scheduleबिहिवार आश्विन २ गते, २०७६

शिक्षामा व्यापक क्रान्ति र छलफल गर्न जरुरी छ : मन्त्री पोखरेल

फाइल फोटो

ललितपुर, ७ भदाै । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको शैक्षिक क्षेत्र सुधारका लागि व्यापक क्रान्ति र छलफल गर्न जरुरी भएको बताएका छन् । मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा शनिबार भएको ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’ मा उनले शताब्दीऔं अगाडि देखिको औद्योगिक कालको शिक्षालाई परिवर्तन गर्न आवश्यक भएकाले व्यापक क्रान्ति र छलफल गर्न जरुरी रहेको बताए ।

‘शिक्षाका माध्यमबाट समाजको नेतृत्व गर्ने राजनीतिज्ञ, औद्योगिक, शिक्षक, व्यापारी, चिकित्सक, चालकलगायतका विभिन्न जनशक्ति सिर्जना हुने गर्छन्’, शिक्षामन्त्री पोखरेलले भने, ‘यी सबै पद र प्रतिष्ठामा रहेका व्यक्ति सिर्जना गर्ने शिक्षाको सिकाइमा नयाँ ज्ञान, मूल्यमान्यता र व्यवहारको विकास हुनुपर्छ ।’ विद्यालय तहको शिक्षालाई अपेच्छा अनुसार गुणस्तरमा सुधार गर्न नसकेको उनले बताए ।

समाजमा शिक्षाको गुणस्तरप्रति आमचासो बढेको बताउँदै मन्त्री पोखरेलले भने, ‘शिक्षा तुरुन्तै रुपान्तरण र परिभाषित गर्न सक्ने विषय नभएकाले यसलाई सर्वसुलभ र गुणस्तरीय बनाउँदै जाँदा नयाँ ढङ्ग र अनुभव बढ्ने छ ।’ हरेक मानिसमा सकारात्मक चिन्तन विकास गर्न सहयोग गर्ने माध्यमनै शिक्षा रहेको उनको भनाइ थियो । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage