scheduleसोमवार आश्विन ६ गते, २०७६

सुचारु भयो मध्यपहाडी लोकमार्गको रोकिएको काम

पर्वत, ४ भदौ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा रोकिएको काम पुनः सुचारु भएको छ । असार पहिलो सातादेखि रोकिएको काम मंगलवार हिजोबाट पुनः शुरु भएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जानकारी दिएको छ ।

लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरले पूर्व वेतनी देखि १ सय ५ जना कामदारले कामको शुरुवात गरेको जानकारी दिनुभयो । आजबाट थप ४० जना कामदार थपिने र स्तरोन्नतिको काम द्रूत गतिमा अगाडी बढ्ने मगरले बताए ।

निर्माण कम्पनीले अहिले ५ वटा डोजर प्रयोग गरी भिरबाट खसेको माटो पन्छाउने र सडकका खाल्टाहरु पुर्ने काम शुरु गरेको आयोजना कार्यालयले जनाएको छ । पर्वत खण्डको २४ किलोमिटर स्तरोन्नति गर्ने योजना छ ।

अहिलेसम्म ५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले अव कालोपत्रे गर्न मात्रै बाँकी रहेको जानकारी दिएको छ । कार्यालय प्रमुख थापा मगरले लामा कन्ट्रक्सनको केहि ब्यवस्थापकीय पक्षहरुमा समस्या परेका कारण निर्माण कार्य रोकिए पनि अव भने निर्माण कार्यले गति लिने विश्वास व्यक्त गरे ।

यस सडकको गत आर्थिक वर्षको अन्त्यसम्म ७० प्रतिशत काम गर्ने लक्ष्य लिएको भएपनि सोचे अनुसारको प्रगति हुन सकेको छैन । आयोजनाको पर्वतको अँधेरी खोलादेखि मालढुंगासम्मको २४ किलोमिटर स्तरोन्नतिको काम लामा कन्स्ट्रक्शन प्रालिले जिम्मा लिएको हो ।

कम्पनीले ८३ करोड ९८ लाख रुपैयाँमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage