scheduleशनिवार भाद्र ७ गते, २०७६

गड्गडाउँदो नदीका महिला गाइड

काठमाडौँ, २८ साउन ।  मध्य मनसुनको धमिलो पानी अनि गड्गडाउँदो भोटेकोसीमा र्‍याफ्टिङ । र्‍याफ्ट बोटसँगै यात्रु नदीको छालसँग सङ्घर्ष गर्दै अनि मजा लिँदै बग्न थाले ।

ती र्‍याफ्टिङ बोटहरूभन्दा अघिअघि एक्लै एकप्रकारको सानो डुङ्गा कायकमा एकजना महिला तैरिरहनुभएको थियो । महिला शोभा मगरमा सबैको आँखा परिरहेको थियो । र्‍याफ्टिङमा जानेहरू अचम्ममा परे । त्यस्तो गड्गडाउँदो भोटेकासीमा एक्ली किशोरी ?

खासमा र्‍याफ्टिङमा सुरक्षा दिन कायकरहरू अघिपछि तैरँदा रहेछन् र शोभा पनि सुरक्षा दिन प्याडल घुमाउँदै फूर्तिसाथ आफ्नो कायक चलाइरहनुभएको थियो । भोटेकोसीको ठूलाठूला छालभित्र शोभाको सानो कायक कहिले हराउँदै, कहिले निस्किँदै अगाडि बढिरहेको थियो ।

यसरी कायकिङ गरिरहेकी शोभा रमाइलोका लागि हैन, ठूलो जिम्मेवारीसहित हरेक दिन नदीमा र्‍याफ्टिङ बोटसँगै बग्नुहुन्छ । र्‍याफ्ट बोट पल्टिहालेमा वा कुनै तरिकाले डुङ्गाको यात्रु नदीमा खस्दा उद्धार गर्ने जिम्मा काँधमा बोकेर कायकिङ गर्दै हुनुुहुन्छ, यी १८ वर्षीया कायकर ।

उहाँले भोटेकोसीको छालसँग मितेरी लगाउँदै उद्धारको जिम्मेवारी सम्हाल्न थाल्नुभएको १४ महिना भइसकेको छ । भोटेकोसीमा कायकिङ सिकेर यहीँ नै र्‍याफ्टिङ गराउने कम्पनी र्‍याफ्टिङ स्टारमा कायकरको रूपमा काम गरिरहनुभएको छ उहाँ ।

उदयपुरको कटारीबाट उहाँ रिभर गाइड बन्नकै लागि एसईई सक्नेबित्तिकै काठमाडौँ आउनुभयो । रिभर गाइडकै काम गर्ने गाउँका चिनेका दाजुहरूको सहयोगमा उहाँले कायकिङ सिक्नुभयो । गाउँमा सानो कमला खोला मात्र देख्नुभएकी शोभालाई भोटेकोसीमा कायकिङ गर्न सुरुमा त डर लाग्यो तर डर धेरै समय रहेन । गोरखापत्रमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage