scheduleशनिवार भाद्र ७ गते, २०७६

गाउँमा गुलेली कटेजः यसरी हुर्किँदैछ कल्याणको स्वरोजगार सपना

 

साझापोस्ट संवाददाता/धादिङ, २८ साउन । काठमाडौंबाट ५६ किलोमिटर पृथ्वी राजमार्गमा यात्रा गरेपछि पुगिन्छ आदमघाट । त्यहाँबाट त्रिशुली पुल तरेर झण्डै ३/४ किलोमिटर कच्ची सडक यात्रा गरेपछि पुगिन्छ छटिन्टार–बडहरे ।

युवाहरु विदेशिने दर बढिरहेको छ । गाउँहरु युवारहित हुँदैछन् । यसको प्रभाव परिरहेछ खेतबारीमा । अनि चिमोट्न थाल्छ एउटा अन्तरविरोधी तथ्यले– कृषिप्रधान देशमा खेतबारी बाँझै । निर्यात नगन्य, आयात अत्यधिक ।

देश यस्तै छ । परिवेश यस्तै छ । गल्छी–३, आमडाँडाका युवा कल्याण आचार्यले पनि झण्डै एक दशक विदेशी भूमिमा पसिना बगाए । यौवनमा आफ्नो परिवार र परिवेशसँग छुट्टिएर बस्नुको पीडा त छँदैछ, साथमा घर फर्किँदा खेत बाँझै, बारी बाँझै । दूबो उम्रिएका आँगन र आगो नबलेको अगेनो पनि ।

कल्याणलाई विदेश फर्कन मनले मानेन । स्वदेशी र विदेशी यात्राहरुमा जीवनको तीन दशक बिताइसकेका उनी तम्सिए बाँझो खेतमा डोजर चलाउँदै नयाँ उद्यम सुरु गर्न । झण्डै एक वर्षअघिबाट उनले बडहरे खोलाको किनारमा सुरु गरे बडहरे भ्यू कटेज एण्ड गुलेली रेष्टुरेन्ट ।

गुलेलीमा खान, बस्न, पौडी खेल्न पाइन्छ । खोलाको सुसेलीसँगै एकान्तमा गुलेलीले लोकल कुखुरालाई शिकार गर्दै स्थानीय परिकारहरु खान पाइन्छ । रमाउँदै टेन्टमा रात बिताउने सुविधा पनि छ ।

भीडभाड र तनावकाे जिन्दगी बिताइरहेका शहरिया/बजारिया मध्यम वर्गका लागि गुलेली एक दिन/एक रात बिताउन उत्तम विकल्प बनेको छ । शान्त ठाउँमा स्थानीय परिकार खाएर दिन/रात बिताउन ।

गाउँमा स्वीमिङ पुल बनाउनु, पौडी खेलाउनु, मिठो मसिनो खुवाउनु र मनोरञ्जन प्रदान गर्नुमा मात्र सीमित छैन उनको सपना । कल्याण चाहन्छन्– स्थानीय स्तरमा पर्यटन प्रवर्द्धन होओस्, देश विदेशमा मानिसहरु आऊन्, आफ्नो ठाउँ चिनून्, स्थानीयले रोजगारी पाऊन् आदि आदि ।

उनी सुनाउँछन्, ‘केही दिनअघि केही विदेशी पाहुना आए । उनीहरु गुलेलीमा बसे । पौडी खेले । स्थानीयसँग रमाए । उनीहरु खाएर पिएर मात्र रमाएनन्, नजिकैका डाँडाकाँडा चढे ।’

आदमघाटदेखि बडहरे, मुलाबारी हुँदै गुप्तेश्वरसम्म पर्यटक पुर्‍याउन ट्रेकिङ बाटो (पदमार्ग) बनाउनुपर्नेमा उनको जोड छ । ‘गुप्तेश्वरबाट हिमाललगायत डाँडाकाँडा देखिन्छ, त्यहाँबाट भैरवी, खाल्टेको चमेरे गुफा, खाल्टेकै होमस्टेसम्म पर्यटक लैजान सकिन्छ,’ उनी थप्छन्, ‘स्थानीय र बाह्य पर्यटकहरुलाई यहाँ आउने वातावरण बनाउँदा स्थानीयलाई बहुआयामिक ढंगले फाइदा हुन्छ । धार्मिक, सांस्कृतिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय स्तरमा आर्थिक क्रियाकलापहरु बढ्छन् ।’

उनी अगाडि थप्छन्, ‘नेपाल सम्भावना नभएको ठाउँ होइन, हाम्रो ठाउँ सम्भावना नभएको ठाउँ होइन, मात्रै केही पूर्वाधारको खाँचो छ । हाम्रो ठाउँलाई पृथ्वी राजमार्गबाट पुलले जोड्न आवश्यक छ । यातायात सञ्जालसँग जोडिएपछि हामीले धेरै प्रगति गर्न सक्छौं । सम्भावनाका धेरै ढोकाहरु खुल्छन् ।’

देश रेमिटेन्सले चलिरहेको छ । वैदेशिक रोजगारबाट हुने कमाइ कहाँ लगानी भइरहेको छ ? गाउँदेखि शहरसम्म उपभोगवादी संस्कार मौलाइरहेको छ । घरघडेरी जोड्ने, गरगहना किन्ने, खाईपिई गर्ने, उडाउने यस्तै भइरहेको छ । त्यसलाई उत्पादनमुखी काममा लगानी गर्ने संस्कार नै छैन । कल्याण भन्छन्, ‘म चाहन्छु, हाम्रो पुस्ताले उत्पादनमुखी काम गर्नुपर्छ, जसबाट केही नयाँ सन्देश जाओस् ।’

हुन त गाउँघरको यस्तो अनकन्टार ठाउँमा आएर लगानीको जोखिम उठाउनु चानचुने कुरा होइन । ‘मलाई थाहा छ, डुबेँ भने कहिल्यै उठ्न नसक्ने गरेर डुब्छु । अन्य साथीहरुले पनि केही नयाँ काम सुरु गर्न डराउनुहुन्छ । तर, म सफल भएँ भने धेरै साथीहरुले गाउँघरमा पनि नयाँ काम गर्ने आँट गर्नुहुनेछ । युवा साथीहरुको उत्साह, आत्मविश्वास र आँट बढ्नेछ ।’

नयाँ काम गर्न लाग्दा स्थानीय सरकारले यथोचित सहयोग नगरेको उनको गुनासो । ‘मेरो लागि त केही गर्नु परेन, तर पूर्वाधार विकास गर्न त्यति ध्यान दिइरहेका छैनन्, सडकको अवस्था राम्रो छैन, अन्य पूर्वाधार निर्माणमा स्थानीय सरकारको ध्यान गएको छैन,’ उनी भन्छन् ।

कल्याणको योजना छ, कटेज र रेष्टुरेन्टसँगै माछा पोखरी होस्, तरकारी र फलफूल बगैचा होस् । पशुपालन फर्म होस् । पाहुनाले आफ्नै आँखाअगाडि फलेको, उब्जाउ भएको अर्गानिक खानेकुरा खान पाऊन् । तर, सबै कुरा गर्न पर्याप्त मात्रामा लगानी चाहिन्छ । गाउँमा छ लगानीको अभाव । झण्डै आधा करोड लगानी गरिसकेका उनी थप लगानी गर्न मुस्किल रहेको बताउँछन् ।

हुन त, सरकारले लगानीको कुरा गरिरहेको छ । तर, व्यवहारमा लागू गर्न मुस्किल हुने कार्यक्रम छ सरकारको । कल्याण आफैं झण्डै एक दशक वैदेशिक रोजगारीमा समय बिताएका युवा हुन् ।

वैदेशिक रोजगारबाट फर्किएका युवाले पाउने भनिएको १० लाख ऋणको लागि उनले पनि नाम निकाले । तर पैसा निकाशा गर्न बैंकमा जाँदा बैंकका शर्तैशर्त हुन्छन् । कार्यविधि पनि त्यस्तै छ सरकारको ।

उनी वैदेशिक रोजगारमा रहँदा अधिकांश समय सवारी चालकको भूमिकामा रहे । तर, अहिले काम गरेका छन् होटेल व्यवसाय । ‘बैंक भन्छ– विदेशमा जे काम गरेको हो, यहाँ पनि त्यही काम गर्नुपर्छ । अर्को शर्त छ, विदेशको कम्पनीले अनुभवको प्रमाणपत्र दिनुपर्छ,’ कल्याण प्रश्न गर्छन्, ‘अब छोडेर आएको कम्पनीबाट कसरी लिने प्रमाणपत्र ?’

घरमा बुढेशकाल लागेका बाबु–आमा, वैशालु श्रीमती र कोखमा हुर्कंदै गरेको बच्चा छाडेर प्राकृतिकरुपमा स्वर्गजस्तो देशको सट्टा खाडीमा पसिना बगाउन जानु कसैको रहर हुँदैन । तर, समाजवादको सपना बाँडिरहेको सरकार स्वदेशमा युवालाई काम गरेर खाने वातावरण बनाउन लालायित देखिँदैन । योजनाहरु छन्, कार्यान्वयन गर्न मुस्किल छ ।

तर, गाउँमा उद्यमशिलताको उडान गरिरहेका कल्याण हार मान्ने अवस्थामा छैनन् । ‘त्रिशुलीमा पुल बन्ला, सडक कालोपत्रे होला । सरकारले पूर्वाधार बनाउला । मैले हुर्काउँदै गरेको व्यवसाय असफल हुनेछैन । म सफल हुनेछु र देशमै, गाउँमै केही गर्न सकिन्छ भन्ने सन्देश दिएरै छाड्नेछु ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage