scheduleआइतवार भाद्र २९ गते, २०७६

हङकङ प्रदर्शन ८५ औं दिनमाः के होला परिणाम ?

साझापोष्ट राजनीतिक ब्यूरो/काठमाडौं, १५ भदौ । हङकङ भन्ने बित्तिकै हामी नेपालीको मष्तिष्कमा शान्त, सुन्दर, भव्य, अत्याधुनिक ‘पैसा फल्ने’ अन्तर्राष्ट्रिय शहरको चित्र आउँछ । हङकङ पुग्नु अहोभाग्यजस्तो हुन्छ । हङकङबारे अनेक गीत र साहित्य रचिएका छन नेपालीमा । हो, त्यही हङकङ अशान्त छ अचेल । हङकङको राजनीतिबारे नेपालमा त्यतिधेरै चर्चा हुँदैन जति हङकङबारे हुन्छ ।

हङकङमा जुन ९ यता निरन्तर प्रदर्शन भइरहेका छन् । प्रतिदिन करिब २ लाख मानिसले सडकमा जुलुस गरिरहेका छन् । पुलिसले पानीको फोहरा र अश्रुग्याँस प्रयोग गरिरहेको छ । प्रदर्शनकारीले पुलिसमाथि पेट्रोल बम हान्ने गरेका छन् । अगष्ट १२ मा प्रर्दशनकारीले एयरपोर्ट नियन्त्रणमा लिए । अगष्ट ३० मा प्रदर्शनकारी नेताहरुसहित हज्जारौं प्रदर्शनकारी पक्राउ गरिएका छन् । प्रदर्शन विरुद्ध निषेधाज्ञा र कर्फ्युका बाबजुद अगष्ट ३१ को प्रदर्शनमा लाखौं सहभागी भएका छन् । यो रिपोर्ट तयार गर्दा हङकङ प्रदर्शनको ८५ औं दिन भएको छ ।
हङकङ किन यसरी अशान्त छ ? यसको कारण खोज्न इतिहाससम्म जानुपर्ने हुन्छ ।

इतिहासका कुरा
हङकङ पूर्वी–दक्षिण चीनको समुन्द्री किनार क्षेत्र हो । सन् १५१३ मा पोर्चुगल नागरिक जर्ज एलभारेज पुग्दा त्यो २० वटा स-साना गाउँ, २००० तैराकी मछुवारे र कुल ३,५०० जनसंख्या भएको क्षेत्र थियो । एलभारेजले सानो स्टल निर्माण गरी चीन–युरोप व्यापार प्रारम्भ गरेका थिए । प्रकारान्तले हङकङ पूर्वी एसियाको मुटु र चीनको प्रवेशद्वार भन्न थालियो ।

प्रथम अफिम युद्ध (१८३९–१८४२ ) मा बेलायतले हङकङले कब्जा गर्‍यो । चीन–बेलायत नानकिङ सम्झौता मुताबिक त्यहाँ बेलायती शासन शुरुवात भयो । दोस्रो अफिम युद्ध (१८५६–१८६० ) मा वेलायतको शासनअधिकार र क्षेत्र अझ विस्तार भयो । सन् १८९८ मा चीन–वेलायत पेकिङ सम्झौता बमोजिम थप २६२ ससाना टापुसहित ९९ वर्षको लिज सम्झौता भयो ।

सन् १९७८ मा बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर र चिनियाँ सर्वोच्च नेता देङ सियाओ पिङले हङकङ फिर्ताको प्रक्रिया प्रारम्भ गरे । देङ ‘एक देश, दुई राजनीतिक प्रणाली’ लागू गर्न राज भए । सन् १९८४ डिसेम्बर १९ मा संयुक्त घोषणमार्फत् हङकङ चीनलाई फिर्ता हुने प्रष्ट पारियो । सन् १९९० अप्रिल ४ मा चिनियाँ जनसंसदले ‘बेसिक ल अफ हङकङ’ पास गर्‍यो, जो हङकङका लागि संविधान सरह हो । सन् १९९७ जुलाई १ मा हङकङ चीनलाई फिर्ता भयो । बेलायतले कब्जा गरेको मिति सन् १८४१ देखि गणना गर्दा १५६ वर्ष हङकङमा बेलायती शासन चल्यो ।

आजको हङकङ

आज हङकङको जनसंख्या ७५ लाख पुगेको छ । क्षेत्रफल भने ११०४ वर्ग किमी छ । हङकङ संसारकै सर्वाधिक जनघनत्व भएको शहरमध्ये एक हो । प्रतिव्यक्ति आए ६८ हज्जार डलर छ । अमेरिकी डलर र हङकङ डलरको विनिमय दरमा ७ डलरको मात्र भिन्नता छ । हङकङ संसारकै महत्वपूर्ण व्यापारिक केन्द्र मध्ये एक हो । बार्षिक ३ करोड पर्यटक हङकङ जान्छन । मानवीय विकास सुचकांकमा हङकङको स्कोर ०.९३३ छ जो निक्कै उच्च हो । औसत आयु ८३ वर्ष पुगेको छ । महिलाको औसत आयु त ८८ बर्ष छ ।

हङकङमा ९२% हान जातिका चिनियाँ बसोबास गर्दछन् । बाँकी ८% मा फिलिपिनो, इन्डोनेसियन र साउथ एशियनहरु छन् । करिब डेढ शतााब्दि बेलायतले शासन गरेको शहरमा बेलायतीहरु भने करिब २ लाख ५० हज्जार मात्र छन् । धार्मिक हिसाबले भने क्रिश्चियन १२ % पुगेका छन् । चिनियाँ धार्मिक शाखाहरु बुद्धिज्म, कन्फुसियसवाद र ताओवादको अभ्यास २०%ले गर्दछन् ।

हङकङ द्विभाषिक शहर हो । ९२% हङकङबासी चिनियाँ बोल्दछन् भने ५७ % ले अंग्रेजी बोल्न सक्दछन् । चिनियाँ र अंग्रेजी-दुबै भाषालाई सरकारी कामकाजको भाषा बनाइएको छ । तर, हङकङबासीले बोल्ने भाषा मूल चीनियाँ हानहरुले बोल्ने मेन्डरिन हैन । उनीहरु एक प्रकारको प्रादेशिक चिनियाँ भाषा बोल्दछन् जुन मूलतः चीनको गोन्जायो प्रान्तमा बोलिन्छ । एक सर्वेक्षण अनुसार ७२% चिनियाँ मुलका हङकङबासीहरु आफूलाई चिनियाँ ठान्दैनन् । गैर–चिनियाँले त्यस्तो ठान्नु स्वभाविकै हो । यसरी हेर्दा ८०% हङकङबासीहरु ‘ हङकङनर’ नयाँ राष्ट्रियता उदय भइसकेको ठान्दछन् ।

बेसिक ल
‘बेसिक ल अफ हङकङ’ अनुसार यहाँको शासनप्रशासन संचालन हुन्छ । बेसिक लको धारा ३१ मा भनिएको छ- ‘एक देश, दुई प्रणालीको मान्यता अनुरुप हङकङमा समाजवादी प्रणाली लागू गरिने छैन, पूर्ववत पुँजीवादी प्रणाली र जीवनशैली ५० वर्षसम्म कायम रहन दिइने छ ।’
यहाँ समाजवादी प्रणाली भनेको बेइजिङको साम्यवादी शासन हो र ५० वर्ष सन् १९४७ मा पुरा हुन्छ । धारा ४५ ले प्रमुख प्रशासक छनौटको विधि निर्धारण गरेको छ । जसममा ३ वटा बिकल्प छन् । निर्वाचक मण्डलद्धारा निर्वाचन गर्ने वा स्थानीयसंग परामर्श गरी छनौट गर्ने वा चिनियाँ केन्द्रिय सरकारले नियुक्त गर्ने । यही धाराको दोस्रो प्याराग्राफमा भने ‘यी विधिहरुको उद्धेश्य बालिक मताधिकारमा आधारित खुल्ला निर्वाचनसम्म पुग्नु हो ।’

यही कानुनले ७० सदस्य विधायकी सभाको व्यवस्था गर्दछ जसमध्ये ३५ निर्धारित निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित ३० जना व्यापारिक क्षेत्रबाट निर्वाचित र ५ जना मनोचित हुन्छन । प्रकारान्तले ७० सीटकै प्रत्यक्ष निर्वाचन गराइने प्रतिबद्धता छ । हङकङ राजनीतिको विवादको जरो यिनै दुई प्रावधानहरु हुन । प्रदर्शनकारी प्रमुख प्रशासक र ७० सदस्य विधायकी निष्पक्ष र स्वतन्त्र निर्वाचनमार्फत् वालिक मताधिकारबाट छानियोस भन्ने चाहन्छन । वेसिक लमा उल्लेख भए पनि चिनियाँ सरकार र हङकङ प्रशासनले यी धाराहरु अहिलेसम्म अर्थात् हङकङ फिर्तीको २२ बर्ष हुँदासम्म लागू गरेको छैन ।

अम्ब्रेला क्रान्ति
सन् २०१४ को सेक्टेम्बर २६ देखि डिसेम्बर १५ सम्म ठीक यस्तै ठूल्ठूला प्रदर्शन भएका थिए । यसलाई त्यहाँ ‘अम्ब्रेला क्रान्ति’ भन्ने गरिन्छ । यस अबधिमा सरकारले प्रदर्शनकारीलाई थकाउँने रणनीति लिएको थियो । प्रदर्शनकारीले अन्तिम दिनमा भन्ने गरेका थिए–‘सरकारले यो नठानोस कि हामी हार्यौं, हामी थाकेका छौं तर हारेका छैनौं कुनैदिन हामी फेरि सडकमा आउँने छौं ।’

अहिलेको प्रदर्शनलाई कतिपयले ‘अम्ब्रेला क्रान्ति’ कै निरन्तरता मानेका छन् । सन् २०१८ मा विधायकको निर्वाचन भयो । २६ दलहरु प्रतिनिधित्व गर्न सफल भए । प्रो–डेमोक्रेटिक दलहरुको स्थान उल्लेखनीय रह्यो ।

ताइवान काण्ड
अहिलेको प्रदर्शन भने भगोडा तथा अपराधसंग सम्बन्धि व्यक्तिहरुको आदानप्रदान सम्बन्धी कानुनको प्रस्तावित विधेयकबाट शुरुवात भएको हो । चान तोङ काई नामक एक १९ बर्षे युवकले आफ्नी गर्भवती केटी साथीको ताइवानमा हत्या गरे । उनी भागेर हङकङ आए । हङकङ पुलिसले उनलाई पक्राउ गर्यो तर ताइवान र हङकङबीच सुपुर्दगी सन्धी नभएको हुँदा तइवान पठाउन सकेन । तइवानमा गरेको हत्याको अभियोजन हङकङमा हुन नसक्ने हुँदा हत्या गरेको स्वीकार गरेर पनि उनी दंडबाट मुक्त हुने भए ।

यही घटनालाई निहुँ बनाएर हङकङ प्रशासनले विधेयक प्रस्ताव गर्यो तर ताइवानसंग मात्र हैन, चीन मूल भुमीसंग पनि सोही प्रकारको सुपुर्दगी प्रावधान राखियो । यही विन्दूमा हङकङबासी सशंकित भए । यस कानुनको प्रयोग गरी बेइजिङ सरकारको इच्छामा हङकङका लोकतन्त्रवादीलाई दमन गरिने, पक्राउ गरी चिन पठाइने, एक देश दुई प्रणालीको अवधारणा संकुचित हुने तर्क सहित प्रदर्शन भट्कियो ।

कजवे वाई बुक्स
गुई मिन हुई चिनियाँ मूलका स्वीडिस नागरिक हुन । उनी पिएचडी छात्रवृति पाएर स्टकहोम गएका थिए । उत्तैको नागरिकता लिए । तर चिन फर्किएर व्यवसायिक लेखक बने । हङकङमा केही साथीहरुसंग मिलेर एउटा प्रकाशन गृह बनाए– जसको नाम हो, कजवे वाइ बुक्स । यो प्रकाशन गृहले चीनको शासनसत्ताबारे अनेक किताब लेखाउँने र प्रकाशन गर्ने गरेको छ । हङकङ आएका चिनियाँ बीच ती किताब ठूलो परिणाममा बिक्री हुन थाल्यो । बाइजिङ सरकार यसबारे सशंकित थियो ।

यही बीच हल्ला चल्यो– गुईमिन हुईले चिनियाँ राष्ट्रपति सि जिङ पिङका बारेमा ‘ सि र उनका ६ आइमाई’ ( XI and XI’s IV Women) लेख्दैछन् । यो हल्ला चलेको केही महिनापछि उनी बेपत्ता भए । उनलाई चिनियाँ जासुसहरुले थाइलैण्डबाट गोप्यरुपमा पक्राउ गरी सेन्चेनमा बन्दी बनाएको समाचार बहिरियो । तर, बेइजिङ सरकारले यो समाचारको पुष्टि गरेन । बरु कजवे वाईका अंशियार तथा बिक्रेताहरु निरन्तर बेपत्ता हुन थाले । अहिलेसम्म ५ जना बेपत्ता भइसकेका छन् । हङकङबासी लाग्यो कि यही कार्यलाई वैधानिकता दिन क्यारी लेमले सुपुर्दगी विधेयक ल्याएकी हुन् । प्रदर्शन सो विधेयक खारेज हुनु पर्ने माग लिएर भड्कियो ।

क्यारी लेम
हङकङ राजनीतिमा मुख्य ३ प्रकारका सोच पाइन्छन । पहिलो धारलाई प्रो-बेइजिङ चिन्तन भनिन्छ । यसले साम्यवादी दर्शन र बेइजिङको सत्ताप्रति झुकाब राख्दछ । सन् २०४७ पछि मूल भूमि सरह हुनु पर्ने बाध्यता बीच बेइजिङसंग दुश्मनी गरेर हङकङको भविष्य सुनिश्चित नहुने धारणा यो सोचले राख्दछ ।

दोस्रो धारलाई प्रो-डेमोक्र्याट्स भन्ने गरिन्छ । हङकङका अधिकांश दल यस धारका छन् । यसले बेइजिङको सत्ताले एक देश, दुई प्रणालीको धारणा सन् २०४७ पछि पनि कायम राख्नु पर्ने हङकङमा प्रमुख प्रशासक र विधायकसभा दुबैको निर्वाचन वालिक मताधिकारबाट हुनुपर्ने धारणा राख्दछ ।

तेस्रो धारले भने हङकङनर एक भिन्नै राष्ट्रियता भइसकेको हुँदा हङकङ नगर–राज्य कायम हुनु पर्ने सन् २०४७ पछि हङकङ एक स्वतन्त्र राज्य हुनु पर्ने धारणा राख्दछ ।

अहिलेकी मुख्य प्रशासक क्यारी लेम भने पहिलो धारकी हुन । लेम राजनीतिज्ञ नभएर पूर्व कर्मचारी हुन । दोस्रो धारमा विश्वास गर्नेहरु लेमलाई अनुदार शासकका रुपमा हेर्दछन् । प्रदर्शनकारीहरुको एउटा मुख्य माग क्यारी लेमको राजिनमा पनि छ ।

तेनमियान दोहोरिने भय
अहिलेसम्म बेइजिङ शासन र हङकङ प्रशासनले प्रर्दशनकारीलाई सन् २०१४ मा जस्तै थकाउने रणनीति अबलम्बन गरिरहेको छ । अम्ब्रला क्रान्तिमा जस्तै आन्दोलन तुहेर गएमा सि जिङ पिङ र क्यारी लेम दुबैका लागि ठूलो सन्तोषको विषय हुने छ । त्यसो नभए बेइजिङ सरकारले तेनमियान स्क्वायरमा जस्तै ठूलो दमन गर्न सक्ने अडकल काटिदैछ ।

सन् १९८९ मा बेइजिङको तेनमियान स्क्वायरमा प्रदर्शनकारी विद्यार्थीमाथि ठूलो सैनिक दमन गरिएको थियो । करिब १० लाख मानिस मारिएको भनिएको त्यो दमनमा अन्तिम दिनको प्रदर्शनमा एकै दिन १० हज्जार मारिएको ठानिन्छ । तर, हङकङको जुन अन्तर्राष्ट्रिय महत्व छ, तेनमियान दोहोर्‍याउन सहज नहुने विश्लेषण पनि छन् ।

के होला, त्यो त हेर्न बाँकी नै छ । तर चिनियाँ सरकारले सेन्जेनको बोर्डरमा ठूलो संख्यामा सैनिक तैनाथी गरेको समाचार छ । त्यहाँबाट हङकङ मूल शहरको दुरी मुश्किलले ३० किमी मात्र छ ।

के होला परिणाम ?

हङकङ विद्रोह मूलतः पश्चिमा लोकतान्त्रिक मूल्य प्रणाली र जीवनशैलीबाट संस्कारित जनताको ठूलो पंक्ति र चिनियाँ एकदलीय साम्यवादी सरकारको अपेक्षाबीच बढ्दो दुरी र टसल हो भन्ने कुरामा कुनै विमति छैन । तर परिणाम के हुने हो कसैले भन्न सक्ने अबस्था छैन । हङकङ विश्वविद्यालय राजनीतिशास्त्र विभागका एक प्राध्यापकका अनुसार- ‘हङकङको भविष्य अनुमान गर्न निक्कै गाह्रो छ । तर, जे परिणाम आए पनि एउटा सत्य के हो भने हङकङ अब अहिलेकै जस्तो भने रहन सक्दैन ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage