scheduleशनिवार आश्विन ४ गते, २०७६

सुरु हुँदै नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक

काठमाडौं, ४ भदौ । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ । आज दिउँसो ३ बजेपछि राजधानीको एक होटेलमा बस्ने बैठकमा यसअघि नेपाल भारतबीच भएका सहमति र सम्झौताका विषयमा छलफल हुनेछ ।

बैठकमा राजनीतिक, सुरक्षा र सीमा, आर्थिक सहयोग र भौतिक पूर्वाधार, व्यापार–पारवहन, ऊर्जा–जलस्रोत, संस्कृति–शिक्षासहितका मुख्य एजेन्डामाथि छलफल हुने यसअघि नैे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताइसकेका छन् । दुईदिने बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको प्रतिनिधिमण्डल आज ११ बजेर ५५ मिनेटमा काठमाडौंमा आइपुग्ने कार्यक्रम रहेको छ ।

डुबान समस्या, भारतले प्रतिबद्धता जनाएर पूरा नभएका योजना र पञ्चेश्वरजस्ता थाती रहेका परियोजनाको निकासबारे नेपालले धारणा राख्नेछ । यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करले संयुक्त अध्यक्षता गर्दै आयोगको बैठक शुभारम्भ गर्नुहुने मन्त्रालयले बताएको छ । बैठक सञ्चालका लागि ३५ सदस्यीय प्रतिनिधिमण्डल गठन गरी कार्यविभाजन गरिसकिएको छ ।

रेल्वे लाइन, जलमार्ग, पेट्रोल पम्प लाइन, हुलाकी सडक, चेकपोस्ट स्थापना, नयाँ जलविद्युत योजनालगायतका एक दर्जनभन्दा बढी नवीन विषयमा समझदारी र कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने नेपाल सरकारको विश्वास छ । यसैबीच, भारतीय विदेशमन्त्री नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage