि प्रहरी सक्रिय बनेको थियो ।

गिरीको कोठाबाट थुप्रै नेपाली र भारतीय सिमकार्ड बरामद गरिएको प्रहरीले जनाएको छ । गिरीले तराईमा गई नेपाली सिमबाट र भारतमा गई भारतीय सिमकार्डबाट व्यवसायीलाई धम्की दिने गरेका थिए ।

केही समयअघि गिरी व्यवसायीलाई धम्क्याउन भन्दै हवाईजहाजमार्फत् दिल्ली समेत गएका थिए । उनले दिल्ली पुगेर भारतीय नम्बरबाट व्यवसायीहरूलाई  पालैपालो फोन गरी धम्क्याउदै रकम मागेका थिए ।

गिरीले व्यवसायीहरुलाई ‘तिमीहरुको परिवारको सबै  विवरण थाहा छ, रकम नदिए अपहरण गर्छु’ भन्दै बार्गेनिङ गर्ने गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ।

गिरीले यहअघि समेत जेल सजायँ भोगिसकेका छन् । उनले हतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल सजायँ भुक्तान गरिसकेको प्रहरीले बताएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय