डिभी परेर अमेरिका पुगेका वडाध्यक्षले इमेलमार्फत् राजीनामा दिए
काठमाडौं, ५ भदौ । डिभी परेर अमेरिका पुगेका वडाध्यक्षले इमेलमार्फत राजीनामा दिएका छन् ।
स्थानीय निर्वाचन जितेपछि डिभी परेर अमेरिका उडेका मकवानपुर भीमफेदी गाउँपालिका-८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएका हुन् ।
डिभी (डाइभर्सिटी भिसा) परेपछि गत चैत २० गते परिवारसहित घिसिङ अमेरिका गएका थिए । घिसिङ तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। वडाअध्यक्ष अमेरिका गएपछि वडा सदस्य नमराज अधिकारीले वडा कार्यालयको जिम्मेवारी लिँदै आएका छन्।
घिसिङले बुधबार इमेलमार्फत आफ्नो राजीनामा गाउँपालिकामा पठाएका हुन्। तीन महिनाका लागि विदा लिएका घिसिङले पाँच महिनापछि राजीनामा पठाएका हुन् ।
वडा कार्यालयका अनुसार वडाध्यक्ष घिसिङले घरायसी कामकाजका कारण पूरा कार्यकाल सेवा गर्न नपाएको भनेर राजीनामा पत्रमा उल्लेख गरेका छन् ।