scheduleशुक्रवार मंसिर ६ गते, २०७६

हलुवापुरी, राजा र सत्तापलट

बिनाराम खड्का

परापूर्वकालमा प्रजाहरुको हित चिताउने भनी एकजना जोगी सन्यासीलाई राजगद्दीमा बसालियो । भ्रष्टाचार नगर्ने¸ प्रजाको हित चिताउने¸ निजी सम्पत्तीतिर जोड नगर्ने स्वच्छ छविका महात्मालाई राज्यको साँचो सुम्पदा चारैतिर सुखैसुख होला भनेको त केही पनि सुधार भएन ।

जोगी राजा हलुवापुरीमा मात्र लीन हुन थाले । हलुवापुरी बाहेक केही देख्दै नदेख्ने । चारैतिर हाहाकार हुन थाल्यो । राजकीय निर्णयहरु हुन सकेनन् । विरोध र आक्रोश उठ्न थाल्यो । असन्तुष्टीका स्वरहरु बढ्न थाले ।

गुप्तचरले दरबारमा सन्देश टिपाए । ‘सरकार प्रजाहरुमा असन्तुष्टी बढ्न थाल्यो,’ दरबारका सेवक सन्देश बोकेर राजानजिक पुगे । राजा भन्छन्, ‘ए त्यसो पो भो ।’ अनि सोध्छन्, ‘हलुवापुरी के छ नि ?’ सेवक भन्छन्, ‘हलुवापुरी त दुरुस्त छ सरकार ।’

अनि राजा भन्छन् ‘हलुवापुरी ठीक छ भने अरु जे भए पनि केही फरक पर्दैन । छोड सब कुरा ।’

बिनाराम खड्का

केही समयपछि । दरबारमा पुनः सन्देश पुग्यो ।

‘शहर बजार सबैतिर हल्लाखल्ला मच्चिन थाल्यो । राजाप्रतिको आक्रोश झन् बढ्न थाल्यो । मान्छेहरु संगठित हुन थाले । चोक गल्लीमा जुट्न थाले ।’

यसपटक पनि राजाले सेवकलाई सोधे, ‘हलुवापुरीको हाल के छ ?’
सेवक भन्छ, ‘सरकार हलुवापुरी त सब ठीक छ ।’ राजाले भने, ‘हलुवापुरी ठीक छ त सब ठीक छ ।’

एवम् रितले महिनौँ बिते । नागरिकहरु संगठित भई सरकारको विरोधमा उत्रिन थाले । गाउँ शहर जताकतै सरकारकै विरोध हुन थाल्यो । राज्यका हरेक निकायमा असन्तुष्टी बढ्न थाल्यो । राज्यभरी जताकतै आक्रोशै आक्रोश । जनताहरु सडकमा भेला हुँदै चिच्याउन थाले । विरोधका आवाज झन् बढे ।

हुँदा हुँदा आक्रोशको निशाना दरबारतिर सोझिन थाल्यो । दरबारलाई तिर्ने राजश्व/कर बन्द भयो । जनताको विशाल संख्या दरबारतिर लम्कियो । दरबारलाई चारैतिरबाट घेरियो । दरबारमा पुग्ने सबै नाकाहरु बन्द गरियो । राजाकै विरोधमा नाराबाजी हुन थाल्यो । मुठ्ठीहरु कसिन थाले ।

राजसिँहासनमा बसेका राजाकहाँ पुनः खबर पुर्‍याइयो । ‘सरकार मान्छेहरु बाहिरैसम्म आए । पर्खाल भत्काउन थाले । बाहिरबाट आउने सबै चिज रोकिदिए । दरबार घेराबन्दी र नाकाबन्दीमा पर्‍यो सरकार ।’

यसपटक पनि राजाले सेवकलाई प्रश्न गरे, ‘अनि अनि हलुवापुरीको हाल के छ ?’

सेवक भन्छन्, ‘सरकार हलुवापुरी पनि खत्तम सरकार । सबै नाकाबन्दी । अब हलुवापुरी असम्भव ।’

अनि राजा सिंहासनबाट ओर्लिंदै आफ्नो लोटा र कमन्डलु समाएर पुरानो लुङ्गी सिमल्दै पाइखाना हुंदै जंगलतिर दौडिन्छन् । ‘भाग बालिके भाग । अब यहाँ एक सेकेन्ड पनि बस्नु ठीक छैन । दरबार छोडेर भाग । हलुवापुरी छैन त दरबारमा केही छैन ।’

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage