scheduleमगलवार भाद्र ३१ गते, २०७६

१५ बुँदे टीकापुर घोषणापत्र जारी गर्दै सकिइ थरुहट र थारुवान राष्ट्रिय सम्मेलन


कैलाली, ९ भदौ । लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय थरुहट/थारुवान राष्ट्रिय मोर्चा गठन गर्दै कैलालीको टीकापुरमा आयोजित तीनदिने थरुहट र थारुवान राष्ट्रिय सम्मेलन सोमबार सम्पन्न भएको छ ।

सम्मेलनले १५ बुँदे टीकापुर घोषणापत्र जारी गरेको छ । सम्मेलनले थरुहट आन्दोलनलाई नयाँ सिरामा पुर्‍याउनुका साथै पहिचानका पक्षधरलाई एकताबद्ध गरेको घोषणापत्रमा उल्लेख छ । बिग्रिएको भनिएको टीकापुरको सामाजिक सद्भाव मजबुत् भएको र सद्भाव कायम गर्न राज्य नै तदारुकताका साथ लागेको सम्मेलनले पुष्टि गरेको पनि घोषणापत्रमा उल्लेख छ ।

मधेस/थरुहट आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठित गिरिशचन्द्र लाल आयोग सहितका विभिन्न प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई घोषणापत्र मार्फत् माग गरिएको मोर्चाका प्रवक्ता मीनराज चौधरीले जानकारी दिएका छन् । भदौ ८ गतेका दिन ‘कर्फ्यु’ जारी भएकै अवस्थामा टीकापुरका थारु समुदायको भौतिक संरचनामा आगजनी गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने मागसमेत गरिएको छ ।

यस्तै, संघर्ष समिति र सरकारबीच विभिन्न समयमा भएका १३ बुँदे सहमति कार्यान्वयन गर्न माग गरिएको छ । सम्मेलनले सात प्रदेशको संरचना कुनैपनि हालतमा नमान्ने भन्दै जातीय पृष्ठभूमिका आधारमा पहिचान सहितका ११ प्रदेश हुनुपर्ने र त्यसमा एक प्रदेश थरुहट, थारुवान स्वायत्त प्रदेश सीमांकन र नामांकन गरिनुपर्ने माग पनि गरिएको छ ।

यस्तै, संघीय निजामती ऐन संशोधन गरी राज्यका सबै निकायमा जातीय जनसंख्याको आधारमा लोकसेवा आयोगले विज्ञापन जारी गर्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage