scheduleआइतवार भाद्र २९ गते, २०७६

एनआरएनए कोरियाको नेतृत्व विषेश कार्यक्रम साझा बहस

एसपी यादव/ दक्षिण कोरिया, १२ भदौ । आउदो सेप्टेम्बर २१ र २२ मा हुन गइरहेको एनआरएनए दक्षिण कोरियाको सातौं महाधिवेशनका सन्दर्भमा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको आयोजनामा नयाँ नेतृत्वका लागि उम्मेदवारहरुसंगको साझा बहस कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

राजधानी सउल स्थित प्रवासी मजदुर युनियनको हलमा आयोजित कार्यक्रममा एनआरएनए दक्षिण कोरियाको आउदो महाधिवेशनमा नयाँ नेतृत्वका लागि विभिन्न पदका उम्मेदवारहरु, संघ संस्थाका प्रतिनिधिहरु र पत्रकारहरु लगायत कोरियामा रहेका आम नेपालीहरूको भव्य उपस्थिति रहेको थियो ।

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष रंजनराज कुंवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनएले अहिले सम्म गरेका राम्रा कार्यहरु तथा गर्न नसकेका कार्यहरु र कोरियामा रहेका आम नेपालीहरुको एनआरएनए प्रतिको आकर्षण, जनगुनासो र उम्मेदवारहरुका भावी योजनाहरुको बारेमा बहस केन्द्रीत रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष किसन गौतमले भने, एनआरएनए दक्षिण कोरियाले बिगतमा नेपाल र नेपाली समुदायका लागि के कस्ता कामहरु गर्यो र कहाँ गएर चुकेको अवस्था छ ? र चुनौतीहरु के के छन् ?

उनले भने, आगामी नेतृत्वमा आउन चाहने उम्मेदवारहरुसंग बिगतका नेतृत्वमा पुरा गर्न नसकेका कामहरु पुरा गर्न के कस्ता योजनाहरु रहेका छन ? भन्ने कुराको कोरियामा रहेका आम नेपालीहरुको चाँसोको विषय भएकोले नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले भावी नेतृत्वका उम्मेदवारहरुलाई सर्वसाधारणहरुसंग बहसमा ल्याएको र यो सार्वजनिक बहस सक्षम नेतृत्व चयनका लागि अमूल्य रहने नेपाल पत्रकार महासंघको बुझाई रहेको बताए ।

कार्यक्रममा वर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङले आफ्नो कार्यकालमा भएका कामहरुबारे जानकारी गराउदै एनआरएनए दक्षिण कोरियालाई नयाँ क्षेत्रहरु थपेर क्षेत्रीय अबधारणामा अघि बढाएको र एनआरएनएको दर्ता प्रक्रिया अघि बढाएको कुरा बताउदै चुनावको बेला मात्र होइन अरु बेलामा पनि सबैले संस्थाको निगरानी राख्नु पर्ने कुरा बताइन ।

उनले भनिन्, एनआरएनएको चुनावको बेला यसो गर्छु उसो गर्छु भनेर उम्मेदवार बन्ने र चुनाव जितेर पनि आउने र एक दुइ वटा बैठकमा आएर त्यसपछि हराउने प्रवृतिले आफूले सोचे जस्तो काम गर्न नसकेको बताइन् । संस्थामा समय दिन सक्ने र जिम्मेवारी बहन गर्न सक्ने व्यक्ति मात्र नेतृत्वमा आउनुस सुझाए । एनआरएनए दक्षिण कोरियालाई भोलिको पुस्ताले गर्व गर्न सक्ने खालको बनाउन सफल र सक्षम नेतृत्व चयनका लागि सदस्यता शुल्कमा नबेचिन समेत उनले आग्रह गरिन् ।

कार्यक्रममा आउदो महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका विपिन गुरुङ, यज्ञराज सुवेदी र बुद्धि गुरुङ, वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार दिपक पुन र जीवन कुमार थापा, उपाध्यक्ष पदका उम्मेदवार यदु लामिछाने, ईश्वर रोकाया, सोम बाइबा तामाङ र संजीव राई , महासचिव पदका उम्मेदवार धर्मराज जोशी र बिमलराज सुवेदी, सचिव पदका उम्मेदवार किशोर कोइराला र अभिषेक सापकोटा, कोषाध्यक्ष पदका उम्मेदवार कुसाङ शेर्पा र राजेन्द्र दुलाल र आइसीसी सदस्यका लागि वर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङ, ओम जुङ्जाली लगायतले आफ्ना भनाईहरु राख्दै आफूलाई बिजयी गराउन आफ्नो दावेदारी प्रस्तुत गरेका थिए ।

पहिलो चरणको औपचारिक कार्यक्रम सकिएपछि दोस्रो चरणमा पत्रकारहरु र सर्वसाधारणसंगको अन्तरक्रिया कार्यक्रममा विषेशगरी अध्यक्ष पदका तीनै जना उम्मेदवार र महासचिव पदका दुई जना उम्मेदवारहरुलाई सोधिएका प्रश्नहरुको वहाँहरुले जवाफ दिएका थिए ।

एनआरएनए दक्षिण कोरियालाई बैधानिक प्रक्रियामा लाने, मजदुर मैत्री बनाउने र सबै नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गर्ने कुरामा तीनै जना अध्यक्ष पदका उम्मेदवारहरुको एउटै भनाई रहेको थियो । संस्था र नेपाली समुदायको लागि आफुले दिएको सामाजिक योगदान र आगामी दिनहरुमा संस्थालाई समय दिन सक्ने र सक्षमताका आधारमा मूल्यांकन गरेर आफूहरू मध्येबाट अध्यक्ष छान्ने छुट सबै एनआरएनए सदस्यहरुमा रहेको भन्दै अध्यक्ष पदका दावेदार विपिन गुरुङ र बुद्दि गुरुङले आफुले नेपालीहरुका समस्याहरुमा गरेको सहयोग र सामाजिक क्षेत्रमा गरेको योगदान नै आफुहरुको चुनाव जित्ने आधार भएको बताएका थिए ।

यसैगरी अध्यक्ष पदका अर्का उम्मेदवार यज्ञराज सुवेदीले लामो समयदेखि एनआरएनए दक्षिण कोरियाका काम कारबाही र गतिविधिहरु नजिकबाट नियाली रहेको र राजधानी सउलमा बसोबास गर्ने मात्र एनआरएनए नभएर कोरियाभरि नै बसोबास गर्ने नेपालीहरु एनआरएनए हुन भन्दै एनआरएनएलाई झोले एनआरएनए होइन संस्थागत एनआरएनए बनाउनका लागि आफू नेतृत्वमा आउन अगाडी बढेको बताए ।

उनले भने, नेपाल हाउसलाई सधैं हात थापेर सहयोगदाताको भरमा चलाउन नसकिने भन्दै यसलाई एनआरएनए दर्ता भइसकेपछि कोरियन समाज कल्याण मन्त्रालय संग समन्वय गरेर समाज कल्याण मन्त्रालयको सहयोगमा कोरियामा नेपाली कला तथा सांस्कृतिक केन्द्रको रुपमा सञ्चालन गर्न सकिने कुरा जानकारी गराए ।

यसैगरी महासचिव पदका उम्मेदवार धर्मराज जोशीले भने, अहिले मजदुरका समस्या समाधानमा कोरियामा रहेका नेपाली र क्षेत्रीय संघ संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै कतिपय अवस्थामा राजदुतावास समेतले दुख पिडामा परेका नेपालीहरूलाई क्षेत्रीय संघ संस्थाहरुको जिम्मा लगाएर पन्छिने गरेको बताए । राजदुतावास, एनआरएनए र नेपाली क्षेत्रीय संघ संस्थाहरु को बीचमा समन्वय गरेर नेपालीहरुका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्न सकिने उनले जनाए ।

यसैगरी महासचिव पदकै दावेदार बिमलराज सुवेदीका अनुसार, बिगतको परिपाटी जस्तो चुनाव जितेर आफू नहराउने जानकारी गराए । केही गर्न भनेर आफू एनआरएनएमा आउन लागेको भन्दै उनले भने, आफू विजयी भएमा आफ्नो पूरा समय संस्था र नेपालीहरुका लागि दिन तयार रहेको बताए ।

कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका संरक्षक डा. देवी बस्नेत, नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका संरक्षक रुद्र शर्मा तथा पूर्व कोषाध्यक्ष गिरिराज कुवर समेतले भनाई राख्दै पत्रकार जगतमा परिवेश बदल्न सक्ने क्षमता भएकोले यस्ता सार्थक बहसहरुले सामाजिक कार्यहरुको सहि विश्लेषण गरी समाजलाई सही दिशामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको वेबसाइट एफएनजे कोरियाको उदघाट्न गरिएको थियो । भने कार्यक्रमको उद्घोषण तथा संचालन नेपाल पत्रकार महासंघका महासचिव मिन विकले गरेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage