scheduleशनिवार भाद्र ७ गते, २०७६

कुलमानको अड्डामा नाफा १४९ प्रतिशत बढ्यो

काठमाडौँ, २९ साउन । नेपाल विद्युत् प्राधिकरणले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १४९ प्रतिशतले नाफा बढाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा प्राधिकरणले खुद मुनाफा सात अर्ब २० करोड रुपियाँ पुर्‍याएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७४/७५ मा प्राधिकरणको नाफा दुई अर्ब ८९ करोड ७० लाख रुपियाँ थियो ।
निरन्तर घाटामा रहँदै आएको प्राधिकरण आर्थिक वर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपियाँ घाटामा थियो ।

त्यसपछिका वर्षमा भने प्राधिकरण निरन्तर नाफामा रहँदै आएको छ । प्राधिकरणले आव २०७३/७४ मा एक अर्ब ५० करोड रुपियाँ नाफा गरेको थियो । विद्युत् चुहावटमा आएको उल्लेख्य कमी, विद्युत् उत्पादनमा वृद्धि, व्यवस्थापनमा निरन्तर सुधार लगायतका कारण नाफा प्रभावकारी रूपमा वृद्धि भएको प्राधिकरणले स्पष्ट पारेको छ ।

प्राधिकरण सञ्चालक समिति अध्यक्षसमेत रहनुभएका मन्त्री पुनले पत्रकार सम्मेलनमार्फत् विद्युत् चुहावट १५.३२ प्रतिशतमा सीमित गरिएको जानकारी गराउनुभयो । यसअघि यस्तो चुहावट २०.४५ प्रतिशत थियो । आव २०७२/७३ मा चुहावट प्रतिशत २५.७८ थियो । यसअनुसार चुहावट नियन्त्रण पछिल्लो एक वर्षमै पाँच दशमलव १३ प्रतिशत र तीन वर्षमा १०.४६ प्रतिशतले घटाउन प्राधिकरण सफल देखिएको छ ।

सोही अवसरमा प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावटस्तर दक्षिण एसियाली मापदण्डमा झारिएको जानकारी गराउनुभयो । ‘वितरणतर्फको चुहावट ११ प्रतिशत र प्राविधिकतर्फको करिब चार प्रतिशत चुहावट छ,’ उहाँले थप्नुभयो, ‘विद्युत् चुहावटमा दक्षिण एसियाको मापदण्डमा पुगेका छौँ, अब धेरै प्राविधिक चुहावट नियन्त्रणमा ध्यान केन्द्रित गर्नुपर्ने छ तर यसका लागि थप लगानी आवश्यक पर्छ ।’ गोरखापत्र दैनिकमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage