scheduleबिहिवार आश्विन २ गते, २०७६

ठूला भ्रष्टाचारीलाई संरक्षण, सानालाई आत्महत्या गर्न बाध्य बनाइएको छः डा.भट्टराई

फाइल फोटो

गोरखा, ३२ साउन । समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले देशमा ठूला भ्रष्टाचारीलाई संरक्षण र साना भ्रष्टाचारीलाई आत्महत्या गर्न बाध्य बनाउने काम भइरहेको आरोप लगाएका छन् ।

समाजवादी पार्टीको जिल्ला समिति समायोजन घोषणा सभामा बोल्दै नेता पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले ठूला भ्रष्टाचारीलाई कुनै कारबाही नहुने, साना भ्रष्टाचारीलाई मात्र कारबाही गर्ने, आत्महत्या गर्नसम्म बाध्य पार्ने गरेको बताएका हुन् ।

उनले राष्ट्रप्रमुखले आफ्नै देशको अस्पतालको विश्वास नगरेर विदेशमा औषधोपचार गर्न गएकोमा आपत्ति प्रकट गरे । प्रधानमन्त्री केपी शर्मा स्वास्थ्य उपचारका लागि सिंगापुर गएकोप्रति लक्षित गर्दै उनले प्रश्न गरे, ‘यस्तो सुन्दर देश छ, यहीँ नै राम्रो, भरपर्दो अस्पताल बनाउने, आफूले पनि यहीँ उपचार गर्ने, अरुलाई पनि स्वदेशकै अस्पतालमा उपचार गर्न प्रोत्साहन गर्नुपर्नेमा सामान्य चेकजाँचका लागि पनि हाम्रा देशका सरकार प्रमुख विदेशमा स्वस्थ्य चेकजाँच गर्न जान्छन्। यस्ता सरकार प्रमुखबाट जनताले के अपेक्षा गर्ने ?’

नेतालाई विदेशमा उपचार गर्न भइरहेको खर्चले देशमै सुविधा सम्पन्न अस्पताल बन्न सक्नेमा उनले जोड दिए । ‘पन्ध्र अर्बले नेपालमा अत्याधुनिक सुविधा सम्पन्न अस्पताल बनाउन सकिन्छ, तर अहिलेका प्रधानमन्त्रीले १५ अर्ब खर्च गरेर झापामा वुद्धको मूर्ति बनाउने तयारी गरिरहनु भएको छ,’ उनले भने, ‘यस्तो सोचले विकास र समृद्धि आउँछ ? कस्तो सोच हो, नेताको ?’

फरक प्रसंगमा नेता भट्टराईले सरकार ढल्ने डरले प्रधानमन्त्री ओली थर्कमान भइरहेको बताए । उनले भने, ‘दुई तिहाइको सरकार त भनिएको छ, तर हाम्रा प्रधानमन्त्रीलाई कुर्ची जोगाउनै धौधौ छ, आफ्नै पार्टीभित्रका आफ्नै साथीहरुसँग यति आशंका छ कि, कतिबेला कुर्ची जाने हो, थाहा छैन। कतिबेला कुर्सी जाने हो भनेर उहाँ थर्थर कामिरहनु भएको छ।’

अध्यक्ष भट्टराईले समाजवादी पार्टीले भनेको समाजवादको नयाँ पहिचान हुने बताए । ‘हाम्रो समाजवाद पुँजीवादको टिको मात्र लगाउने खालको प्रजातान्त्रिक समाजवाद पनि होइन, कम्युनिष्टहरुले भनेको जस्तो साम्यवादको खुड्किलो जस्तो समाजवाद पनि होइन,’ उनले भने, ‘हाम्रो पार्टीले ल्याउने समाजवाद सर्वहारा वर्गको अधिनायकत्वको हुने खालको समाजवाद नभई फरक पहिचान भएको समाजवाद हुन्छ ।’

उनले फरक पहिचान र चिन्तन सहितको समाजवाद निर्माणको बाटोमा पार्टी अघि बढेको उल्लेख गर्दै व्यक्तिगत पहिचान तथा सामुहिकतासहितको समाजबाद नै पार्टीको लक्ष्य रहेको उल्लेख गरे ।

उनले विचारलाई कार्यान्वयन गर्ने आधार संधीयता हो भन्दै यसले मात्र सवै वर्ग, क्षेत्र, लिङ्ग तथा उत्पीडित समुदायको पहिचान दिलाउने स्पष्ट पारे ।

डा. भट्टराईले उत्पादन बृद्धिलाई जोड नदिएसम्म सुशासन कायम हुन नसक्ने विचार राखे । उत्पादनमा वृद्धि भएमात्र सबै जनताको आर्थिक परिवर्तन हुनसक्ने भन्दै जो छ त्यहि मात्र बाँडीचुडी खाने हो भने कहिल्यै आर्थिक समृद्धि हुन नसक्ने उनको भनाई छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage