scheduleमगलवार भाद्र ३१ गते, २०७६

बालबालिकाको गणितीय सीप ५ मिनेटमा यसरी बढाउन सकिन्छ

अब किन्डरगार्टेनमा पढ्ने बालबालिकालाई गणितीय सीप सिकाउने काम सोचे जस्तो कठिन हुने छैन । हालैको एक अनुसन्धानले सामान्य खेलको माध्यमबाट बालबालिकाको गणितीय क्षमता बढाउने नयाँ विधि पत्ता लगाएको छ ।

अमेरिकाको जोन होपकिन्स विश्वविद्यालयका अनुसन्धानकर्ताले केही मिनेटमा नै केजीमा पढ्ने बालबालिकाको गणितीय सीप तथा क्षमता बढाउने नयाँ विधि प्रतिपादन गरेका हुन् । उक्त नयाँ विधिमार्फत ५ मिनेटमित्रमा नै विद्यार्थीको गणितीय सीपलाई सुधार्न सकिने उनीहरुको भनाई रहेको छ ।

यस्तो छ नयाँ विधि
यो विधि ‘अनुमानित अंक प्रणाली’ मा आधारित रहेको छ । मानिस तथा जनावरमा परिमाणबारे धारणा राख्ने जन्मजात क्षमता हुन्छ र यस्तो क्षमता सानैदेखि नै अभिव्यक्त हुने गर्दछ । यदि बालबालिकालाई डट वा क्र्याकर भएका विभिन्न समूह दिने हो भने उनीहरु बढी डट भएको समूहतर्फ आकर्षित हुने गर्दछन् । सानै उमेरमा देखाउने यस प्रकारको क्षमताले बालबालिकाको गणितीय सीप बढाउने यो नयाँ विधिले प्रमाणित गरेको छ ।

यो नयाँ विधिमा एउटा गणितीय खेल समावेश गरिएको छ । उक्त खेलमा कम्प्युटर वा ल्यापटपको स्क्रिनमा नीलो र पहेलो रंगका डट वा थोप्ला भएका विभिन्न सेट वा समूहहरु राखिएकोे हुन्छ । यी समूहलाई विद्यार्थीसामु देखाइन्छ । त्यसपछि विद्यार्थीलाई बढी डट भएको समूह वा सेट रोज्न लगाइन्छ ।

उनीहरुले सेट छानेपछि कम्युटर वा ल्यापटपमा पहिलालै रेकर्ड गरिएको आवाजले ‘द्याट्स राइट’ (मिल्यो) वा ‘ओ, द्याट्स नट राइट’(मिलेन) भन्ने गर्दछ ।

यसरी गरिएको थियो अनुसन्धान
अनुसन्धानका क्रममा पाँच वर्ष उमेरका ४० जना केटाकेटीलाई सहभागी गराइएको थियो । पाँच मिनेटको उक्त खेलमा कम्युटर वा ल्यापटपमा राखिएका नीला र हरिया रंगका डट भएका विभिन्न सेटमध्ये धेरै डट भएका सेट छान्न बालबालिकालाई भनिएको थियो । ती सेटहरु निकै छिटो छिटो देखाइएको हुनाले बालबालिकाले संख्या नगनीकन अनुमान गरेर सेटलाई रोज्नुपर्ने हुन्थ्यो । विद्यार्थीले सेट छानेपछि कम्प्युटरले नै ‘मिल्यो’ वा ‘मिलेन’ भन्थ्यो ।

यो खेलका क्रममा सेट छनौट गर्दा बालबालिकाले देखाएका विभिन्न कठिनाईलाई अनुसन्धानकर्ताले अवलोकन गरेका थिए । केही बालबालिकाले पहिला सजिलो समूहलाई रोजेर पछि कठिन समूहतिर आकर्षित भएका थिए भने कसैले पहिला कठिन समूह रोजेर पछि सजिलो  समूह रोजेका थिए ।
त्यस्तै तेश्रो समूहमा कठिन र सजिला दुवै सेटहरु राखिएको थियो ।

यो खेल सकिएपछि बालबालिकाबीच गणितीय तथा शब्दसम्बन्धी क्विज गराइएको थियो । उनीहरुको शाब्दिक सीपमा भने खासै कुनै परिवर्तन आएको थिएन । तर सजिलो समूहबाट कठिन समूहतिर लागेका बालबालिकाले गणितमा धेरै अंक ल्याएका थिए । उनीहरुले करीव ८० प्रतिशत उत्तर सही दिएका थिए । सबैभन्दा कठिन समस्या दिइएको विद्यार्थीले झण्डै ६० प्रतिशत उत्तर सही दिएका थिए भने मिश्रित समस्या समाधान गर्न भनिएका बालबालिकाले झण्डै ७० प्रतिशत उत्तर सही दिएका थिए ।

बालबालिको अंक सम्बन्धी धारणालाई सजिलोबाट कठिनतिर जाने विधि मार्फत सुधार गरेर उनीहरुको गणितीय सीपलाई बढाउन सकिने अनुसन्धानकर्ताले बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage