scheduleशनिवार आश्विन ४ गते, २०७६

कम्युनिष्ट भनेको भ्रष्टहरुको गिरोह जस्तो भयोः उपमहासचिव खतिवडा

काठमाडौं, ७ भदौ । समाजवादी पार्टीका उपमहासचिव तथा राजनीतिक विश्लेषक डम्बर खतिवडाले नेपालमा कम्युनिष्ट भनेकै भ्रष्टहरुको गिरोह भनेजस्तै भएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा धादिङ-काठमाडौं सम्पर्क संयन्त्रको अधिवेशनमा बोल्दै नेता खतिवडाले यस्तो आरोप लगाएका हुन् । ‘आन्दोलन र क्रान्तिमा हुँदा सुशासन र सदाचारका ठूलठूला कुरा गर्ने कमरेडहरु आज सत्तामा पुगेपछि के भयो ? हालत देख्नुभएकै छ,’ उनले भने, ‘एनसेल काण्ड, वाइडबडी काण्ड, काण्डैकाण्डका दैनिक खबर आइरहेका छन्, । नेपालमा कम्युनिष्ट भनेकै भ्रष्टहरुको गिरोह भनेजस्तो भइसक्यो । ग्रुप अफ करप्टेड पिपुल भनेकै कम्युनिष्ट भनेर डिक्सनरीमा राख्दा पनि हुने भइसक्यो ।’

नेता खतिवडाले नेपालमा भ्रष्टाचार बढ्नुमा शासकीय स्वरुपको पनि दोष रहेको तर्क गरे । उनले भने, ‘यस्तो भएको सबै मानिसको मन एकैचोटि बिग्रिएर होइन, देशमा सुशासनलाई सघाउने प्रणाली नभएर हो ।’

यस्तो छ अनिल अधिकारीको नेतृत्वमा २९ सदस्यीय सम्पर्क संयन्त्र बनेको बैठकमा खतिवडाले राखेको विचारको सम्पादित अंश-

भोट जिताउन दिने कि जित्नेलाई दिने ?

राजनीतिमा पार्टीको नाम मात्रै महत्वपूर्ण कुरा हुँदैन, राजनीतिमा एजेण्डा महत्वपूर्ण कुरा हुन्छ । राजनीतिमा मान्छेको अनुहार महत्वपूर्ण कुरा हुँदैन, राजनीतिमा विचार महत्वपूर्ण कुरा हुन्छ । पार्टीहरुले कुन राजनीतिक एजेण्डा र विचार उठाइरहेका छन् भन्ने कुरालाई महत्व दिएर हेर्नुपर्छ ।

नेपाली जनताले लामो समय काँग्रेस र कम्युनिष्टहरुको शासन हेरे । तर, कांग्रेस सरकारमा आएर कम्युनिष्ट प्रतिपक्षमा गए पनि र कम्युनिष्ट सरकारमा आएर कांग्रेस प्रतिपक्षमा गए पनि केही फरक परेन । पाँच पैसा उफार्दा गाई पल्टिए पनि त्रिशुल पल्टिए पनि पैसाको मूल्य त पाँच पैसा नै हो । यस्तै भयो ।

नेपालमा एउटा दुर्भाग्यपूर्ण अवस्था छ । देश समाजवादी भनिएको छ । तर शासन चलाइरहेका छन् साम्यवादीहरुले । देश समाजवादी भनिएको छ, चलाइरहेका छन् पुँजीवादीहरुले । समाजवादी देश चलाउन त समाजवादी नै शक्ति चाहिन्छ ।

जित्नेलाई भोट दिने कि जिताउनलाई भोट दिने ? जबसम्म नागरिकले यो कुरा बुझ्दैनन्, तबसम्म देशमा हामीले चाहेजस्तो समृद्धि आउँदैन । राम्रो उम्मेदवारलाई पनि जित्दैन भनेर जित्ने उम्मेदवारको नाममा भ्रष्टलाई भोट हाल्दा देशमा अहिलेको अवस्था आएको हो ।

इलेक्सन ट्र्यापबाट निस्कन शासकीय स्वरुप फेरौं

नेपालमा पहिला शासकीय प्रणाली फेरेर निर्वाचनमा धेरै खर्च हुने प्रणालीको अन्त्य गर्नुपर्छ । नेपालमा एउटा ‘इलेक्सन ट्र्याप’ बनेको छ । जो मान्छे सबैभन्दा बढी भ्रष्ट हुन्छ, त्यसले सबैभन्दा बढी पैसा कमाउँछ । जो मानिसले सबैभन्दा बढी पैसा कमाउँछ, त्यसले चुनावमा सबैभन्दा धेरै खर्च गर्न सक्छ । त्यसैलाई जित्ने उम्मेदवारमा जनताले गन्छन् । हृदयले रुचाएको उम्मेदवार होइन कि ठूला पार्टीका यस्तै जित्न सक्ने उम्मेदवारलाई भोट हाल्छन् ।

यसरी, सबैभन्दा बढी खर्च गर्न सक्ने मानिस चुनाव जितेर सत्तामा आउँछ र यहाँ प्रतिष्पर्धा नै भ्रष्टहरुको बीचमा हुन्छ । सबैभन्दा बढी भ्रष्टाचार गरेर चुनाव खर्च उठाउँछ र अर्को चुनावको तयारी गर्न थाल्छ । यो दुश्चक्रबाट बाहिरिन शासकीय स्वरुप फेर्नैपर्छ ।

आन्दोलन र क्रान्तिमा हुँदा सुशासन र सदाचारका ठूलठूला कुरा गर्ने कमरेडहरु आज सत्तामा पुगेपछि के भयो ? हालत देख्नुभएकै छ । एनसेल काण्ड, वाइडबडी काण्ड, काण्डैकाण्ड छ । नेपालमा कम्युनिष्ट भनेकै भ्रष्टहरुको गिरोह भनेजस्तो भइसक्यो । ग्रुप अफ करप्टेड पिपुल भनेकै कम्युनिष्ट भनेर डिक्सनरीमा राख्दा पनि हुने भइसक्यो । यसो भएको सबै मानिसको मन एकैचोटि बिग्रिएर होइन, देशमा सुशासनलाई सघाउने प्रणाली नभएर हो ।

देशको वरियता छाडेर नेताको वरियता झगडा
समृद्धिको नारा दिएर सरकारमा आएको दुईतिहाई बहुमतसहितको ओली सरकार देशको वरियता उकास्ने कुरा छाडेर नेताको वरियता विवादमा अल्झिएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा माधव नेपालको वरियता विवाद हुनुपर्ने हो कि देशको वरियता उकास्ने छलफल हुनुपर्ने हो ? जनता मास फ्रस्टेसनको अवस्थामा छन् । कांग्रेस आए पनि भएन, कम्युनिष्ट आए पनि भएन भन्ने निराशा जनतामा बढिरहेको छ ।

प्रधानमन्त्री ओली जनताले दिएको स्वास्थ्य लाभ पनि स्वीकार्न नसक्ने अवस्थामा छन् । उनी त सिंगो देशले नै मेरो मृत्यूको कामना गरिरहेको छजस्तो गरेर अभिव्यक्ति दिन थाल्नु भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage