scheduleमगलवार भाद्र ३१ गते, २०७६

कार्ड अनिवार्य गरेपछि मदिरा खाने घटे


बाजुरा, १९ भदौ । बाजुराको गौमुल गाउँपालिकाले थालेको मदिरा व्यवस्थापनको काम प्रभावकारी बनेको छ ।

गाउँपालिकाले मदिरा सेवनका लागि कार्ड अनिवार्य गरेपछि, मदिरा विक्रि वितरण र सेवन गर्नेहरु उल्लेख्य मात्रामा घटेका छन् । गौमुल–६ सटेडाका गोरे मिजारको उमेर ५० वर्ष पुग्यो । उनले जाँड रक्सी खान छोडेको ६ महिना भयो ।

त्यसअघि रक्सी खानकै लागि मिजारले श्रीमतिका गहना देखि जग्गा समेत बेच्नु परेको थियो । गौमुल गाउँपालिकाले मदिरा सेवनका लागि कार्ड अनिवार्य गरेपछि मिजारको बानी मात्रै सुध्रिएन, घर परिवारसँगको सम्बन्ध पनि राम्रो भयो ।

गाउँपालिकाले मदिरा सेवनकर्ताको हकमा अनिवार्य कार्ड बनाउनु पर्ने र खाँदा साथमा बोक्नु पर्ने प्रावधान ल्याएको छ । गाउँपालिकाले यस्तो नीति ल्याएपछि सुरुमा धेरैले मदिरा कार्ड बनाए । तर कार्ड घाँटीमा झुन्डाएर हिड्दा मानिसहरुले जँड्याहा भन्न थालेपछि जाँडरक्सी खान छोड्नेहरु बढेका छन् ।

गौमुल १ का रामबहादुर रोकाया गाउँपालिकाले यो कानुन ल्याएपछि स्वास्थ्य सँगै आर्थिक रुपमा पनि सकारात्मक परिवर्तन आएको बताउँछन् । गौमुल गाउँपालिकाले मदिरा कार्ड विना मदिरा सेवन गर्नेलाई १५ हजार जरिवाना लिने गरेको छ । ५ सय तिरेर कार्ड लिनु पर्ने र प्रत्येक वर्ष नविकरण गर्नु पर्ने प्रावधान पनि राखेको छ ।

गाउँपालिकाको यस्तो नीतिले मदिरा सेवन गर्नेहरु घटेको बताउनुहुन्छ, गौमुल २ का भरत धामी । गाउँपालिकाले मदिरा सेवन गर्नेहरुको सूची राख्न थालेपछि धेरै जसो कर्मचारी र शिक्षकले मदिरा सेवन गर्न छाडेका छन् । पहिलो वर्ष १ हजार ३ सय ५४ जनाले मदिरा सेवन कार्ड बनाएका थिए ।

तर यो वर्ष भदौ १६ गतेसम्म ३ सय ७७ जनाले मात्रै नविकरण गरेका गाउँपालिकाका प्रशासन सहायक गणेश रोकायाले बताए । अघिल्लो वर्ष मदिरा कार्ड लिनेमा शिक्षक र कर्मचारी बढी थिए, यो वर्ष उनीहरु कसैले पनि नविकरण गरेका छैनन् ।

पछिल्लो एक वर्ष यता महिला हिंसा, गाली बेइज्जती र आपसी विवादका घटनामा कमी आएको स्थानीयले बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage