scheduleशनिवार भाद्र ७ गते, २०७६

बाग्लुङ पहिरो अपडेट : हजुरआमा र नातिसहित ३ जनाको मृत्यु, ७ जना घाइते

बाग्लुङ, २० साउन । तमानखोला गाउँपालिकामा पहिरोमा पुरिएर ३ जनाको ज्यान गएको छ ।

बाग्लुङको तमानखोला गाउँपालिका-४ मा अविरल वर्षासँगै गएको पहिरोमा घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । पहिरोमा परी ७ जना घाइते भएका छन्।

तमानखोला गाउँपालिका-४ को लाम्लेलामा आइतबार राति १:३० बजे १ सय ५० मिटर माथिबाट पहिरो खसेको थियो । उक्त पहिरोले घर पुर्दा एकै  घरका हजुरआमा र नातिको मृत्यु भएको हो ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा ७० वर्षीया अनसरी श्रीपाली र उनका १२ वर्षीय नाति प्रविण रहेका छन् । त्यस्तै अर्को घरमा रहेकी ४५ वर्षीया पञ्चकुमारी श्रीपालीको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जानकारी दिएको छ ।

गएरातिको पहिरोबाट ४ वटा घर पूर्णरुपमा भत्किएका छन् भने ३ घरमा क्षति पुगेको छ। हाल प्रहरीसहितको स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पुगिसकेको छ ।

बडिखोलाको बाढीले मध्यपहाडी लोकमार्ग भत्कायो

अविरल वर्षासँगै बाग्लुङको स्थानीय बडिगाड खोलामा बाढी आएको छ । उक्त बाढीले मध्यपहाडी लोकमार्ग अन्तर्गतको बाग्लुङ–बुर्तिवाङ सडक भत्किएको छ।

सडक भत्किँदा पोखरा, कुस्मा र बाग्लुङ बजारबाट पश्चिम बाग्लुङ जाने सवारी साधन र यात्रु अलपत्र परेका छन्। गत वर्षको पहिरोले बनाएको तुरतुरे ताल समेत बडिगाड खोलामा आएको बाढीले भत्काइदिएको छ ।

प्रहरीका अनुसार तुरतुरे ताल भत्किएपछि पानीको सतह एक्कासी बढेको र त्यसले मध्यपहाडी लोकमार्ग भत्काएको हो । हाल पानीको सहत घट्दै गएको समेत प्रहरीको भनाइ छ ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage