scheduleमगलवार मंसिर ३ गते, २०७६

राजनीतिमा सेलिब्रेटीः आउँछन् त रवि लामिछाने राजनीतिमा ?

डम्बर खतिवडा

करिब १ वर्षयता मसंग टेलिभिजन छैन । मेरा लागि टेलिभिजनको युग ‘फेज आउट’ भएको छ । बिहानै छोरीहरु स्कुल/कलेज जान्छन् । साँझ मात्र आउँछन् । श्रीमति आफ्नै काममा निस्किन्छिन् । मेरो आफ्नै प्रकारको समय व्यस्तता हुन्छ । साँझ भेला भएर खाना खाँदानखाँदै अबेर हुन्छ । त्यसपछि सबै आ-आफ्नो मोबाइल र नेटमा व्यस्त । टेलिभिजन किन र कस्का लागि चाहियो ? तसर्थ, भएको टेलिभिजन सेट पनि फोहोर उठाउने मजदुरलाई दिइ पठाए ।

फेसबुकमा शेयर भएका केही एपिसोड बाहेक टिभी सेट अगाडि बसेर मैले रवि लामिछानेको एउटा पनि कार्यक्रम हेरेको छैन । चर्चा सुनिनु अर्कै कुरा । उनका कार्यक्रमहरुको यति गहिरो प्रभाव स्रोतामा परेको छ, त्यो मेरो कल्पनाभन्दा बाहिर थियो । सायद रवि आफैले यो कल्पना गरेका थिएनन् कि उनको लोकप्रियता यति धेरै छ । जुनसुकै पेशा र कर्मबाट होस्, समाजलाई असल विचारतिर अभिप्रेरित गर्नु सकारात्मक योगदान हो । यस अर्थमा रविलाई हार्दिक बधाई र धन्यवाद छ ।

रवि जोडिएको केस राजनीतिक तथा सामाजिक थिएन । मूलतः त्यो क्रिमिनल केस थियो । यस्ता केसमा पुलिसले मान्छेलाई हिरासतमा लिनु, छानबिन गर्नु, प्रमाण वा सुराक प्राप्त गर्ने प्रयास गर्नु स्वभाविक हुन्छ । संसारभरि नै गरिन्छ त्यो । रवि जोडिएको केसको वास्तविकता के हो ? त्यहाँ कस्लाई न्याय हुँदैछ, कस्लाई अन्याय हुँदैछ, त्यतातिर जान चाहन्नँ म । कुनै पनि क्रिमिनल केसमा सजिलै बोल्नु बान्छनीय हुँदैन । त्यसका लागि पर्याप्त प्रमाण र आधार चाहिन्छ । अध्ययन र ठहर चहिन्छ । त्यो पुलिसले गर्दै गर्ला ।

तर प्रश्न कहाँ हो भने जनताले पुलिस र राज्यलाई विश्वास गरेनन् । किन त ? किन जनताले एउटा व्यक्तिलाई विश्वास गर्‍यो तर पुरै राज्य संयन्त्रलाई अविश्वास गर्‍यो ?

यसको अर्थ हाम्रो राज्यले जनविश्वास गुमाउँदै गएको छ । राज्य निष्पक्ष र प्रभावकारी नभएको प्रमाण हो यो । अन्यथा एउटा सेलीब्रेटीका लागि त्यो पनि क्रिमिनल केससँग जोडिएको, सर्वसाधारणको यत्रो रुचि र आकर्षण नदेखिनु पर्ने हो । तर, देखियो । यो नै महत्वपूर्ण पक्ष हो कि नेपाली मनोविज्ञान कसरी भित्रभित्रै आक्रान्त हुँदैछ । राज्य कसरी अर्थहीन र अविश्वसनीय हुँदैछ । सत्ताधारी दल र नेताहरु कसरी जनताको कठघरामा पर्दै गएका छन् ।

‘मास फ्रस्टेशन’ भन्ने एउटा शब्द हुन्छ राजनीतिमा । मूलतः राज्यको विश्वसनीयता कमजोर भएको बेला यो देखा पर्दछ । मास फ्रस्टेशन कहाँ कसरी बिस्फोट हुन्छ, कसैले भन्न सक्दैन । विगत ७० वर्ष यता नेपाली जनता सबैभन्दा निरास भएको समय हो यो । लामिछाने प्रकरण आम निरासाको झिल्को मात्र हो । यदि राज्य र मूलधार दलहरु होसियार भएनन् र सच्चिएनन् भने अझै ठूल्ठूला अकल्पनीय घटनाहरु हुन सक्दछन् ।

कतिपयलाई यो कुरा पूर्वाग्रहजस्तो लाग्न सक्छ कि जनता यतिखेर सर्वाधिक निराश छन् । विशेषतः सत्तारुढ दलका साथीहरुले त्यस्तो ठान्लान् । यस्को अर्थ यो हैन कि आजको कम्युनिष्ट सरकारभन्दा हिजोका राणा, शाह, पञ्च र कांग्रेसको सरकार राम्रा थिए । ती सरकार पनि खासै प्रभावकारी र राम्रा थिएनन् । तर जनतामा एउटा आशा बाँकी थियो, क्रान्तिको आशा, कुनै दिन क्रान्तिकारीहरु सत्तामा आउलान् र केही गर्लान् भन्ने आशा थियो । त्यो आशाले मास फ्रस्टेशन हुन दिँदैनथ्यो । अब त त्यो पनि रहेन ।

विकास कार्यहरुमा गुणस्तर छैन । शिक्षा र स्वास्थ्य यति महंगो भएको छ कि मध्यमवर्गलाई पनि धान्न गाह्रो भइरहेको छ । मान्छेहरु उपचार गर्नुभन्दा त्यसै मर्नु उचित ठान्ने मुडमा छन् । परिवारलाई टाँट पल्टाएर बाँच्नुको अर्थ देख्न छोडेका छन् । मिडियामा खुलेआम मर्न पाउने अधिकारको पैरवी हुन थालेको छ ।

अहिले नै जनताले विप्लवलाई क्रान्तिकारी विकल्प मानिसकेका छैनन् । भर्खरै एकीकृत भएको समाजवादी पार्टी कम्युनिष्ट सरकारमा सामेल छ, जनतालाई सरकारकै अंगजस्तो, सरकारको जसअपजसको भागिदारजस्तो लागिरहेको छ । विवेकशील र साझाको विभाजनपछि यी दुवै दलप्रतिको जनरुचि घटेको छ । तसर्थ, जनताले मन अड्याउने ठाउँ पाइरहेका छैनन् । यस्तो बेला रविजस्ता सेलिब्रेटीमा गएर जनताको मन अड्किएको रहेछ, त्यो हामी कसैले पत्तो पाएनौं । अनुमान नै गरेनौं ।

कम्युनिष्टहरु सरकारमा आएपछि देशको अर्थतन्त्र झनझन चौपट हुँदैछ । देशमा रोजगार छैन । व्यापार घाटा चुलिएको छ । वैदेशिक ऋण यसरी बढ्दैछ कि नेपाल श्रीलंका वा पाकिस्तानजस्तो ऋणको पासोमा फस्ने संभावना तीव्र भएको छ । वैदेशिक मुद्राको सञ्चिती ५ महिना मात्र पुग्ने अवस्थामा छ । शोधान्तर स्थिति यति कमजोर इतिहासमा कहिल्यै भएको थिएन ।

एकातिर सरकार लगानी सम्मेलन गर्दैछ, अर्कोतिर वैदेशिक लगानी घट्दो छ । बजार मूल्य आकासिदो छ । एक छाक तरकारी किन्दा सय चोटी सरकारलाई सराप्ने मनोदशामा उपभोक्ता छन् । भ्रष्टाचारको कुनै सीमा छैन । एनसेल, बुढीगण्डकी, वाइडबडीजस्ता सबै ठूला कमिसनकाण्ड सत्तापक्ष र प्रतिपक्षको मिलोमतोमा गुमसुम पारिएको छ । अख्तियार राजनीतिक भ्रष्टाचारमा हात नहाल्ने मनस्थितिमा देखिन्छ । सायद आयुक्तहरु महाअभियोगको डरले छुलछुल छन् ।

विकास कार्यहरुमा गुणस्तर छैन । शिक्षा र स्वास्थ्य यति महंगो भएको छ कि मध्यमवर्गलाई पनि धान्न गाह्रो भइरहेको छ । मान्छेहरु उपचार गर्नुभन्दा त्यसै मर्नु उचित ठान्ने मुडमा छन् । परिवारलाई टाँट पल्टाएर बाँच्नुको अर्थ देख्न छोडेका छन् । मिडियामा खुलेआम मर्न पाउने अधिकारको पैरवी हुन थालेको छ । सत्तारुढ नेताहरु राज्यकोषबाट करोडौं लिएर विदेश उपचार गर्न जान्छन् । यो विरोधाभाषले जनताको मन दुख्नु स्वभाविक हुन्छ ।

कम्युनिष्ट सत्ता कम्युनिष्ट समर्थकहरुलाई नै टोक्नु न बोक्नु भएको छ । यतिका लामो संघर्ष, बलिदान, दुःखबाट कम्युनिष्टहरु सत्तामा आए । पार्टी गठन भएको ६८ बर्षपछि पहिलो बहुमत ल्याए । तर देशको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा कुनै ठोस योगदान हुन सकिरहेको छैन । हिजो कम्युनिष्टहरु क्रान्तिकारी भुमिसुधार भन्थे । आज उनीहरुमाथि बालुवाटारको जग्गा निजी बनाएको, गुठी जग्गाहरु खाइमासी गरेको आरोप छ । यी मास फ्रस्टेशनका प्रष्ट देखिने कारणहरु हुन् ।

लामिछाने प्रकरणमा यी कुराको अप्रत्यक्ष सम्बन्ध छ जस्तो लाग्छ । जहाँसम्म रवि राजनीतिमा आउने कुरा छ– इच्छा छ भने आऊन् । शुभेच्छा छ उनलाई । लोकतन्त्रमा हरेक नागरिकलाई त्यो अधिकार छ । जनताले पत्याए, चुनाव जिते सांसद हुन्, मन्त्री हुन्, प्रधानमन्त्री हुन्, राष्ट्रपति हुन्, देशका लागि राम्रो गरुन् ।

तर, शुभेच्छा, भावना एउटा कुरा हो । व्यवहारिक यथार्थ अर्को । नेपालको राजनीतिक धरातल यति कठोर र निर्मम छ कि टेभिभिजन कार्यक्रममा जस्तो राजनीतिमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन वा स्रोताजस्तै मतदाताको विश्वास जित्न सहज हुने छैन ।

किन त ?
पहिलो– रवि राजनीतिमा आउने हो भने अहिले भइरहेका कुनै पनि पार्टीहरु उनका लागि योग्य हुँदैनन् । भएका सबै पार्टी र नेतालाई खलनायक बनाएर उनको नायकत्व निर्माण भएको छ । उनले बिल्कुल नयाँ पार्टी गठन गर्नुपर्ने हुन्छ । कतिपयले आशंका गरेजस्तो उनी विचारले ‘राजावादी’ हुन् र राप्रपामा लाग्ने हो भने कोमल ओली र रेखा थापाको नियति दोहोरिने निश्चित हुन्छ । रविले त्यो गल्ती नगर्लान् ।

दोस्रो– नयाँ पार्टी बनाउँदा फेरि मान्छेले विचार र एजेण्डाको प्रश्न उठाउँनेछन् । कुनै न कुनै कित्तामा धकेलिन उनी बाध्य हुन्छन् । मिडियामार्फत् अरुलाई प्रश्न र आक्रमण गर्ने रविलाई स्वयं मिडियाले प्रश्न र आक्रमण गर्न थाल्ने छ । एकतर्फी कुरा सुनेर सेलिब्रेटीहरुको अनुयायी पंक्ति तयार भएको हुन्छ । जब दोहोरो बहसमा जानुपर्ने हुन्छ, अनुयायीहरु उत्तिकै दृढ रहदैनन् । उनीहरुको मनोविज्ञान विभाजित हुन्छ ।

डम्बर खतिवडा

यो अवस्थामा विस्तारै साझा पार्टी र रविन्द्र मिश्रको नियति दोहोरिन्छ । अरुलाई मात्र प्रश्न र आक्रमण गर्दा मिश्रजी हाईहाई थिए । जब उनी माथि नै प्रश्न र आक्रमण हुन थाल्यो उनी फिका हुँदै गए । विवेकशील दलका युवाले मिश्रजी माथि तिनै आरोप लगाइए दिए जो उनी पुराना पार्टीका नेताहरुलाई लगाइरहेका थिए । उनी माथि पनि त्यही अन्तरपार्टी लोकतन्त्रको सुनिश्चित नगरेको, नयाँ पुस्तालाई नसहेको, आर्थिक पारदर्शिता कायम नगरेको, आफ्ना निजी विचारहरुलाई नै पार्टी विचार जस्तो बनाउने आत्मकेन्द्रित सोच देखिएको, अतिमहत्वाकांक्षा प्रस्तुत गरेकोजस्ता आरोप लाग्यो ।

तेस्रो– रविले नयाँ पार्टी बनाएको दिन सायद उनले काठमाण्डौंमा पार्टी अफिस खोल्नुपर्ने हुन्छ । घरभाडा न्यूनतम् डेढ लाख चाहिने छ । अफिसको अरु लजिस्टिक र स्टाफ खर्च धान्न महिनाको न्यूनतम् ५ लाख चाहिने हुन्छ । सायद उनको निजी धनले यो खर्च लामो समय धान्दैन । चन्दाको चक्करमा लाग्ने बित्तिकै उनी विस्तारै पुराना नेताझैं भ्रष्टाचारको चंगुलमा फस्न अनिवार्य हुन्छ । अझ चुनाव लड्ने र चुनाव खर्च जुटाउने चटारोमा फसेपछिको दशादुर्दशा अर्कै हुन्छ ।

चौथो– नेपाली मतदाताको मनोविज्ञान बढो विचित्रको छ । उनीहरु अरु दिन पुराना नेतालाई गाली गर्छन् । चुनावको एक दिन फेरि तिनै नेता र पार्टीलाई भोट हाल्छन् । विगत ३ दशकदेखि यही दोहोरिरहेको छ । यसो हुनुको गहिरो सामाजिक/मनोवैज्ञानिक कारण छ । नेपालमा विशेषतः कांग्रेस–कम्युनिष्टको बलियो नेटवर्क छ । मतदाता मातृपार्टी भावनामा संस्कारित छन् । एजेण्डामा भोट दिने मतदाताको चेतना निर्माण भएकै छैन । जब चुनाव आउँछ, आमाबुबा, काकाकाकी, मामामाइजु, साथीभाइले नयाँ र स्वतन्त्र मतदातालाई च्याप्दै लग्छन् । ‘अरु बेला जे गर, तर भोट चाहिँ मेरो पार्टी र उम्मेद्वारलाई दे’ भनेर नयाँ पुस्तालाई पुरानाले चौखुर्‍याउँछन् । यो मनोवृति तोड्न धेरैलाई हम्मेहम्मे परिरहेको छ, त्यो रविका लागि पनि सहज हुने छैन ।

पाँचौ– नेपाल ठिमाहा संसदीय शासकीय स्वरुप र निर्वाचन प्रणाली कायम भएको देश हो । देशमा नयाँ नेतृत्व जन्मिन प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ । त्यो प्रणालीमा एउटा व्यक्तिको लोकप्रियताले पनि धेरै ठूलो काम गर्दछ । तर संसदीय प्रणालीमा निर्वाचन क्षेत्रपिच्छे फरकफरक समीकरण र व्यक्तित्वहरु हुन्छन् । रविले पाटी खोल्ने बित्तिकै सबै निर्वाचन क्षेत्रमा उत्तिकै प्रभावकारी उम्मेद्वार पाउन सम्भव हुँदैन ।

यी चुनौतिलाई सामना गर्नेगरी राजनीतिमा आउँछन् र साँच्चै पार लगाउँछन् भने त्यो सर्वथा एक क्रान्ति सरह हुनेछ । सायद उनले यो आँट गर्दैनन् ।

अलिक फरक अपेक्षा करिष्माजीबाट गरिएको थियो । नयाँ शक्तिका कष्टसाध्य दिनहरुमा अनेकौं मान्छे भागाभाग हुँदा उनले धैर्यता देखिएकी थिइन । तर, सानो कन्फुजनले फेरि निस्क्रिय बनाएको छ । किन यस्तो हुन्छ ? किन अरु देशका सेलीब्रेटी राजनीतिमा पनि जम्छन् ? किन नेपालमा त्यसो हुन सकिरहेको छैन ?

यथार्थको अर्को पाटो पनि छ । नेपाली सेलिब्रेटीहरुको राजनीति जीवन खासै सहज र सफल छैन । विश्वमा त्यस्ता अनेक उदाहरण छन् । अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनदेखि तमिलनाडु कि मुख्यमन्त्री जयललितासम्म राजनीतिमा राम्रो जमेका सेलिब्रेटीहरुको धेरै उदाहरण छन् ।

तर, नेपालमा ठीक उल्टो देखिन्छ । शिव श्रेष्ठ जमानामा चलेका हिरो थिए । २०४६ पछि गिरिजाबाबुका धेरै चुनावी सभामा भेटिन्थे । तर कांग्रेसमा उनको कुनै प्रष्ट पहिचान र स्थान बनेन । भुवन केसी दोस्रो संविधानसभा ताका एमाले प्रवेश गरे । काठमाण्डौं–१ को टिकट नपाएपछि राजनीतिबाटै गुमनाम भए । रेखा थापा माओवादी प्रवेश गरेर प्रचण्डसंग नाँच्न सडकमा पुगिन् । पछि राप्रपा भइन । त्यसपछि यता न उता ।

जसोतसो कोमल ओली राष्ट्रियसभा सदस्य बनेकी छन् । तर, त्यो पद प्राप्ति मात्र हो, कुनै आदर्श प्राप्ति हैन । उनी राप्रपाबाट एमाले पुगिन्, जबकी यी दुई पार्टीको विचार र एजेण्डामा कुनै समानता थिएन । राजनीतिक मर्यादाको दृष्टिकोणबाट यो अस्वभाविक र अनैतिक कार्य थियो । विचरी, पदका लागि हापझाप त गरिन तर राजनीतिमा कुनै मौलिक स्थान बनाउन सकिनन् । सायद सक्दिनन् पनि ।

अलिक फरक अपेक्षा करिष्माजीबाट गरिएको थियो । नयाँ शक्तिका कष्टसाध्य दिनहरुमा अनेकौं मान्छे भागाभाग हुँदा उनले धैर्यता देखिएकी थिइन । तर, सानो कन्फुजनले फेरि निस्क्रिय बनाएको छ । किन यस्तो हुन्छ ? किन अरु देशका सेलीब्रेटी राजनीतिमा पनि जम्छन् ? किन नेपालमा त्यसो हुन सकिरहेको छैन ?

भारतमा स्मृति इरानीले लामो धैर्यता र मेहनतपछि अमेठीजस्तो निर्वाचन क्षेत्रमा राहुल गान्धीलाई हराईन । हेमा मालिनी विजेपी राजनीतिमा निरन्तर छिन् । पाकिस्तानका खेलकुद सेलीब्रेटी इमरान खानलाई प्रधानमन्त्री बन्न २२ वर्ष लाग्यो । यति लामो समय उनले धैर्यता गुमाएनन् । तर, नेपाली सेलीब्रेटीहरुमा त्यो अहिलेसम्म देखिएको छैन । अधैर्यता धेरै छ । यहाँसम्म कि मलाई रविन्द्र मिश्रका बारेमा पनि त्यही शंका लाग्छ, खानझैं लामो धैर्यता उनमा देखिएला वा एक दुई चुनावपछि झिटीगुन्टा बिसाउने हुन् ।

रविको व्यक्तित्व पनि कुनै न कुनै हिसाबले सेलिब्रेटी व्यक्तित्व नै हो । नेपाली राजनीतिमा सेलीब्रेटीहरुको जुन ट्रेन्ड छ, त्यो उनमा पनि दोहोरिन सक्छ । राजनीतिका अनेक व्यवहारिक जटिलता र आयामबारे उनी जानकार, प्रतिबद्ध र दृढ छन् जस्तो लाग्दैन ।
(कुराकानीमा आधारित)

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage