scheduleशुक्रवार मंसिर ६ गते, २०७६

लाग्छ, प्रधानमन्त्रीलाई यसबारे खबर र चासो दुवै छैन

कुनै एक दिन त कहाली लाग्दो व्यापारघाटा र निरन्तर ऋणात्मक बन्दै गरेको वैदेशिक मुद्रा-सञ्चितिबारे पनि प्रधानमन्त्रीले गम्भीर छलफल राखे हुन्थ्यो । देशको मुख्य मुद्दा यही हो । डोनाल्ड ट्रम्पदेखि इमरान खानसम्मको चिन्ता व्यापारघाटा नै भएको देखिन्छ ।

देशको आम्दानीभन्दा प्रशासनिक खर्च धेरै भएकाले विकास त परको क़ुरा, तलब खानकै निम्ति पनि ऋण लिनुपर्छ । गणतन्त्रको मुख्य चुनौती यही अनियन्त्रित प्रशासनिक खर्च हो । लाग्छ, प्रधानमन्त्रीलाई यसबारे खबर र चासो दुवै छैन ।

जम्मा चार खर्बको त्यो पनि ऋण लिएको विकास बजेटमध्ये दुई खर्ब त वर्षको अन्तिम दिनमात्रै खर्च हुनेरहेछ । हिलोमा पिचदेखि सामूहिक झार उखेलेर गरिने त्यस्तो भयानक विकासको समीक्षा गर्न सर्वदलीय बैठक राखे हुन्थ्यो । वार्षिक एक खर्ब त त्यस्तै ऋणको ब्याज तिर्नमात्रै फेरि ऋण लिन पर्ने अवस्था बनिसक्यो । पाकिस्तानकै प्रधानमन्त्रीको हरेक तीनमध्ये एक भाषण यही मुद्दामा केन्द्रित हुन्छ । यसमा पनि हामीलाई खास चासो छैन ।

स्थायी र शक्तिशाली सरकार बनेको दुई वर्ष हुँदासमेत उल्लेख्य रूपमा कुनै काम हुन नसकेकोमा आत्मसमीक्षा बैठक राखे हुन्थ्यो । मेलम्ची होस् या माथिल्लो तामाकोशी, पोखरा होस् या भैरहवा विमानस्थल, फास्टट्ऱ्याक होस् या हुलाकी मार्ग, यसअघिका सरकारहरूले सुरु गरेका योजनाहरू समेत अझै पूरा भएका छैनन् । लाग्छ, अहिलेको सरकारसँग कोशी उच्च बाँध र पानी जहाजबाहेक अर्को योजना छैन ।

नारायण गाउँले
क़ुरा ठूला गर्छौं, तर देशमा एउटा पनि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र छैन । यो राष्ट्रिय लज्जा र छलफलको विषय बन्दैन । वीरेन्द्रले बनाएको एकमात्र सम्मेलन केन्द्र सरकारले एक दशकदेखि कब्जा गरेको छ । एउटा पनि अन्तर्राष्ट्रिय रङ्गशाला छैन । राष्ट्रिय खेलकुदजस्तो गरिमामय प्रतियोगिता रङ्गशाला बिना नै सम्पन्न भयो । यस विषयमा पनि राष्ट्रिय छलफल आवश्यक देखिन्न ।

भनिन्छ, युवाशक्तिलाई विदेश निर्यात गर्ने देशले विकास गर्न सक्दैन । तर १३ सय अरबको व्यापारघाटालाई धान्न र देशलाई टाट पल्टिनबाट रोक्ने रेमिट्यान्सको तत्काल विकल्प उपलब्ध छैन । १३ सय अर्ब विदेशी मुद्राको स्रोत नखोजी युवालाई विदेश जानबाट रोक्नु आत्मघाती हुन्छ । तर सधैँ मान्छे बेचेर देश चल्न सक्दैन । कसरी छिटोभन्दा छिटो रेमिट्यान्समाथिको निर्भरता घटाएर युवाशक्तिलाई देशभित्रै प्रयोग गर्न सकिन्छ भन्नेमा पनि एउटा सर्वदलीय बैठक बसेको सुनिएको छैन ।

तर देशको समाचार र मुद्दा भने बिल्कुल फ़रक छ । कसले कुन विभाग पाउने, आलोपालो सम्झौता कार्यान्वयन हुने नहुने, कसलाई मन्त्री बनाउने, कसलाई हटाउने, कसलाई कुन वरियता दिने, ओली प्रचण्डसँग मिल्ने कि माधव नेपालसँग मिल्ने, कसको समीकरण बलियो हुने जस्ता मुद्दामा डेढ वर्ष सकिनै लाग्यो ।

प्रधानमन्त्रीको भाषणमा या त बुद्ध, भृकुटी र गैंडामात्रै आउँछ या त व्यवस्था परिवर्तन गर्नेबारे नसोच्न धम्कीमात्रै आउँछ । हरेक भाषण कम्तीमा एक घण्टाको हुन्छ तर त्यसमा गाली, क्षोभ, घृणा, आरोप, धम्की र पानीजहाज बाहेक नयाँ र तथ्ययुक्त तत्त्व कति हुन्छ हामी सबैलाई थाहै छ । विश्व नै दङ्ग पर्ने विकास भएको भाषणमा कतिपल्ट ताली ठोकिरहने ? विपक्षी दलको नेताले कतिपल्ट संसदको बैठक एटेण्ड गरे र कतिपल्ट रोस्त्रममा उभिएर यी मुद्दाबारे प्रश्न गरे भन्ने रेकर्ड खोज्नुभो भने झन ठूलो निराशा हात लाग्नेछ ।

आज पनि पानी परे धान धेरै फल्छ, घाम लागे फलफूलको उत्पादन बढ्छ र बर्खा लागे सड़कमा धुलो कम उड्छ । सरकारको सफलता यही हो ।

गणतन्त्रको यदि कोही दुश्मन छ भने त्यो निरन्तर मक्किँदो अर्थतन्त्र नै हो । दिशाहीन, भिजनरहित, भ्रष्ट र अकर्मण्य सरकार र राजनैतिक दलहरू नै हुन् । त्यसैले त एउटा पत्रकारको पक्षमा केही हजार मान्छे सड़कमा आए पनि यसको जग हल्लिन्छ । भूतपूर्व राजाले दुई शब्द बोले पनि यो धरमरिन्छ । हिजोमात्रै सर्वदलीय बैठक बसेर गणतन्त्रलाई सुरक्षा दिने निर्णय भएछ !

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage