scheduleआइतवार फाल्गुन ४ गते, २०७६

शीर्ष नेता र उच्च कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्छ : संयोजक मिश्र

बुटवल, ७ भदौ । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले शीर्ष नेता र उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन् ।

संयोजक मिश्रले आइतबार बुटवलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । भ्रष्टाचारको मूल जरो शीर्ष नेता र उच्च तहका कर्मचारी नै भएको मिश्रको भनाइ छ । ०४६ सालयता सरकारको नेतृत्वमा पुगेकाहरुको सम्पत्ति छानबिन गर्नुपर्ने समेत मिश्रको माग रहेको छ ।

‘भ्रष्टाचार रोक्न ०४६ सालयता राजनीतिक र प्रशासनिक नेतृत्वमा पुगेका सबैको सम्पत्ति छानविन गर्नुपर्छ । हाम्रो पार्टी सरकारको नेतृत्वमा पुग्यो भने पहिलो क्याबिनेटबाट यो निर्णय गर्छौं’, मिश्रले भने ।

त्यस्तै पुराना दलहरुले आमजनता, कर्मचारीलाई दलको छाता नओढी नहुने स्थितिमा पुर्‍याएको मिश्रको आरोप छ । ‘पुराना दलहरुले हरेक नागरिकलाई स्वतन्त्र रहन नदिई दलको छाता ओढ्नैपर्ने संस्कार सिकाएका छन्,’ उनले भने, ‘जनताले विकल्प नदेखेर बाध्यतावश दलको छाता ओढेका हुन् । अब स्वतन्त्र भएर सोच्न र निर्णय गर्न सक्नुपर्छ । दलको मायाजालबाट मुक्त हुनुपर्छ ।’

पत्रकारहरुको प्रश्नमा संयोजक मिश्रले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता खतरामा पर्‍याे भन्नु सरकार र दलहरुले आफ्नो अकर्मण्यता र कमजोरी ढाकछोप गर्ने बहानाबाजी मात्रै भएको बताए । ‘गणतन्त्र वा अरु केही खतरामा पर्छ भने जनताको कारण होइन, यिनै ठूला भनिएका दलकै कारण पर्ने हो,’ मिश्रले भने, ‘भय सिर्जना गरेर, नागरिकको ध्यान अन्तै मोडेर आफू सुरक्षित हुने उपाय मात्रै हो ।’

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय