scheduleशनिवार आश्विन ४ गते, २०७६

भट्टराईको प्रश्न- युरोप उडानमा अझै किन प्रतिबन्ध ?

फाइल फोटो

काठमाडौँ, ३१ साउन । सन् २०१३ को डिसेम्बरयता युरोपेली आकाश नेपाली वायुसेवा कम्पनीका लागि बिरानो बनेको छ । त्यसयता युरोपमै निर्मित दर्जनौँ जहाज खरिद गरेर नेपाली कम्पनीले उडान सेवा दिइरहे पनि युरोपेली आकाशमाथिको प्रतिबन्ध फुकुवा हुने विषय अझ अनिश्चित छ ।

नेपालको हवाई सेवालाई असुरक्षित भन्दै युरोपेली सङ्घले लगाएको प्रतिबन्ध अहिले आएर नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको विभाजनमा आएर अड्किएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)ले नेपालको हवाई सुरक्षासँग सम्बन्धित रहेर व्यक्त गरेको चासोलगत्तै ईयूले प्रतिबन्ध लगाए पनि आईकाओले दुई वर्षअघि नै नेपाललाई सुरक्षा सूचीबाट हटाइसकेको छ ।

नेपालले पनि यसैबीचमा हवाई सुरक्षासँग सम्बन्धित ईयूका अधिकांश चासोलाई सम्बोधन गरिसकेको छ । नियामकलाई विभाजन गरेर सेवा प्रदायक र नियामक बनाउने गरी नयाँ कानुन निर्माण गर्न नेपालको मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको अवस्था छ । ईयूको खास चासो पनि यहीँ नै रहँदै आएको छ ।

ईयूले गरेका प्रश्नको प्रायः उत्तर दिइसके पनि अहिलेसम्म त्यसको प्रतिबन्ध फुकुवा नहुनुप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिहीबार गम्भीर चासो व्यक्त गर्नुभयो । ‘हामीले ईयूले गरेका प्रश्नका आधारमा गर्न बाँकी कसर राखेका छैनौँ,’ उहाँले भन्नुभयो, ‘अब प्रतिबन्धका विषयमा प्रश्न सोध्ने पालो हाम्रो ।’ गोरखापत्र दैनिकमा विश्वास रेग्मीले खबर लेखेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage