scheduleसोमवार आश्विन ६ गते, २०७६

अन्तरवार्ता दिदै हुुनुहुन्छ ? यी ८ कुरा ध्यान दिनुहोस्

काठमाडौं । रोजगार, अध्ययन तथा अन्य प्रयोजनका लागि अन्तरवार्ता दिँदा प्रयाप्त तयारी आवश्यक पर्दछ । तर प्रयाप्त तयारी गर्दागदैं पनि कहिलेकाहीं अन्तरवार्तामा छनौट नहुन सकिन्छ । यसको कारण भनेको अन्तरवार्तालाई सफल बनाउन अन्य कुरा पनि चाहिन्छन् भन्ने कुरालाई वेवास्ता गर्नु हो । त्यसैले तयारीसँगै यी ८ कुरालाई पनि ध्यान दिनुभयो भने तपाई सफल हुने संभावना बढ्छ ।

१. पहिलो भेटमा नै सकरात्मक छाप छोड्नुहोस्
अन्तरवार्ता दिने कोठामा छिरेपछि पहिलो छाप(First Impression) बनाउनका लागि तपाईसँग जम्मा ३० सेकेण्ड समय हुन्छ भन्ने गरिन्छ । तर अन्तवार्ता शुरु हुनुपूर्व पनि तपाईले सकरात्मक छाप छोड्न सक्नुहुन्छ । यसका लागि आफूले भेटेका मानिससँग नम्र र राम्रो व्यवहार गर्न सक्नुपर्दछ । अन्तरर्वाता चलिरहेको बेला वा यसपूर्व आफूलाई सकरात्मक, सरल र नम्र शैलीमा प्रस्तुत गर्नुभयो भने यसले तपाईबारे राम्रो छाप बनाउन सक्दछ । त्यस्तै आफ्नो परिचय सरल र मीठो शैलीमा दिनुभयो भने सफल हुने संभावना बढ्छ ।
यसवाहेक आफ्नोबारेमा सबै भन्नुभन्दा पनि कम्पनीसँग मेल खाने तपाईको क्षमता, रुचि, उपलब्धी, शिक्षा तथा चाहनालाई बढी जोड दिँदा सकरात्मक सन्देश जान्छ । अन्तरवार्तामा तपाई कति स्मार्ट वा आकर्षक हुनुहुन्छ भन्ने कुराले भूमिका खेलेको हुन्छ । तर रिक्त पद वा कम्पनीका लागि तपाई योग्य तथा उपयुक्त उम्मेदवार हो कि होइन भन्ने अाधारमा तपाईलाई छनौट गरिन्छ । यसकारण समय खेर नफाली योग्य र उपयुक्त पात्र हो भनेर तपाईले आफूलाई प्रस्तुत गर्न सक्नुपर्दछ ।

२. कलात्मक र रमाइलो शैलीमा आफूलाई प्रस्तुत गर्नुहोस्

अन्तरवार्ता दिँदा तपाईले कलात्मक र रमाइलो शैली (Sense of Humor) प्रयोग गर्नुभयो भने यसले निकै राम्रो छाप छोड्छ । कम्पनी, अफिस वा व्यक्तिले तपाई व्यवसायिक मान्छे हो वा होइन भन्ने आधारमा तपाईलाई नियुक्ति गर्दछन् । व्यवसायिकता सँगसँगै तपाई कति रमाइलो र कलात्मक हुनुहुन्छ भन्ने कुरा पनि विचार गरिन्छ । त्यसैले अन्तरवार्ता दिँदा रमाइलो र घतलाग्दो शैलीको प्रयोग गर्न भुल्नुहुदैन ।

३. कम्पनी, अफिस तथा रोजगारदाताका लागि आफू उपयोगी छु भनेर सावित गर्नुहोस्

कम्पनी वा पदका लागि तपाईसँग विशेष क्षमता नहुन पनि सक्दछ । तर रिक्त पदका लागि न्युनतम आवश्यक क्षमता तथा सीप छ भन्ने कुरा देखाउन सक्नुपर्दछ । तपाईले यसभन्दा अगाडि कतै काम गर्नुभएको छ भने तपाईको कामका कारण उक्त कम्पनीले प्राप्त गरेको उपलब्धी छ भने त्यसलाई उल्लेख गर्न भुल्नुहुन्न । उदाहरणका लागि तपाई यसभन्दा अगाडि कुनै कम्पनीको सेवा वा वस्तुलाई मार्केटिङ गर्ने काम गर्नुहुन्थ्यो र तपाईले मार्केटिङ गर्न थालेपछि उक्त कम्पनीको नाफा कति प्रतिशतले बढ्यो भनेर व्यक्त गर्नुभयो भने यसले सकरात्मक नतिजा ल्याउँछ । पहिलो पटक अन्तरवार्ता दिदै हुनुहुन्छ भने तपाईसँग न्युनतम क्षमता तथा सीप छ र यसले कम्पनीलाई निकै योगदान गर्नसक्दछ भन्ने कुरालाई जोड दिनुहोस् ।

४. अनुभव नभएको कारण हरेश नखानुहोस्
अन्तरवार्ता दिँदा अनुभव छ कि छैन भनेर प्रायः सोध्ने गरिन्छ । तर यस्तो प्रश्न सोध्ने वित्तिकै आत्तिइहाल्नु भने हुदैन । अनुभव नभएपनि आफूले कम्पनीलाई सकरात्मक योगदान दिन सक्छु भन्ने छाप छोड्नसक्नुपर्दछ । अनुभव नभएपनि तपाईको प्रस्तुती, व्यक्तित्व तथा पृष्ठभूमिले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तपाईको व्यक्तित्व, प्रस्तुती तथा पृष्ठभूमि कम्पनीको आवश्यकता अनुसार छ छैन भनेर हेर्ने गरिन्छ ।

५. उत्तर प्रष्टरुपमा दिनुहोस्
अधिकांश मानिस अन्तरवार्तामा सोधिएका प्रश्नको उत्तर दिँदा अनकनाउने र आत्तिने गर्दछन् जुन गलत हो । अन्तरवार्ताका क्रममा सोधिएका प्रश्नबारे अस्पष्ट हुनुभयो भने तत्कालै प्रश्न दोहोर्याउन अनुरोध गर्नुहोस् । प्रश्नको उक्त आफूलाई थाहा नभएमा अक्क न वक्क हुनुभन्दा नम्र भएर थाहा छैन भन्नु उपयुक्त मानिन्छ ।

६. आफूसँग आत्मविश्वास छ भनेर देखाउनुहोस्
कुनै पनि अन्तरवार्तामा तपाईसँग आत्मविश्वास छ /छैन भनेर जाँच्ने गरिन्छ । आत्मविश्वासलाई बोलीबाट मात्रै होइन, शारीरिक हाउभाउबाट पनि व्यक्त गर्न सकिन्छ । अन्तरवार्ता दिँदा खल्तीमा हात राख्ने र औला मिच्ने क्रियाकलापले तपाईसँग आत्मविश्वास छैन भन्ने देखाउँछ । यसबाहेक यताउति हेर्नु र टाउको निहुराउनु पनि राम्रो मानिदैन । त्यसकारण आफूसँग आत्मविश्वास छ भनेर देखाउन यस्ता क्रियाकलाप नगर्नुहोस् ।

७. बायोडाटा वा व्यक्तिगत विवरणमा कम्पनीलाई आवश्यक पर्ने कुराहरु बढी राख्नुहोस्
तपाईको बायोडाटाले पनि अन्तरवार्तामा निकै ठूलो भुमिका खेलेको हुन्छ । त्यसैले कम्पनी वा पदसँग मेलखाने गरि बायोडाटा प्रस्तुत गर्नुपर्दछ । बायोडाटामा भएको विवरणबारे तपाई प्रष्ट हुनु आवश्यक हुन्छ ।

८. अन्तरवार्ता दिनुपूर्व नै कम्पनीबारे जानकारी लिनुहोस्
यदि तपाईले रोजगारदाता कम्पनी वा अफिसबारे पूर्व जानकारी लिनुभयो भने अन्तरवार्तालाई प्रभावकारी बनाउन सक्नुहुन्छ । आफूले काम गर्न खोजेको कम्पनी वा पदबारे पूर्व जानकारी भयो भने अन्तरवार्तालाई सामना गर्न सजिलो हुन्छ । साथै कम्पनी रहेको ठाउँको जानकारी भयो भने यस्तो जानकारीलाई अन्तरवार्तालाई आफ्नो पक्षमा ल्याउन प्रयोग गर्न सकिन्छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage